पछिल्लो ईआईयू बिजनेस इन्भायरोन्मेन्ट इन्डेक्सअनुसार विश्वका लगानीयोग्य ठाउँको सूचीमा हङकङ नवौँ स्थानमा परेको छ।
बिहीबार घोषणा गरिएको सूचकांकमा लगानीयोग्य ठाउँको पहिलो नम्बरमा सिंगापुर परेको छ।
यसपछि डेनमार्क र अमेरिका आगामी पाँच वर्षका लागि उत्कृष्ट व्यावसायिक वातावरण भएका भौगोलिक क्षेत्रको दोस्रो र तेस्रो नम्बरमा परेका छन्।
यसैगरी उत्कृष्ट दशमा जर्मनी चौथो, स्विट्जरल्यान्ड पाँचौँ, क्यानडा छैटौँ, स्वीडेन सातौँ, न्युजिल्यान्ड आठौँ र फिनल्यान्ड दशौँ स्थानमा परेका छन्।
प्रतिवेदनमा उल्लेख गरिएअनुसार यी स्थान उन्नत अर्थतन्त्र र सूचकांकमा लामो समयदेखि बलियो प्रदर्शनकर्ता हुन्, त्यसैले यी ठाउँ लगानीका लागि सुरक्षित छन्।
प्रतिवेदनले ग्रिस, अर्जेन्टिना र भारतलाई व्यापारिक वातावरणका लागि द्रूत गतिमा सुधार हुँदै गएका देशको सूचीमा राखेको छ। यसमध्ये पनि ग्रिसले व्यापार वातावरणमा ठूलो सुधार गरेको प्रतिवेदनमा उल्लेख छ।
भारतको हकमा, युवा जनसांख्यिकीय प्रोफाइल बलियो भएको र राम्रो श्रम उपलब्धता भएको प्रतिवेदनले देखाएको छ।
अर्जेन्टिनाले विशेषतः निजी उद्यम र प्रतिस्पर्धालाई बढावा दिनुका साथै विदेशी लगानी आकर्षित गर्ने नीतिले तीव्र सुधारको प्रतिबिम्बित गरेको रिपोर्टमा उल्लेख छ। द स्ट्यान्डर्ड
Shares
प्रतिक्रिया