विश्वब्यापी बन्दै गएको कोभिड- १९ महामारीबाट हङकङमा एकै दिन ४८ जना संक्रमित भएका छन्। शुक्रबारको परिक्षणमा साे संख्यामा संक्रमण फेला परेको हो।
एकै दिनमा नाटकीय ढंगले अत्याधिक संक्रमण भए पछि अधिकारीहरूले हङकङ प्रकोपको उच्च जोखिममा रहेको चेतावनी दिएका आरटीएचकेले बताएको छ।
संक्रमण हुने अधिकांश नयाँ बिरामीहरू मध्ये ३६ जनाले केही समय अगाडि यूरोप तथा एशिया भ्रमण गरेका थिए। अन्य बाँकी संक्रमितहरु कोरोनाभाइरस बिरामीहरूका नजिकको सम्पर्कमा रहेकाहरु थिए।
संक्रमितहरु मध्ये एक ट्याक्सी चालक समेत छन्। उनी हाल हङकङ बाहिर नगएको बताएका छन्। तर उनी दैनिक एयरपोर्टबाट यात्रुहरूलाई शहर ल्याउने काम गर्दा उनलाई भाइरसकाे संक्रमण भएको आशंका गरिएको छ। उनले स्वस्थ्य अधिकारीहरूलाई भने अनुसार उनी सधैँ मास्क लगाउँथे। तर उनका केही यात्रीहरूले भने मास्क नलगाएको बताए।
नयाँ संक्रमितहरु मध्ये आठ विद्यार्थीहरु रहेका छन् जो भर्खरै विदेशबाट फर्केका हुन्। जस मध्ये आधा बेलायतबाट आएका हुन्। संक्रमित मध्ये एउटा नयाँ विदेशी घरेलु कामदार समेत रहेका छन्। जसको राष्ट्रियता खुलाइएको छैन। सम्भवत उनी फिलिपिनि हुन सक्ने अनुमान गरिएको छ।
संक्रमण हुने अन्यमा कराटे टोलीका एक सदस्य रहेका छन्। उनकै टिमका अर्का एक जनालाई केही समय अगाडि भाइरस संक्रमण भएको थियो। यी दुवै जना केही समय अगाडि प्रशिक्षणका लागि फ्रान्स गएर हङकङ फर्केका थिए।
संक्रमित हुने मध्ये एक ४ वर्षीया बालिकासमेत छन्। उनको बुबालाई लन्डन यात्राको क्रममा भाइरस संक्रमण भएको थियो। ति बालिकालाई कुनै लक्षण नदेखिए पनि स्वस्थ्य परीक्षण गर्दा भाइरस संक्रमण भएको पत्ता लागेको हो।
संक्रमित संख्यामा अचानक वृद्धि भए पछि हङकङमा कोभिड - १९ संक्रमित हुनेहरुको कुल सङ्ख्या २५६ पुगेको छ। संक्रमितकाे संख्या बढ्दै गएपछि हङकङका सांसदहरूले कोरोनाभाइरस महामारीलाई फैलन नदिन गैर-हङकङ बासिन्दाहरूलाई हङकङ प्रवेश गर्नबाट प्रतिबन्ध लगाउन माग गरेका छन्। झन्डै ३० हजारको हाराहारीमा हङकङ बसोबास गर्दै आइरहेको नेपाली समुदायमा भने हालसम्म संक्रमित भएको कुनै समाचार छैन।
प्रतिक्रिया