हङकङ स्वतन्त्र हुनुपर्छ भन्ने पक्षधरकी डेमोसिस्टो पार्टीकी नेत्री तथा सामाजिक अभियन्ता एग्नेस चाउमाथि लागेको निर्वाचनको प्रतिबन्ध त्यहाँको अदातले हटाएको छ।
सोमबार उच्च अदालतले चाउले निर्वाचनमा उठ्न नपाउने भनेर निर्वाचन आयोगले सन् २०१८ मा गरेको निर्णय खारेज गरेको हो। यससँगै अब चाउले निर्वाचनमा उमेदवारी दिन पाउने भएकी छन्।
गतवर्षको मार्चमा भएको निर्वाचनमा चाउले उमेदवारी दिएकी थिइन्। निर्वाचन अधिकृत एनी टेङ यु–यानले त्यसबेला चाउको उमेदवारी खारेज गरेका थिए।
चाउ आवद्ध डेमोसिस्टो पार्टीले ‘लोकतान्त्रिक आत्मनिर्णय’को विचारधारा पछ्याएको त्यसले एकदेश दुई प्रणालीको सिद्धान्तलाई तोडेको निर्वाचन अधिकृतले बताएका थिए।
चाउले पनि एक देश दुई प्रणालीको सिद्धान्तलाई उल्लंघन गरेर विभिन्न अभियान चलाएको आरोप लगाइएको थियो। सोही कारण उनलाई निर्वाचनमा उठ्न नपाउने भनेर प्रतिबन्ध लगाइएको थियो।
सोमबार उच्च अदालतले चाउलाई प्रतिबन्ध लगाउन अगाडि उनलाई उनका धारणा राख्न नदिएको भन्दै निर्वाचन अधिकृतको निर्णयमाथि प्रश्न गरेको छ।
चाउलाई उनका विचार राख्न नदिई प्रतिबन्ध गरेको, त्यो अवैधानकि भएको बताउँदै अदालते सोमबार चाउमाथि लागेको प्रतिबन्ध हटाएको हो।
यद्यपी त्यस चुनावमा डेमोसिस्टो पार्टीले समर्थन गरेका उमेदवार एउ नोक–हिनले चुनाव जितेका थिए।
चाउले भने यसवर्षको मे महिनामा आफूलाई किन निर्वाचनमा उठ्न दिइएन, आफ्नो योग्यता कहाँ नपुगेकोभन्दै अदालतमा मुद्धा दर्ता गरेकी थिइन्। एससीएमपी
प्रतिक्रिया