रौतहटको ईशनाथ नगरपालिका– ५ लक्ष्मीनियाँकी २३ वर्षीया रेखादेवी ठाकुरको वर्षदिनअघि गाउँकै सञ्जय ठाकुरसँग विवाह भयो । सञ्जयको परिवारले ११ लाख नगद दाइजो पनि लिए ।
तर, दाइजो रकम सञ्जयका बुबा नागेन्द्र आफैँले राखे । सञ्जयले बुबासँग उक्त रकम माग्ने आँट गरेनन्, बरु पत्नी रेखादेवीलाई माइतबाट थप रकम ल्याउन भन्दै यातना दिन सुरु गरे । यातनाको शृृंखला बढ्दै गएपछि रेखादेवी ज्यान जोगाउँदै माइत गइन् । केही समयपछि सञ्जयले आगामी दिनमा यातना नदिने प्रतिबद्धता गरेर पत्नीलाई घर ल्याए ।
तर, रेखादेवीमाथिको यातना रोकिएन, झन् बढ्यो । यही क्रममा आठ महिनाकी गर्भवती रेखादेवी १८ वैशाखमा घरमै मृत फेला परिन् । मृतकका भिनाजु रोशन ठाकुरका अनुसार रेखादेवीको घाँटीमा नीलडाम थियो, अनुहारमा रगतका टाटा र कपाल असरल्ल छरिएका थिए ।
भक्तपुरको ठिमी नगरपालिका– ६ स्थित पुरानो थिमी बस्ने २० वर्षीया युवती गत ८ जेठमा चिनजानकै साथीको योजनामा सामूहिक बलात्कारमा परिन् ।
नजिकै डेरा गरी बस्ने २२ वर्षीय रोहित गिरी चिनजानकै थिए । उनले युवतीलाई ललाइफकाई डेरामा लगेर बलात्कार गरे । पीडित युवती घर जान चाहन्थिन्, तर रोहितले जान दिएनन् । बरु, छिमेकमा बस्ने २९ वर्षीय कवाङ लामासहितका चार साथीलाई समेत कोठामा बोलाए । र, युवतीलाई रातभर पालैपालो बलात्कार गरे ।
पीडित युवतीले दोस्रो दिन नै प्रहरीमा जाहेरी दिएकी थिइन् । गिरी पक्राउ परे पनि अन्य चार युवक भने फरार छन् । भक्तपुर प्रहरीका प्रमुख एसपी सविन श्रेष्ठले सामूहिक बलात्कार भएको र घटनाको गम्भीरतापूर्वक अनुसन्धान भइरहेको बताए।
पूर्वी चितवनको खैरनीस्थित सिमलटाँडीका कृष्णप्रसाद अधिकारीका दुई श्रीमती थिए । जेठी शर्मिला र कान्छी मञ्जुबीच मिलाप थिएन । दुई पत्नीबीचको झगडामा कृष्णप्रसादले भने प्रायः शर्मिलालाई नै साथ दिन्थे ।
गत वैशाखको अन्तिम साता मञ्जु र कृष्णप्रसादबीच भएको विवादले झडपको रूप लियो । शर्मिलाले स्वाभाविक रूपमा श्रीमान्को साथ दिइन् । आवेगमा कृष्णप्रसादले मञ्जुलाई यति कुटपिट गरे कि उनको प्राण नै गयो । घटनाको अनुसन्धानपछि प्रहरीले कृष्णप्रसाद र जेठी श्रीमती शर्मिलालाई पक्राउ ग¥यो।
कैलालीको लम्कीचुहा नगरपालिका– १ स्थित सहिद स्मृति माविको क्वारेन्टाइनमै ३१ वर्षीया महिलाको सामूहिक बलात्कार भयो, त्यो पनि क्वारेन्टाइनमा खटिएका स्वयंसेवकहरूबाटै।
पीडित महिला तीन साताअघि भारतको बेंग्लोरबाट फर्केर गाउँमै बनाइएको क्वारेन्टाइनमा बसेकी थिइन् । ३१ जेठको क्वारेन्टाइनमा उनी एक्लै थिइन् । ठूलो कोठामा चुकुल पनि थिएन । भित्रको टेबुलकुर्सीले ढोकामा टेको लगाएर सुतिन् ।
मध्यरातमा कसैले ढोका ढकढक्याएपछि उनी तर्सेर ब्युँझिन् । परिचित स्वयंसेवकको आवाज भएको पक्का भएपछि उनी ढुक्क भइन् । तर, स्वयंसेवकले ढोका खोलेर भित्र पसी महिलालाई भुइँमा पछारे । अनि, जबर्जस्ती गरे ।
विवश महिलाले गुहार मागिन् । घटनास्थलमा अन्य अर्का एक स्वयंसेवी र हेल्थ असिस्टेन्ट पनि आए । तर, उनीहरूले महिलाको उद्धार गरेनन् । बरु बार्गेनिङ गर्न भन्दै मोबाइलबाट भिडियो खिचे । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार घटनामा तीनैजनालाई अनुसन्धानका लागि पक्राउ गरिएको छ ।
लकडाउनको अवधिमा महिला हिंसाका घटना बढेका खबर आजको नयाँ पत्रिका दैनिकमा टेकराज थामीले लेखेका छन्। ११ चैतदेखि ३२ जेठसम्म देशभर महिला हिंसासँग सम्बन्धित पाँच सय ४१ घटना भएको प्रहरीले जनाएको छ । यो संख्या यही अवधिमा भएको संगठित अपराधको तुलनामा झन्डै ३१ प्रतिशतले धेरै हो । संगठित अपराधका घटना तीन सय ७६ भएका छन् ।
प्रहरीका अनुसार लकडाउनको अवधिमा बलात्कारका घटना मात्रै तीन सय ७३ भएका छन् । प्रत्येक दिन औसत पाँचजना महिला बलात्कृत भएका छन् । सामान्य अवस्थामा दैनिक औसत सात महिला बलात्कारको सिकार हुने गर्थे ।
त्यस्तै, जबर्जस्ती करणीका तीन सय ७३, जबर्जस्ती करणी उद्योगका एक सय एक, बोक्सी आरोपका आठ, बहुविवाह ३४, अप्राकृतिक मैथुनका सात तथा बालविवाह र मानव बेचबिखनका नौ–नौ घटना भएका छन् ।
नेपाल प्रहरीका प्रवक्ता डिआइजी नीरज शाहीले संगठित अपराधको तुलनामा महिला हिंसाका घटना अलि धेरै भए पनि सामान्य दिनको तुलनामा भने केही कम भएको बताए ।
प्रतिक्रिया