७५ प्रतिशत व्यवसाय दिने हङकङका ट्राभल व्यवसायीलाई चार्टर्ड उडानमा निगमले किन पाखा लगायो?

७५ प्रतिशत व्यवसाय दिने हङकङका ट्राभल व्यवसायीलाई चार्टर्ड उडानमा निगमले किन पाखा लगायो?

नेपालखबर
असार १६, २०७७ मंगलबार १२:२६,

लकडाउनका बेला नेपाल वायुसेवा निगमले गरेको नेपाल–हङकङ चार्टर्ड उडानमा हङकङका नेपाली ट्राभल कम्पनीलाई महत्त्व नदिएको व्यवसायीले गुनासो गरेका छन्।

नेपालीले चलाएका कम्पनीबाट अरु बेला ७५ प्रतिशत व्यवसाय पाए पनि संकटका बेला अन्य कम्पनी रोजेको भन्दै निगमको आलोचना भएको हो।

नेपाल वायुसेवा निगमको लागि हङकङ नाफामूलक गन्तव्य हो। हङकङमा करिब ३० हजार नेपाली बसोबास गर्छन्, जसमध्ये हजारौं नेपाली त्यहाँ लामो समयदेखि व्यापार व्यवसाय गर्दै आएका छन्।

नेपाल वायुसेवा निगमको हङकङ–काठमाडौं उडानमा ९० प्रतिशत नेपालीहरु नै आवतजावत गर्छन् भने १० प्रतिशत मात्रै पर्यटक हुन्छन्।

कोभिड १९ को महामारीसँगै अन्तर्राष्ट्रिय उडान बन्द हुँदा ०७६ चैत ११ देखि हङकङका आईडी भएका नेपाली काठमाडौंमै रोकिएका थिए। हङकङ सरकारले त्यहाँका स्थायी बासिन्दाको लागि चार्टर्ड उडान गरेर आउन अनुमति दिएको थियो।

त्यसैअनुसार हङकङका नेपाली ट्राभल एजेन्सीहरुले सुरुमा दुई वाइडबडी उडान गर्ने योजना बनाएका थिए। सुरुमा नेपाल सरकारले कुनै पनि यात्रुवाहक चार्टर्ड उडान अनुमति दिएको थिएन। पछि नेपालमा अलपत्र परेका विदेशी नागरिकलाई चार्टर्ड उडानमार्फत बाहिर जाने अनुमति दियो।

त्यही बेला हङकङमा व्यापार व्यवसाय तथा रोजगारी गर्दै आएका हङकङबासी नेपाली काठमाडौंबाट हङकङ जान खोजिरहेका थिए। त्यसको लागि त्यहाँका नेपाली व्यवसायीले सञ्चालन गर्दै आएका अल्फा, हिमालय, सनराइज, फिस्टेल लगायत आठ वटा ट्राभल एजेन्सीले हङकङको महावाणिज्यदूतसँग पनि पहल गर्न आग्रह गरेका थिए।

नेपालमा रोकिएकालाई फर्काउन हङकङका ट्राभल एजेन्सीले लकडाउन पहिले नियमित उडान गर्दै आएको नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्ससँग भाडाको कोटेसन माग गरे।

‘नेपाल वायुसेवा निगमले उपलब्ध गराएको कोटेसनमा एमओयू गर्न खोज्दा एयरलाइन्सले एमओयू गर्न मानेन’, हङकङको एक ट्राभल एजेन्सीका सीईओले नेपालखबरसँग भने, ‘अप्रिलदेखि उडान गर्न भनेको मे १९ मा मात्रै नेपाल वायुसेवा निगमसँग चार्टर्ड उडान सम्झौता भयो।’

उनको अनुसार सन् १९९० को दशकदेखि नेपाल वायुसेवा निगमलाई ‘बिजनेस’ दिइरहेका हङकङका ट्राभल एजेन्सीको फाइल रोक्ने काम भयो।

हङकङ एनआरएन अध्यक्ष टिका गुरुङले समेत हङकङका नेपाली ट्राभल एजेन्सीभन्दा हार्भेस्ट मुनमार्फत हङकङ उडानको लागि पहल गरिन्। पछि हिमालयले उडान अनुमति नपाएपछि हार्भेष्ट मुनले नेपाल एयरलाइन्समार्फत चार्टर्ड उडान गर्ने तयारी गर्यो।

हङकङको ट्राभल एजेन्सीले जुन १ मा नेपाल वायुसेवा निगमको वाइडबडीमार्फत उडान गर्यो भने हार्भेस्ट मुनले २ न्यारोबडीमार्फत उडान गर्यो। हार्भेस्ट मुनले जुन ४ र ५ मा ४ उडान गर्ने तयारी गरेको थियो तर हङकङले उडान अनुमति नदिँदा ४ र ५ तारिखका उडान रद्द भए। रद्द भएका उडान जुन १४ र जुन २६ हार्भेष्ट मुनले १–१ उडान गरेको छ।

हङकङका ट्राभल व्यवसायीहरुले नेपाल वायुसेवा निगमले आफूहरुलाई निराश बनाएको बताएका छन्।

‘करिब ७५ प्रतिशत व्यापार दिएका हङकङका ट्राभल एजेन्सीलाई भन्दा कमिसनको चक्करमा निगमका कर्मचारीले हार्भेष्ट मुनलाई चार्टर्ड उडान गर्न दिए’, हङकङमा ट्राभल एजेन्सी सञ्चालन गर्दै आएका अर्का एक नेपालीले भने, ‘नेपाल वायुसेवा निगमले लकडाउन खुलेपछि हङकङको व्यापार गर्न हङकङकै ट्राभल व्यवसायी चाहिने ख्याल गरेन।’

उनले निगमको हङकङ–काठमाडौं व्यापारमा यसले असर पर्ने दाबी गरे।

नेपाल एयरलाइन्सको हङकङ उडानमा करिब ७५ प्रतिशत व्यापार हङकङका नेपाली ट्राभल एजेन्सीले धान्दै आएका छन्। १० प्रतिशत हङकङका लोकल ट्राभल एजेन्सीको हिस्सा छ भने १५ प्रतिशत नेपालकै ट्राभल एजेन्सीले नेपाल एयरलाइन्सको व्यापार ओगट्दै आएको अनुमान छ।

 

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .