हङकङकी कार्यकारी प्रमुख क्यारी लामले सुपुर्दगी विधेयकलाई उचित तरिकाले व्यवस्थापन गर्न नसक्दा जनता सडकमा निस्केको बताएकी छन्।
मंगलबार पत्रकार सम्मेलनमार्फत उनले यो विधेयकको कारण समाज विभाजित भएर नागरिकले सास्ती पाएको भन्दै सार्वजनिक रुपमै फेरि माफी मागेकी छन्।
सुपुर्दगी विधेयक लेजिसलेटिभ काउन्सिलबाट पारित गर्न अगाडि बढाउने क्रममा त्यसविरुद्ध आन्दोलनमा उत्रेका विपक्षीहरूले आझै पनि आफ्ना मागको सम्बोधन नभएको बताएका छन्। विपक्षीले कार्यकारी प्रमुख लामले विधेयक खारेज गर्दै राजिनामा घोषणा गर्ने अपेक्षा राखेको बताएका थिए।
सरकार समर्थकहरूले भने एउटा नीति असफल हुँदैमा कार्यकारी प्रमुखले राजिनामा दिनु नपर्ने तर्क गरेका छन्।
मंगलबार लामले अवस्था सामान्य नभएसम्म सुपुर्दगी विधेयक छलफलमा नल्याउने बताउँदै राजिनामा नदिने मनसाय प्रकट गरेकी छन्।
हङकङको आरटीएचके रेडियोले लामले माफी मागेपछि पनि विपक्षीहरू असन्तुष्ट नै रहेको र नयाँ आन्दोलनको तयारीमा रहेको जनाएको छ।
विपक्षी समूहकी बोनी लेउङले सुपुर्दगी विधेयक खारेज नभएकाले हङकङका जनता आझै असन्तुष्ट रहेको बताइन। गत बुधबार प्रहरी र आन्दोलनकारीबीच झडप हुँदा प्रहरीबाट अत्याधिक बल प्रयोग भएको र त्यसको विवरण सार्जजनिक नगरिएको विपक्षीले बताएका छन्।
सुपुर्दगी विधेयकको विरोध गर्दै बुधबार हङकङमा करिब २० लाख नागरिक सडकमा उत्रेका थिए। हङकङ बेलायतको उपनिवेशबाट मुक्त भएर चीन अन्तर्गत आएपछिको यो नै सबैभन्दा ठूलो प्रदर्शन मानिएको छ।
सन् १९९७ मा हङकङलाई आफ्नो विशेष प्रशासनिक क्षेत्र मान्दै चीनले ‘एक देश दुई राजनीतिक प्रणाली’ स्वीकार गरेको थियो।
प्रतिक्रिया