ad ad

छापा खबर


नेपालीको औसत आयु : विश्व स्वास्थ्य संगठनको तथ्य एकातिर, प्रधानमन्त्रीको तर्क अर्कैतिर

नेपालीको औसत आयु : विश्व स्वास्थ्य संगठनको तथ्य एकातिर, प्रधानमन्त्रीको तर्क अर्कैतिर

नेपालखबर
असार ५, २०७७ शुक्रबार २३:४९,

प्रधानमन्त्री केपी ओलीले नेपालीको रोग प्रतिरोधी क्षमता उदाहरणीय भएको दाबी पटकपटक दोहो¥याएका छन् । तर, गरिबी, अभाव, अशिक्षा, बेरोजगारी, कुपोषणले नेपाली जनताको स्वास्थ्य अवस्था दयनीय भएको विश्वस्तरीय अध्ययनहरूले देखाएका छन्।

नेपालको यो अवस्थामा सुधार गर्ने योजना ल्याउनुको सट्टा नेताहरूले जनतालाई भ्रमित बनाउँदै आएका खबर आजको नयाँ पत्रिका दैनिकमा जनार्दन बरालले लेखेका छन्।

२८ जेठमा भएको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री ओलीले नेपालीको रोग प्रतिरोधात्मक क्षमता बलियो भएको दाबी गरेपछि पूर्वस्वास्थ्यमन्त्री गगन थापाले यो कुन विज्ञले भनेको हो भनेर प्रतिप्रश्न गरेका थिए ।

जवाफ दिन रोस्ट्रममा पुगेका प्रधानमन्त्री ओलीको भनाइ थियो, ‘नेपालीको रोग प्रतिरोधी क्षमता राम्रो छ भनेर कसले भन्यो भनेर एकजना माननीयले सोध्नुभयो, त्यो मैले भर्खरै भनेँ, सुन्नुभएन?’

प्रधानमन्त्रीको यो जवाफपछि कतिपय सांसदले टेबुल ठोेकेका थिए । तर, नेपाली जनताले गरिबी र कुपोषणको कुन अवस्था सामना गरिरहेका छन्, स्वास्थ्यसेवामा उनीहरूको पहुँच के छ, पाँच वर्षमुनिका बालबालिका र आमाहरूको मृत्युदरमा नेपालको अवस्था के छ भन्ने विषयमा देशको प्रधानमन्त्रीले नै अध्ययन गरेको देखिएन, जनप्रतिनिधि सांसदले त टेबुल ठोकेर रमाउने प्रवृत्ति नै विकास भएको छ।

प्रधानमन्त्रीको भनाइ थियो, ‘डाक्टर, वैज्ञानिक वा शोधकर्ताबाट यो कुरा होइन भनेर चुनौती आयो भने मैले स्विकारुँला । आधा नेपाली पहाडी र हिमाली क्षेत्रमा बसेका छन्, स्वच्छ हावापानीमा बसेका छन्, स्टामिना बलियो छ । मरुभूमिबाट आएको तातो हावा पनि हिमालमा ठोक्किएपछि चिसो हुन्छ र त्यस्तो चिसो हावा पाएपछि नेपालीको प्रतिरोधी क्षमता बलियो हुन्छ ।’

रोग प्रतिरोधी क्षमता कति बलियो छ भनेर मापन गर्ने प्रमुख आधार औसत आयु हो । विश्व स्वास्थ्य संगठनका अनुसार औसत आयुको हिसाबमा नेपाल विश्वमा १२४औँ स्थानमा छ । नेपालको औसत आयु ७०.५ वर्ष छ । जब कि हङकङको औसत आयु ८४.८ वर्ष, जापानको ८४.२ वर्ष, अमेरिकाको औसत आयु ७८.५ र चीनको ७६.४ वर्ष छ।

सबैभन्दा कम औसत आयु भएको देश मध्य अफ्रिकी गणतन्त्र हो जसमा औसत आयु ५२.८ वर्ष छ । त्यस्तै अफ्रिकी देश लेसेथोको औसत आयु ५३.७ छ।

गरिबीको चपेटामा परेका अफ्रिकी देशहरूको तुलनामा नेपालको औसत आयु केही राम्रो भए पनि औसत आयुको तुलनामा नेपाल १२४औँ स्थानमा हुनुले यहाँका जनताको स्वास्थ्य अवस्था निक्कै प्रतिकूल छ भन्ने देखिन्छ।

नेपालभित्रको औसत आयुमा पनि हिमालको मुनि बस्ने नेपालीको आयु थोरै छ । सर्वोच्च शिखर सगरमाथा रहेको सोलुखुम्बुको ६८.८, मुस्ताङको ६५.०४, जुम्लाको ६३.१ छ । त्यस्तै हिमालको हावामा यार्चागुम्बा उम्रने डोल्पाका जनताको औसत आयु ६१.२ वर्ष छ।

त्यस्तै विश्वमा बढी कुपोषण हुने मुलुकमध्ये नेपाल ६८औँ स्थानमा छ । स्वस्थ खानेकुरा नपाएर पर्याप्त मानसिक र शारीरिक अवस्था विकास नहुने अवस्थालाई कुपोषण भनिन्छ । कुपोषणमा मध्य अफ्रिकी गणतन्त्र १ नम्बरमा र जिम्बाबे दोस्रो नम्बरमा छ । भारत ४२औँ नम्बरमा र नेपाल ६८औँ नम्बरमा छ ।

भोकमरी हुने विश्वका एक सय १७ देशमध्ये नेपाल ७३औँ स्थानमा छ । यो सूचीमा उरुग्वे पहिलो नम्बरमा छ भने भारत १०२औँ स्थानमा छ । त्यस्तै, अफगानिस्तान १०८औँँ, चाँद ११५औँ र यमन ११६औँ स्थानमा छन् ।

प्रधानमन्त्रीले हाछ्युँ गरेर कोरोनालाई भगाउनुपर्छ भन्ने अभिव्यक्ति दिए । कोरोना फोक्सोसम्बन्धी रोग हो । फोक्सोसम्बन्धी रोग लागेर मृत्यु हुने देशमध्ये नेपाल विश्वमै तेस्रो नम्बरमा पर्छ । पहिलो नम्बरमा उत्तर कोरिया, दोस्रोमा भारत र तेस्रोमा नेपाल छ ।

फोक्सोसम्बन्धी रोगबाट नेपालमा बर्सेनि करिब १४ हजार मानिसको मृत्यु हुन्छ । यसमा इन्फ्लुएन्जा र निमोनियाबाट हुने मृत्युलाई समेत जोड्दा त्यो संख्या २३ हजार पाँच सय ६५ हुन्छ । फोक्सोको रोग र निमोनियासमेतले प्रतिलाख नेपालीमा एक सय २४ जनाको ज्यान जाने गरेको विश्व स्वास्थ्य संगठनको तथ्यांकले देखाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .