हङकङमा सम्पन्न गोरखा ट्रेलब्लेजर दौड प्रतियोगितामा नेपाली धावकहरूको वर्चस्व देखिएको छ।
१२ र ३० किलोमिटर विधामा आइतबार बिहान हङकङको न्युटेरिटोरिजस्थित लाउ सुइ हेउङ कन्ट्री ट्रेलमा आयोजित दौडमा नेपाली धावकहरूको दबदबा रहेको हो।
दौडको प्रमुख विधा ३० किलोमिटरतर्फ ३ घन्टा ५४ मिनेट ३० सेकेन्डमा निर्धारित दूरी पार गरी हङकङका स्थानीय नेपाली धावक यामनाथ लिम्बु (नुगोयाम) प्रथम भए।
सो दूरी ४ घन्टा २ मिनेट २५ सेकेन्डमा पार गरी क्यानेडियन धावक जिफ्रे क्याम्बेल दोस्रा भए भने बेलायतका टमी योङले रिचर्ड कोले ४ घन्टा ११ मिनेट ४ सेकेन्डमा पूरा गरी तेस्रा भए।
यसैगरी ३० किमि महिलातर्फ नेपालकी रशिला तामाङले ५ घन्टा २० मिनेट ९ सेकेन्डमा पार गरी प्रथम भएकी छन्। रशिला १० किलोमिटर बाटो बिराएर पनि पहिलो हुन सफल भएकी हुन्। उनले निर्धारित दूरी पार गर्दा दूरीमापक यन्त्रले ४०किलोमिटर पार गरेको देखाएको थियो।
सोही दूरीको दौडमा हङकङकी स्थानीय नेपाली दिलू लिम्बु दोस्रा भइन् भने फिलिपिन्सकी औरोरा क्याबानिया तेस्रा भइन्।
१२ किलोमिटरतर्फको दौडमा हङकङकै स्थानीय नेपाली धावक ईश्वर गुरुङले प्रथम भएका छन्। यसमा जर्मनीका फिलिप रामब्याचर दोस्रा तथा अस्ट्रेलियाका म्याट क्रुक्स तेस्रा भए।
१२ किमि महिलातर्फ फिलिपिन्सकी भेनस रामोस प्रथम, बेलायतका जेन अट्किन डे दोस्रा तथा जोभिलिन बोडेगोन तेस्रा भएका छन्।
पाँचौँ संस्करणको उक्त प्रतियोगितामा १७ देशका २०० प्रतियोगी सहभागी भएका थिए। तीमध्ये ७२ जना नेपाली थिए।
तीन हप्ताको छोटो समयमा समेत प्रतियोगितामा उल्लेख्य सहभागिताले आयोजक संस्थाका प्रवक्ता देवराज राई दंग देखिन्थे।
प्रतियोगिताका थप तस्बिर-
Shares
प्रतिक्रिया