हङकङकी नेतृ तथा प्रमुख कार्यकारी क्यारी लामले आफूले राजीनामा दिने कुरा कहिल्यै नगरेको बताएकी छिन्।
सहरमा आफ्नो कारण विरोध प्रदर्शन सुरु भएको र आफूले गोप्य बैठकमा समेत राजीनामा दिने बताएको एउटा अडियो रेकर्डिङ सार्वजनिक भएको एक दिनपछि लामले उक्त कुराको खण्डन गरेकी हुन्। बेइजिङले समेत उनलाई राजीनामा दिन भनेको भन्ने हल्लाको समेत उनले खण्डन गरेको साउथ चाइना मर्निङ पोष्टले समाचारमा जनाएको छ।
हङकङमा जुनयता प्रस्तावित सुपुर्दगी विधेयकलाई लिएर विशाल प्रदर्शनहरु भइरहेको छ। प्रदर्शनकारीले लगातार १३औँ सातासम्म प्रदर्शन गरिसकेका छन् भने यसक्रममा प्रहरीले १ हजार १ सय १७ प्रदर्शनकारीलाई पक्रिसकेको छ।
आफ्नो साताव्यापी एक्जिक्युटिभ काउन्सिल मिटिङमा लामलाई बेइजिङले राजीनामा नगर्न भनेको हो भन्ने प्रश्नमा उनले त्यसको खण्डन गरेकी हुन्।
‘राजीनामाको बारेमा मैले धेरै पटक भनिसकेकै हुँ, अहिले पनि के भन्छु भने म आफ्नो निर्णयबाट विचलित छैन। राजीनामाबारे कहिल्यै केन्द्रीय जनसरकारलाई केही भनेको छैन’, पत्रकारले सोधेको प्रश्नको जवाफमा उनले भनेकी छिन्, ‘राजीनामा नगर्नु मेरो आफ्नै निर्णय हो।’
चुहावट भएको अडियो रेकर्डिङबारेको प्रश्नमा उनले राजीनामा दिनु सजिलो विकल्प भएको बारे बताएको स्वीकारिन्। ‘तर विगत तीन महिनायता मैले आफैँलाई र सहकर्मी साथीलाई आफू र आफ्नो टिम पदमा रहेरै हङकङलाई मद्दत गर्नुपर्छ’, उनले भनिन्, ‘यस्तो कठिन परिस्थितिमा हङकङलाई मद्दत गर्नु र हङकङका जनताको सेवा गर्नु आवश्यक छ।’
तर आफूले सजिलो बाटो अवलम्बन गर्नेबारे नसोचेको उनको भनाइ छ। आपराधिक गतिविधिमा लागेका शंकास्पद व्यक्तिलाई समेत चीन सरकारले कारबाही गर्नसक्ने गरी सुपुर्दगी गर्न सकिने विधेयक संसदमा पेस गरेपछि हङकङमा विरोध चुलिँदै आएको छ। हाललाई उक्त विधेयक फिर्ता गरिए पनि प्रदर्शनकारीले भने त्यसको खारेजीको माग गर्दै आएका छन्।
Shares
प्रतिक्रिया