ad ad

छापा खबर


कोरोनाविरुद्ध घामको किरण उपयोगी, यस्तो छ वैज्ञानिक अध्ययनको निष्कर्ष

कोरोनाविरुद्ध घामको किरण उपयोगी, यस्तो छ वैज्ञानिक अध्ययनको निष्कर्ष

नेपालखबर
असार १०, २०७७ बुधबार १:३२,

कोरोना भाइरसका कारण किन उत्तरी ध्रुवनजिक पर्ने डेनमार्क, नर्वे र फिनल्यान्डभन्दा इटाली र स्पेनमा धेरैको ज्यान गयो ? भाइरस संक्रमणका कारण किन अश्वेतको अत्यधिक मृत्यु भयो? किन यसले बेलायतका श्वेतभन्दा बढी अश्वेत, एसियन तथा अल्पसंख्यकको बढी ज्यान लियो?

पछिल्ला पाँच महिनामा विभिन्न देशमा भएका अध्ययनले कोभिड–१९ को असर र भिटामिन–डीको अभावको प्रत्यक्ष सम्बन्ध रहेको देखाएका छन्। यो खबर आजको नागरिक दैनिकले छापेको छ।

भिटामिन–डीको अभाव भएका मानिसमा कमजोर र अस्थिर प्रतिरक्षा प्रणाली हुने भएकाले उनीहरूमा कोभिड–१९ ले आक्रमण गर्न सक्ने र रोगका कडा लक्षणको विकास हुने वैज्ञानिकले बताएका छन्।

२५ वटा विभिन्न अध्ययनका तथ्यांकले भिटामिन–डी सेवन गर्न दिइएका मानिसमा अन्यको तुलनामा श्वासप्रश्वास नलीमा हुने संक्रमण १२ प्रतिशतले कम देखिएको थियो।

सिकागो विश्वविद्यालयका अनुुसन्धानकर्ताले भिटामिन–डीको अभाव रहेका मानिसमा अन्यको तुलनामा कोभिड–१९ को संक्रमणको जोखिम ७७ प्रतिशतले बढी हुने देखाएको थियो। कोभिड–१९ का अधिकांश बिरामीलाई फोक्सोमा आवश्यक अक्सिजनको प्रवाह रोकिएपछि श्वासप्रश्वासमा कष्टकर हुने गर्छ।

‘युएसए टुडे’का अनुसार, सन् २०१५ को एक अध्ययनले भिटामिन–डीको अभाव भएकालाई श्वासप्रश्वासको समस्या अत्यधिक रहने देखाएको थियो। ‘द एट्लान्टिक’ पत्रिकामा प्रकाशित एक लेखमा डा.जेम्स ह्याम्ब्लिनले भनेका छन्, ‘भाइरसको अनुसन्धानमा संलग्न चिनियाँ अनुसन्धानकर्ताले सुरुमै कोरोनाभाइरसको रोकथामका लागि भिटामिन–डी लिन सुझाव दिएका थिए।’

बेलायती तथा स्कटल्यान्डका सरकारी अधिकारीले कोभिडका बिरामीलाई अस्पतालमा घामको प्रकाश उपलब्ध गराउनुपर्ने सिफारिस गर्न प्रमाणहरूको समीक्षा गरिरहेका छन्। घामको किरणले कोभिड–१९ संक्रमणको दोस्रो लहरलाई समेत रोक्ने अपेक्षा गरिएको छ।

यस्तै, नर्थ वेस्टर्न विश्वविद्यालयको एक अध्ययनले कोभिड–१९ को अत्यधिक मृत्युदर भएका देशमा तुलनात्मक रूपमा भिटामिन–डीको अभाव रहेको देखाएको छ।

‘द एट्लान्टिक’मा प्रकाशित लेखमा डा.जेम्स ह्याम्ब्लिन भन्छन्, ‘अन्य भिटामिनजस्तो भिटामिन–डी पोषण नभएर हर्मोन हो। हाम्रो छालाले घामको किरण प्राप्त गरेपछि यो कम्पाउन्ड बनाउँछ।’

‘बिबिसी डटकम’मा प्रकाशित एक लेखमा लिन्डा गेड्स ‘फोक्सोका कोशिकालाई आक्रमणकारी ब्याक्टेरिया, भाइरसबाट जोगाउन र शरीरको प्रतिरक्षा प्रणालीलाई नियन्त्रणभन्दा बाहिर जानबाट रोक्न भिटामिन–डीले सघाउने’ उल्लेख गरेकी छन्।

भारतमा घामको किरण पर्याप्त लाग्ने भए पनि सन् २०१८ मा प्रकाशित एक अध्ययनका अनुसार धेरै भारतीयमा भिटामिन–डीको अभाव देखिएको छ।

सो अध्ययनले भारतीयमा ४० देखि ९९ प्रतिशतसम्म भिटामिन–डीको अभाव देखाएको थियो। यसो हुनुका थुप्रै कारणमध्ये प्रमुख हो, अत्यधिक रूपमा घरभित्रै बस्ने बानी। स्पेन र इटालीमा पनि घरभित्रै बस्नेको जनसंख्या अत्यधिक छ।

त्यसो त अश्वेत छाला हुनु पनि फाइदाजनक मानिँदैन। ‘युएसए टुडे’मा प्रकाशित एक लेखमा भनिएको छ, ‘कालो छाला भएका मानिसका छालामा मेलानिनको मात्रा अत्यधिक हुन्छ, जसले भिटामिन–डीको उत्पादन गर्ने क्षमतालाई घटाउँछ।

यही कारण यस्ता छाला भएकालाई श्वासप्रश्वासको रोग बढी लाग्ने गर्छ।’ मेडिकल जर्नल ‘द ल्यान्सेट’मा प्रकाशित एक लेखका अनुसार, सन् २००९ र २०१० मा फैलिएको इन्फ्लुइन्जा एच–१एन–१ महामारीका बेला पनि श्वेतभन्दा अश्वेतको मृत्युदर अत्यधिक रहेको थियो।

भिटामिन–डी शरीरले बनाउने हिसाबले निःशुल्क र बजारमा खरिद गर्ने हिसाबले सस्तो छ। गएको बुधबार प्रकाशित बेलायती पत्रिका ‘गार्डियन’का अनुसार, बेलायती तथा स्कटल्यान्डका सरकारी अधिकारीले कोभिडका बिरामीलाई अस्पतालमा घामको प्रकाश उपलब्ध गराउनुपर्ने सिफारिस गर्न प्रमाणहरूको समीक्षा गरिरहेका छन्, घामको किरणले कोभिड–१९ संक्रमणको दोस्रो लहरलाई समेत रोक्ने अपेक्षा गरिएको छ।

बेलायती तथा स्कटल्यान्डका अधिकारीले आफ्ना नागरिकलाई दैनिक रूपमा १० माइक्रोग्राम भिटामिन–डी सेवन गर्न सुझाएका छन्। लकडाउन र भाइरस संक्रमण हुने डरका कारण घरबाहिर ननिस्कँदा पनि मानिसमा भिटामिन–डीको अभाव देखिएको हो।

स्कटल्यान्डको सरकारले आफ्ना नागरिकलाई कुनै क्रिम नलगाई घामको प्रकाश कम्तीमा १० देखि १५ मिनेटसम्म लिन सुझाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .