चीन सरकारको कानून बनाउने शीर्ष अंग रहेको नेसनल पिपुल्स कँग्रेस एनपीसीले हङकङमा देशभक्त व्यक्तिले मात्र सरकार चलाउने कानुनको योजना सार्वजनिक गरेको हो।
शुक्रबार चीनका प्रधानमन्त्री लि खछ्याङले एनपीसीलाई सम्बोधन गर्दै नयाँ कानुनको विषयमा जानकारी दिँदै विश्वका कोही देशले यस विषयमा हस्तक्षेप गर्न नहुने चेतावनी दिए।
कानुनले चीनको विरोध गर्ने मानिसलाई हङकङको निर्वाचनमा उम्मेदवार बन्न रोक्नेछ।
निर्वाचन प्रणालीलाई नै दख्खल दिने कानुन ल्याउन लागेको भन्दै अमेरिकाले चिनियाँ कदमको आलोचना गरेको छ।
अमेरिकी राज्य विभागले भनेको छ,‘बेइजिङको नयाँ योजना हङकङको लोकतान्त्रिक निर्वाचन प्रणालीमाथिको प्रहार हो।’
विभागले चीनले मानवअधिकारको हनन् गरेको विषयसँगै हङकङको विषयमा अमेरिकाले कदम चाल्ने चेतावनी दिएको छ।
गतवर्ष चीनले हङकङको लागि राष्ट्रिय सुरक्षा कानुन लागू गरेको थियो। सो कानुनअनुसार हङकङमा चिनियाँ झण्डा, चिनियाँ राष्ट्रिय गान तथा चिनियाँ सरकारको आलोचना गर्न पाइँदैन।
साथै हङकङलाई चीनबाट अलग्याइने विषय उठाइए त्यस्ता मानिसलाई अपराधी करार गरेर कारवाही प्रक्रिया अगाडि बढाइनेछ।
अमेरिकाले त्यसबेला पनि विरोध जनाएको थियो। यतिबेला पनि हङकङको स्वतन्त्रतामाथि चीनले धाबा बोलेको भन्दै विरोध जनाएको छ।
बेलायतसँग गरिएको एक देश दुई प्रणालीको सम्झौताको विरुद्धमा पनि यस कार्य भएको बताइएको छ। युरोपेली संघले शुक्रबार नै चीनको यस कार्यमा कडा प्रतिक्रिया जनाउने चेतावनी दिइसकेको छ। एससीएमपी
Shares
प्रतिक्रिया