हरित जलवायु कोष (जीसीएफ) ले चुरे क्षेत्रको विनास रोक्ने र प्रभावित स्थानीयको जीवनस्थतर उकास्ने कार्यक्रम सञ्चालन गर्न नेपालले पेस गरेको साढे चार अर्ब रुपैयाँको प्रस्ताव स्वीकृत गरेको छ।
यसमा सरकारले ९१ करोड २० लाख थप गरी कार्यक्रम अघि बढाउने खबर आजको कान्तिपुर दैनिकमा अब्दुल्लाह मियाँले लेखेका छन्।
राष्ट्रसंघीय खाद्य तथा कृषि संगठन (एफओए) ले गत वर्ष सरकारमार्फत बुझाएको उक्त प्रस्ताव दक्षिण कोरियामा जारी जीसीएफको २४ औँ सञ्चालक समितिको बैठकले बुधबार स्वीकृत गरेको हो।
समितिमा विकसित १२ र विकासशील १२ देशका प्रतिनिधि छन्।
जीसीएफमा बढी हरितगृह ग्यास उत्सर्जन गर्ने देशले दिएको करिब १ खर्ब १७ अर्ब ४२ करोड रुपैयाँ जम्मा भएको छ।
४७ भन्दा बढी देशले सहयोग रकम जम्मा गरेका छन्। जीसीएफले रकम दाबी गर्न प्रस्ताव आह्वान गर्छ।
प्रतिक्रिया