हङकङमा प्रहरीको गोली लागेर मृत्यु भएका मानसिक अशक्तको परिवारले गर्‍यो न्यायको अपिल

श्रीमती भन्छिन्- प्रहरी किन यति निर्दयी भयो?
हङकङमा प्रहरीको गोली लागेर मृत्यु भएका मानसिक अशक्तको परिवारले गर्‍यो न्यायको अपिल

मृतकका परिवारले प्रहरी मुख्यालय बाहिर विरोध प्रदर्शन गरेका छन् (द स्ट्यान्डर्ड)


नेपालखबर
असोज ६, २०८१ आइतबार १८:६, हङकङ

गत आइतबार (१५ सेप्टेम्बर) प्रहरीको गोली लागेर मृत्यु भएका मानसिक अशक्तको परिवारले प्रहरीको कारवाहीप्रति असन्तुष्टि जनाउँदै न्याय माग गरेको छ।

ती व्यक्तिका श्रीमती र भाइले आज दिउँसो (२२ सेप्टेम्बर) वानचाइस्थित प्रहरी मुख्यालय बाहिर विरोध प्रदर्शन गरेका हुन्।

श्रीमान्‌को तस्बिर समातेर आँसु बगाउँदै बोलेकी महिलाले प्रहरीलाई खबर गर्नु नै भुल भएकोमा पश्चाताप गरिन्। उनले अधिकारीहरूलाई यसरी हतियार प्रयोग नगर्न समेत आग्रह गरिन्।

महिलाका अनुसार उनका श्रीमा‌न्‌ले आमालाई आक्रमण गर्नुअघि मुठ्ठी मात्र प्रयोग गरेका थिए र प्रहरी नआइन्जेल हतियार उठाएका थिएनन्।

अधिकारीहरूले उनलाई वशमा पार्नका लागि अन्य उपाय जस्तै, पेपर स्प्रे वा ब्याटन प्रयोग गर्नुपर्ने उनको तर्क थियो। साथै, गोली हानिएपछि तत्काल चिकित्सा सहायता प्रदान नगरिएकोप्रति पनि उनले असन्तुष्टि जनाइन्।

प्रहरीको अत्यधिक बल प्रयोगको आलोचना गर्दै उनले न्यायको माग गरिन्।

‘प्रहरीलाई बोलाएको श्रीमान्‌को हत्याका लागि नभई मद्दतको लागि हो,’ उनले भनिन्, ‘प्रहरी किन यति निर्दयी भयो?’

मृतकका भाइले प्रहरी कार्यालयमा न्यायका लागि उजुरी दिएका छन्।

प्रहरी आयुक्त रेमन्ड सिउलाई उद्धृत गर्दै द स्ट्यान्डर्डमा उल्लेख भएअनुसार प्रहरीले गोली चलाउनुअघि ती व्यक्तिलाई हतियार छोड्न चेतावनी दिएको थियो। गोली चलाउनुअघि प्रहरीले गाइडलाइनको पालना गरेकोमा उनले जोड दिए।

गत आइतबार नर्थ पोइन्टमा आफ्नी श्रीमती र आमालाई आक्रमण गर्ने ३८ वर्षीय मानसिक अशक्तको प्रहरीको गोली लागेर मृत्यु भएको थियो।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .