हङकङमा संरक्षण विभागका कर्मचारीको मृत्यु : बिरुवाको नमूना संकलन गर्दा हातमा टोकेको थियो किराले

हङकङमा संरक्षण विभागका कर्मचारीको मृत्यु : बिरुवाको नमूना संकलन गर्दा हातमा टोकेको थियो किराले

नेपालखबर
भदौ १३, २०८१ बिहिबार ११:१५, हङकङ

बुधबार ड्युटीमा रहेका बेला किराले टोकेर मृत्यु भएका हङकङको कृषि, मत्स्यपालन तथा संरक्षण विभागका कर्मचारीलाई बिरुवाको नमूना संकलन गर्ने क्रममा हातमा टोकेको बुझिएको छ।

ताइपोस्थित ताइमो सान कन्ट्री पार्कमा ड्युटीमा खटिएका उनी त्यसबेला कुन बिरुवाको नमूना संकलन गरिरहेका थिए भन्ने चाहिँ अझै खुलासा भएको छैन।

‘बिहान अन्य सहकर्मीसँग ताइमो सान कन्ट्री पार्कमा बिरुवाको नमूना संकलन गर्ने क्रममा लामको दाहिने हत्केलामा चोट लागेको थियो,’ विभागले भनेको छ, ‘त्यसको केही समयमै उनी बेहोस भएका थिए।’

विभागका अनुसार लामलाई बिरुवाको नमूना संकलन र प्रजाति पहिचान गर्ने जिम्मेवारी दिइएको थियो।

साउथ चाइना मर्निङ पोस्टले स्रोतलाई उद्धृत गर्दै उल्लेख गरेअनुसार लामले आफ्ना सहकर्मीसँग आफूलाई किराले टोकेको आशंका गरेको बताएका थिए। उनी र उनका दुई सहकर्मीले बुधबार बिहान ८ बजेबाट आफ्नो ड्युटी सुरु गरेका थिए।

‘बिहान ११ बजेतिर उनका सहकर्मीले लामलाई भुइँमा घुँडा टेकेको र छिटोछिटो श्वास फेरेको अवस्थामा भेट्टाएका थिए। त्यसपछि उनीहरूले प्रहरीलाई खबर गरे,’ भित्री स्रोतको हवाला दिँदै पोस्टमा उल्लेख छ, ‘लामले त्यतिबेला हेटस्ट्रोकको लक्षण देखाएका थिए।’

घटना भएको बखत ताइपोको तापमान ३४ डिग्री सेल्सियस रहेको थियो। जतिबेला अब्जर्भेटरीले ‘धेरै तातो मौसम चेतावनी’ जारी गरेको थियो।

आपत्‌कालीन कर्मचारीसहित प्रहरी  घटनास्थलमा पुगेपछि घाइते लामलाई हेलिकप्टरमार्फत चाइवानको पामेला युड नेदरसोल पूर्वी अस्पताल लगिएको थियो। जहाँ उनलाई दिउँसो २ बजे मृत घोषणा गरियो।

घटना के-कसरी घट्यो भन्नेबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ। मृत्युको ठोस कारण पत्ता लगाउन भने शवको पोस्टमार्टम हुने सम्भावना रहेको स्रोतले जनाएको छ।

घटनाको अनुसन्धानका क्रममा प्रहरी (एससीएमपी)

विभागका निर्देशक मिकी लाइ मृतक लाम विभागका लगनशील कर्मचारी रहेको बताए।

उनको मृत्युमा शोक व्यक्त गर्दै उनले भनेका छन्, ‘१३ वर्षभन्दा बढी समयदेखि विभागमा रहेर लामले लगनशीलताका साथ समुदायको सेवा गर्नुभयो। उहाँको काम उत्कृष्ट थियो। सहकर्मीहरूसँग पनि उत्तिकै मिलनसार हुनुहुन्थ्यो। कामप्रति यति समर्पित सहकर्मी गुमाउँदा म र सिंगो विभाग गहिरो शोकमा छ।’

वातावरण तथा पारिस्थितिकी सचिव चेचिन वानले पनि लामको निधनप्रति दुःख व्यक्त गर्दै परिवारलाई आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .