बिहीबार बिहान हङकङको साइ चेङ स्ट्रिटमा पैदल यात्रीलाई ट्रामले ठक्कर दिँदा तीन वर्षीया बालिकाको मृत्यु भएको छ भने परिवारका अन्य दुई जना घाइते भएका छन्।
घाइते हुनेमा अर्की ६ वर्षीया बालिका र ६६ वर्षीया पुरुष हुन्। उनीहरू मृतक बालिकाकी दिदी र हजरबुवा हुन्।
बिहान पौने ११ बजे साइ चेङ स्ट्रिटनेरको सार्वजनिक स्विमिङ पुलबाहिर बाटो काट्ने क्रममा उनीहरूलाई ट्रामले ठक्कर दिएको प्रहरीलाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।
घटनासँग परिचित स्रोतलाई उल्लेख गर्दै समाचारमा जनाइएअनुसार परिवारका तीन जना सदस्य र उनीहरूकी घरेलु सहयोगी ३४ वर्षीया महिला सडक पार गर्दै थिए सोही बेला ट्रामले ठक्कर दिएको हो। महिला घाइते भए/नभएको उल्लेख गरिएको छैन।
ठक्करपछि तीन वर्षीया बालिका र उनका हजुरबुवा ट्राममुनि फसेका थिए। उनीहरूलाई प्रहरीले उद्धार गरेर बाहिर निकालेको थियो।
तीन वर्षीया बालिकालाई बेहोस अवस्थामै उद्धार गरिएको तथा हजुरबुवा र ६ वर्षीया बालिकाको टाउकोमा चोट लागेको प्रहरी प्रवक्तालाई उद्धृत गर्दै साउथ चाइना मर्निङ पोस्टले जनाएको छ।
सहयोगी महिलासहित चारै जनालाई पोकफु लामस्थित क्विन मेरी अस्पताल लगिएको थियो। जहाँ तीन वर्षीया बालिकालाई मृत घोषित गरियो।
Shares
प्रतिक्रिया