हङकङमा गत महिना मात्र भएको यूटीएमबी ट्रान्स लान्ताउ दौडमा विजयी बनेको खबर सेलाउन नपाउँदै नेपालकी छोरी सुनमाया बुढाले अर्को दौडमा पनि बाजी मारेकी छन्।
एसियन स्काई रनिङ च्याम्पियन्सिप प्रतियोगिताअन्तर्गत शनिबार हङकङस्थित लान्ताउ टापुमा भएको २७ किलोमिटरतर्फको प्रतियोगितामा बुढाले निर्धारित दूरी २ घन्टा ४० मिनेट ४४ सेकेन्डमा पूरा गर्दै स्वर्ण पदक जितेकी हुन्। सुनमायाले सन् २०१६ मा सोही प्रतियोगिताअन्तर्गत ५० किमितर्फको दाैड पनि जितेकी थिइन्।
शनिबारको दाैडमा नेपालकै अर्जुन राई कुलुङले तेस्रो स्थान हासिल गरेका छन्।
यस्तै अर्को प्रतियोगिता गोल्डेन हङकङ १०० अन्तर्गत १०० किमिको दौडमा हङकङ निवासी नेपाली यामनाथ लिम्बू (नुगो याम) चौथा भएका छन्। नुगोले यसभन्दा अगाडि पनि धेरै प्रतियोगिता जितिसकेका छन्।
सुनमाया आगामी डिसेम्बर ८ मा हङकङमै हुन लागेको नर्थसेस १०० मा भाग लिँदै छिन्।
आजको जितलाई सुनमायाले ट्युन अपका रुपमा लिएकी छन्।
उनी नर्थफेस एडभान्चर्स टिमका पूर्णकालीन खेलाडी हुन्।
Shares
प्रतिक्रिया