विवादित क्षेत्र वरपरको हवाई क्षेत्र अर्को सूचना नआएसम्म बन्द रहने बताउँदै हङकङले ताइवानलाई विवादित प्राटस टापुमा पुग्न रोक लगाएको हो।
हङकङले रोक लगाएको विषयलाई ताइवानले पुष्टि गरेको छ। शुक्रबार राति ताइवानको नागरिक उड्ययन प्राधिकरणले हङकङले ताइवानको सैन्य विमानलाई उक्त विवादित क्षेत्रमा जान अनुमति नदिएको बतायो।
प्राटस टापु नजिक चिनियाँ सैन्य गतिविधि बढेपछि ताइवानले पनि त्यहाँ सैन्य गतिविधि बढाउने योजना बनाएको थियो।
यद्यपी हङकङको हवाई क्षेत्र हुँदै त्यहाँ पुग्नुपर्ने भएकाले हङकङले अनुमति नदिएपछि ताइवानका सैन्य विमान त्यहाँ जान नसकेका हुन्।
ताइवानको रक्षामन्त्रालयले प्राटस टापु वरपर चिनियाँ सैन्य गतिविधि बढेको बताएको छ।
हङकङले भने आफूले अर्को सूचना नदिएसम्म सो क्षेत्रमा खतरा भएकाले ताइवानका विमानलाई त्यहाँ जान नदिएको बताएको छ।
हङकङले त्यहाँ किन खतरा छ? चिनियाँ सैन्य गतिविधि भइरहेको छ? भन्ने बारेमा केही खुलाएको छैन।
पछिल्लो समय ताइवान र चीनबीच विवाद बढ्दै गएको छ। हङकङमा चीनले यसैवर्ष राष्ट्रिय सुरक्षा कानुन लागू गरेको छ तर ताइवानले भने चीनको एक देश दुई प्रणालीलाई स्वीकार नगर्ने बताउँदै आएको छ।
प्राटस टापुहरू ताइवानद्वारा नियन्त्रित छन्। यद्यपी मुख्य भूमि चीनले यो आफ्नो भएको दाबी गर्दै आएको छ। एससीएमपी
प्रतिक्रिया