हङकङमा कोरोना भाईरसको संक्रमण दिन प्रतिदिन बढ्दै गए पछि त्यसको रोकथामका लागि सरकारले भोलिदेखि विदेश भ्रमणबाट फर्कने र हङकङ भ्रमणमा आउने सबैको र्यालको नमुना संकलन गर्ने भएको छ।
स्वास्थ्य सुरक्षा केन्द्रले बुधबार जानकारी गराए अनुसार सरकारले हङकङ आउने सबैलाई २ हप्ते क्वारेन्टाईनको आदेश दिए पछि हङकङ आइपुगेका जो कोहिले एयरपोर्टमा ‘लामो पर्खाई’ गर्नुपर्ने अनुमान गरिएको आरटीएचके रिपोर्टले जनाएको छ।
बुधबार मध्य रातबाट ताइवान र मकाउ बाहेक विश्वको कुनै पनि ठाउँबाट आएका व्यक्तिहरूले कोरोनाभाइरस संक्रमणलाई फैलन नदिन १४ दिनसम्म आफैँ क्वारेन्टाइन बस्नु पर्ने नियम लागू गरिएको छ।
केन्द्रका नियन्त्रक डा. वोङ का हिङले यात्रुहरूलाई हङकङ प्रवेश अगावै अनलाइन मार्फत स्वास्थ्य घोषणा फारामहरू भर्न सल्लाह दिएका छन।
‘तर ठूलो संख्यामा आगमन हुने भएकोले लामो समयसम्म पर्खनु अनिवार्य हुनेछ’ उनले भनेका छन्, ‘कुनै प्रक्रिया यात्रीहरु हङकङ आईपुगे पछि मात्र गर्नु पर्ने हुन्छ।
उनले हङकङ आईपुग्नेहरुलाई क्वारेन्टाइन आदेश हङकङ छिरे पछि मात्र जारी गर्नु पर्ने बताउँदै थपे, ‘हामी प्रक्रियाहरू कसरी सुव्यवस्थित गर्न सकिन्छ बिभिन्न विभागहरूसँग छलफल गरिरहेका छौं।’
भाइरस परीक्षण बिहीबारबाट लागू गरे पछि विदेशबाट हङकङ फर्कनेहरुलाई बिमानास्थल मै भित्री घाटीको र्यालको नमुना संकलन गरिने उनले बताए।
‘त्यसका लागि बोतलहरु उपलब्ध गराइनेछ। उक्त नमूनाहरू कोरोनाभाइरस भए नभएको भनी परीक्षणको लागि प्रयोग गरिनेछ’ उनले भने।
यसैबीच वोंगले क्वारेन्टाइन आदेश लागू हुनुभन्दा अगावै हङकङ छिर्न सफल हुने व्यक्तिलाई कानुनले क्वारेन्टाइनमा बस्न बाध्यकारी नभए पनि घरबाट बाहिर ननिस्कन अपिल गरेका छन्।
विदेशबाट फर्केका व्यक्तिहरू छुट्टै कोठामा बस्न, परिवारका अन्य सदस्यहरूबाट एक मिटर दूरी टाढा रहन, व्यक्तिगत वस्तुहरू साझा नगर्न, समूहमा खाना पिउन र उठबस नगर्न, सार्वजनिक यातायात प्रयोग गर्दा अनिवार्य मास्क प्रयोग गर्नसमेत अपिल गरेका छन्।
हङकङमा बुधबार एकै दिनमा १४ नयाँ कोरोना भाइरस संक्रमण भएको छ भने संक्रमित हुनेहरुको संख्या १८२ पुगेको छ। हालसम्म उक्त संक्रमणबाट ४ मानव र एउटा कुकुरको मृत्यु भैसकेको छ।
प्रतिक्रिया