बजारमा अभाव हुने डरले घरमा खाद्यान्न थुपार्ने होड चलेपछि हङकङमा चामल चोरी हुने क्रम बढेको छ।
चामल चोरीको आरोपमा पक्राउ परेका २२ र ३३ वर्षीय युवा नेपाली र बंगलादेशी मूलका रहेको बताइएको छ।
साउथ चाइना मर्निङ पोस्टका अनुसार ती दुई आरोपी गत शुक्रबार साँझ ६ बजे हुङहोमस्थित इयोन सुपरमार्केट बाहिर १२ किलोग्राम बराबरका ६ प्याकेट चामलको मूल्य नतिरी लैजाँदै गर्दा पक्राउ परेका हुन्। शंका लागेपछि सुपरमार्केटकै कर्मचारीहरुले उनीहरुलाई रोकेका थिए। आरोपीहरुलाई प्रहरी बोलाएर पक्राउ गरिएको थियो।
सोही सुपरमार्केटबाट गत मंगलबार साँझ अर्का एक स्थानीय पुरुषले १५ किलोका ३ प्याकेट चामल चोरी गरेका थिए। शंका लागेर सुपरमार्केटका सुरक्षा गार्डले पीछा गरेपछि ती व्यक्ति चामल छाडेर एमटीआर स्टेसनको गेट नाधेर भागेका थिए। रेलका कर्मचारीले रोक्न खोज्दा हातमा सिरिन्ज देखाएर उनी भाग्न सफल भएका थिए।
कोरोना भाइरस महामारीका कारण केही समय अगाडि हङकङमा स्टक राख्ने लहरले हारालुछ हुँदा चामलको अभाव खट्किएको थियो। पछिल्लो समय कोरोना संक्रमितको संख्या निकै बढेपछि रोकथाम गर्न सरकारले रेस्टुरेन्टहरुमा खानपानका लागि जमघट हुँदा तोकिदिएको नयाँ नियमले गर्दा झन् घरमा खाद्यान्न थुपार्ने क्रम बढेको पाइएको छ।
गत बुधबार भियतनामी अधिकारीहरुले हङकङलाई उपलब्ध गराउँदै आएको चामलको आपूर्ति रोक्ने बताएपछि हङकङमा खाद्यान्न अभाव हुन सक्ने त्रास बढेको छ, जसले गर्दा चोरी घटनाहरू देखिन थालेका छन्।
Shares
प्रतिक्रिया