पूर्व घोषणाबमोजिम हङकङ सरकारले आफ्ना स्थायी परिचयपत्रधारी हरेक बासिन्दालाई राहतस्वरूप १०/१० हजार हङकङ डलर आगामी महिनादेखि उपलब्ध गराउने भएको छ।
जुलाईदेखि २१ अग्रणी बैंकमार्फत राहत रकम वितरण गरिने जानकारी हङकङ सरकारले दिएको हो।
त्यसका लागि २१ बैंक र सरकारबीच बुधबार नै सम्झौतामा हस्ताक्षर भइसकेको छ। यी बैंकले भुक्तानी प्राप्त गर्न लक्षित व्यक्तिलाई अनलाइन फाराम उपलब्ध गराउनेछ।
त्यसका लागि योग्य ठहरिएका व्यक्तिले आफ्नो खाता रहेको बैंकको वेबसाइट वा इन्टरनेटमार्फत नाम दर्ता गरी अनुदान रकम प्राप्त गर्न सक्नेछन्।
अनलाइन प्रयोग नगर्नेहरूले कागजी दर्ता फारम बैंकमा पेस गर्न सक्नेछन्। यसपटक उक्त रकम दाबी गर्न हङकङमै रहनुपर्ने बाध्यता छैन। विश्वका जुनसुकै ठाउँबाट अनलानइन फाराम भरेर रकम प्राप्त गर्न सक्नेछन्।
बैंकमा खाता नहुनेहरूले चेकमार्फत रकम प्राप्त गर्न सक्ने व्यवस्था मिलाइएको छ। वित्तीय सचिव पल चान मो-पोले यसका लागि तयारी अन्तिम चरणमा पुगेको र यही जुन महिनाकाे अन्तिम सातादेखि दर्ता सुरु हुने जानकारी दिएका छन्।
लामो समय चलेको सरकारविरोधी आन्दोलन र कोरोना भाइरस महामारीका कारण आर्थिक क्षेत्र कमजोर बनेपछि हङकङ सरकारले गत फेब्रुअरीमा प्रस्तुत बजेटमार्फत १८ वर्ष नाघेका प्रत्येक स्थायी परिचयपत्र वाहकलाई १० हजार हङकङ डलर राहत दिने घोषणा गरेको थियो।
तर आफूहरूलाई भेदभाव गरिएको भन्दै यहाँका अस्थायी बासिन्दाले विरोध गरेपछि उनीहरूलाई समेत सहयोग रकम दिने निर्णयमा हङकङ सरकार पुगेको हो।
कोरोना भाइरसविरुद्ध राहत प्याकेजका रूपमा हङकङ सरकारले अर्बाैं डलर वितरण गरिसकेको छ।
प्रतिक्रिया