हङकङमा नेपालीहरुको घनाबस्ती भएको जोर्डन क्षेत्रमा शनिबार बिहान ६ बजेबाट गरिएको ४८ घन्टे लकडाउन आइतवार मध्यरातसम्म अन्त्य गरिने भएको छ।
लकडाउनको अवधीमा ३६५० फ्लाटमा बस्ने करिब ७ हजार बासिन्दाहरुको कोरोना परीक्षण गरिएको छ। जसमध्ये १३ जना संक्रमित फेला परेका छन्।
सोही क्रममा ४७० फ्लाटहरुमा भने सम्पर्क हुन नसकेको अधिकारीहरुले बताएका छन्। उक्त फ्लाटहरु खाली हुन सक्ने वा क्वारेन्टिनमा हुन सक्ने वा लुकेर बसेको हुन सक्ने अनुमान गरिएको छ।
उक्त फ्लाटको ढोकाहरुमा विशेष प्रकारले कागजी सूचना टाँसिएको र ढोका खोल्दा उक्त कागज च्यातिने र सोही आधारमा उक्त फ्लाटमा मान्छे भए नभएको पत्ता लाग्ने अधिकारीहरुले बताएका छन्।
कोरोना परीक्षण पश्चात नेगेटिभ हुनेहरुलाई आवातजावत गर्न खुल्ला गर्न थालिएको छ। तर अधिकारीहरुलाई कोरोना रिजल्ट र रिस्ट ब्यान्ड भने देखाउनु पर्नेछ। आइतबार बिहान ६ बजेबाट स्थिती समान्य रुपमा फर्कने छ।
यौमातेई क्षेत्रमा समेत लकडाउन गर्न सकिने
नेपाली लगायत अन्य जातीय अल्पसंख्यकहरुको घनाबस्ती रहेको सिमानामा पर्ने यौमातेईमा समेत लकडाउन गर्न सकिने अनुमान गरिएको छ। उक्त स्थानमा रहेको फलफूल बजार वरिपरि १६ भवनहरुमा संक्रमण पश्चात सो अनुमान गरिएको हो।
यस बिषयमा स्वस्थ्यमन्त्री सोफिया चानले लकडाउन गर्ने नगर्ने केही नभने पनि चाईनिज युनिभर्सिटीका सरकारका सल्लाहकार डेभिड हुइ ले भने लकडाउन गरि कोरोना परीक्षण गर्नुपर्ने सल्लाह दिएका छन्।
कोरोनाका कारण धेरै नेपालीको जागिर चट
लकडाउनका कारण काममा जान नसक्दा उक्त दिनको तलब कट्टा नगरे पनि आउँदो दिनमा लकडाउन प्रभावित क्षेत्रका कामदारहरु फुर्सदिलो हुने हङकङका गायक अन्तिम राईले नेपालखबरलाई बताए।
कोरोना कै कारण आफू बेरोजगारी हुनु परेको तथा लकडाउनको घटनाका कहिलेसम्म फुर्सदिलो भईने हो त्यो कुनै ठेगाना नभएको उनले बताए। उनका धेरै साथीहरुलाई काममा नआउन कम्पनीले सूचना दिएको समेत उनले बताए।
उनी भन्छन ‘मेरो भागमा त पुरै लकडाउन लेखेको रहेछ, नेपालमा आधा वर्ष लकडाउनान बसियो। हङकङ आएर काम मात्र के थालेको, साईटमा सङ्क्रमण भएछ, अनि दुई हप्ता क्वारेन्टिन क्याम्पमा बिताइयो, कोठा आएको फेरि अर्को लकडाउनमा परियो। उता कामको साईट नै बन्द छ, काममा बोलाउँछ भन्ने आशा समेत मर्दै गएको छ।’
पछिल्लो घटनाले जातीय अल्पसंख्यकहरु चपेटामा परेको राई बताउँछन्।
उनी थप्छन्, ‘निर्माण क्षेत्रमा कार्यरत धेरै नेपालीहरुलाई घर बसाएको छ। ‘फुड डेलिभरी’ मा काम गर्नेहरु पनि अस्वीकृत हुन थालेका छन्, सार्वजनिक स्थल, यातायातमा यात्रा गर्दा समेत यहाका स्थानीयहरु हामीसँग हच्किन थालेका छन्।’
Shares
प्रतिक्रिया