हङकङको दक्षिणपूर्वी चुङ क्वान ओ शहरको पैदलयात्री टनेलमा एक संदिग्ध व्यक्तिले पैदल यात्रुहरु माथि अन्धाधुन्ध चक्कु प्रहार गरेका थिए।
घाइतहरुको अवस्था गम्भीर रहेको एससीएमपीले जनाएको छ। आक्रमणमा संलग्न रहेको आरोपमा एक अधबैंसे पुरुषलाई हङकङ र सेनजेन सिमानाको लो वु रेल स्टेसनका प्रहरीले केही समयको खोजीपछि पक्राउ गरेको छ। उनीमाथि अनुसन्धान भइरहेको छ।
किङ लाम स्टेट आवासीय क्षेत्र नजिकैको पैदलयात्री टनेलमा मङ्गलबार बिहान १ बजेर ३५ मिनेटमा आक्रमणकारीले २४ देखि ३५ बर्षका दुई महिला र एक पुरुषलाई चक्कु प्रहार गरेको हङकङ प्रहरीले जनाएका छन्।
घाइते हुनेहरुमध्ये एक २६ बर्षीया महिला हङकङ ईकोनोमिक जर्नलका रिपोर्टर पनि थिइन। आक्रमणबाट उननको देब्रे कुम, हात र ढाडमा चोट लागेको उनको अवस्था गम्भीर रहेको छ।
यस्तै अर्की महिलाको टाउकोमा चोट लागेको छ भने एक २४ बर्षीय युबकको टाउको र देब्रे पाखुरामा चोट लागेको छ। दुवैको अवस्था गम्भीर छ। उनीहरुको कुईन एलिजावेथ र चुङ क्वान ओ अस्पतालमा उपचार भइरहेको साउथ चाईना मर्निङ पोष्टले बताएको छ।
प्रत्यक्षदर्शीका अनुसार आक्रमणकारीले २० मिनट अगाडिबाट संदिग्ध हर्कत गरिरहेका थिए। आक्रमण भएको उक्त टनेलमा हङकङका आन्दोलनकारीहरुले सरकार र प्रहरीविरुद्ध आफ्नो असन्तुष्टि पोख्न व्यंग्यात्मक आलेखहरु लेखेर टाँसेका थिए। त्यस्ता आलेखहरुलाई लेनन बाल भन्ने गरिन्छ।
आक्रमणकारी मदिराले मात्तिएको अनुमान गरिएको छ। प्रत्यक्षदर्शीका अनुसार टनेलको छेउमै पिएर बसेको ती व्यक्तिले मानिसहरुलाई आन्दोलन सम्बन्धी सोधेका थिए।
त्यहाँ रहेका मानिसले हङकङमा जारी आन्दोलनको पक्षमा बोलेपछि ती व्यक्तिले ‘यस्तो सहन सकिन्न’ भन्दै धारिलो हतियारले आक्रमण गरेको बताइएको छ।
आक्रमण पश्चात आक्रमणकारी नजिकैको कार मिङ हाउसको लिफ्टबाट २१ तल्लामा पुगेर कपडा बदलेर निस्केको बताइएको छ।
प्रहरीले घटनास्थलबाट धारिलो हतियार बरामद गरेको छ। हङकङकी कार्यकारी प्रमुख क्यारी लामले घटनाको भत्र्सना गर्दै कानुनअनुसार अपराधीलाई सजाय दिईने बताएकी छिन्।
‘लेनन बाल’ को बिषयलाई लिएर यो भन्दा अगाडी पनि थुप्रै झपड भैसकेको छ।
प्रतिक्रिया