नेपालबाट माध्यमिक शिक्षा परीक्षा (एसईई) या विश्वको कुनै पनि बोर्डबाट स्कुल लिभिङ सर्टिफिकेट (एसएलसी) कै स्तरको परीक्षा उत्तीर्ण गरेका विद्यार्थीहरू ए–लेभल क्वालिफिकेसनमा प्रवेश पाउन सक्छन्।
विद्यार्थीले उपलब्ध गराइएकोमध्ये अंग्रेजी भाषा साहित्यबाट एउटा र बाँकी विषयहरूबाट आफूले चाहेका कम्तीमा तीनवटा विषय लिन पाउने प्रावधान छ।
ए–लेभल पाठ्यक्रम दुई भागमा विभाजित छन्। एउटालाई एड्भान्स सब्सिडिअरी (एएस) लेभल भनिन्छ। यसमा पहिलो आधा पाठ्यक्रम समावेश गरिएको हुन्छ। अर्काे आधालाई ‘ए–टु सिलेबस’ भनिन्छ। यसले बाँकी आधा पाठ्यक्रम संगालेको हुन्छ। विद्यार्थीले सम्पूर्ण ए–लेभल क्वालिफिकेसन पाउन दुई वर्षमा दुई पटक परीक्षा पनि दिन सक्छन् भने दुई वर्षको अन्तमा एकै पटक परीक्षा दिन सक्छन्।
साथसाथै मेधावी विद्यार्थीका लागि समयसीमा छैन। ए–लेभल परीक्षा वर्षको दुईपटक मे/जुन र अक्टुबर/नाेभेम्बरमा विश्वभरि नै एकै पटक सञ्चालन गरिन्छ र नतिजा पनि एकैसाथ प्रकाशन हुन्छ। परीक्षाहरू धेरै व्यवस्थित तरिकाबाट लिइन्छ। ए–लेभल क्वालिफिकेसनले सिर्जनात्मक सोचाइका साथसाथै अन्य सीप पनि बढाउन मद्दत गर्दछ।
विद्यार्थीले कति जान्यो भन्दा पनि कति बुझ्यो भन्नेलाई महत्त्व दिइन्छ र विश्लेषणात्मक पक्षलाई परीक्षामा बढी समावेश गरिन्छ। प्रश्नहरू ‘एक्टिभ’ हुन्छन् भने विद्यार्थीहरूको अभिव्यक्ति ‘अब्जेक्टिभ’। यसमा वस्तुगत, लामा र छोटा उत्तर लेख्ने ढाँचाका प्रश्न समावेश गरेर विद्यार्थीको सम्पूर्ण मूल्याङ्कन गरिने प्रयास गरिन्छ। गहिराइसम्म पुगेर विषयवस्तुको अध्ययन गर्नुपर्छ।
ए–लेभल नेपालको प्रमाण–पत्र तह अर्थात् १०+२ सरहको पाठ्यक्रम हो। यो तह उत्तीर्ण गरेपछि विद्यार्थीले विश्वको कुनै विश्वविद्यालयमा स्नातक स्तरको अध्ययन गर्नका लागि आवेदन दिन पाउँछन्। यसको अन्तर्राष्ट्रिय ख्यातिले विद्यार्थीलाई विश्वको राम्रोभन्दा राम्रो कलेजमा भर्ना हुन या छात्रवृत्ति पाउन सजिलै सम्भव देखिन्छ।
नयाँ पाठ्यक्रम तयार गर्दा एउटा लामो र स्तरीय प्रक्रिया अपनाइन्छ; जसमा पूर्ण अनुसन्धान, तालिम र परामर्शजस्ता काम गरिन्छ। यसरी तयार पारिएको पाठ्यक्रम नमूना प्रश्नपत्र, शिक्षकहरूका लागि प्रत्यक्ष कार्यशाला गोष्ठीहरू, दूरसिकाइ पाठ्यक्रम, अनलाइन कार्यक्रम, छलफल समूह, सन्दर्भ पाठ्यपुस्तक तथा तोकिएका पाठ्यपुस्तकको सहायताले शिक्षकहरूसमक्ष पुर्याउने गरिन्छ।
पाठ्यक्रम र प्रश्नपत्र मूलतः अन्तर्राष्ट्रियस्तरको हुन्छ। तसर्थ विश्वभरका विद्यार्थीलाई ध्यानमा राखेर पाठ्यक्रम बनाई अन्तर्राष्ट्रिय उदाहरणसँगै आ–आफ्नो देशको सन्दर्भमा पढाउन निर्देशन दिइन्छ। यो पाठ्यक्रम अत्यन्त लचिलो, गुणस्तरीय, वैज्ञानिक र व्यावहारिक मानिन्छ। पाठ्यक्रम बनाउँदा विद्यार्थीको सिर्जनशील र मौलिक पक्षलाई ध्यान दिइएको हुन्छ भने मूल्याङ्कन गर्दा बोध पक्षलाई। हरेक २/३ वर्षमा पाठ्यक्रम परिमार्जित गरी समयसापेक्ष र अद्यावधिक गरेर विषयवस्तु सान्दर्भिक र नियमित बनाउनु ए–लेभलको अर्काे विशेषता हो।
कक्षा क्रियाकलापहरू सेमिनार, छलफल, प्रयोगशाला विधि, समस्या समाधान, ग्रुपवर्क, प्रोजेक्ट वर्क, खोजबिन, प्रतिवेदन लेखन, प्रस्तुतीकरण, समसामयिक अध्ययनमा आधारित हुन्छन्। आस्क द एक्जामिनर, टिचर्स सपोर्ट साइटले शिक्षकहरूको स्तर बढाइरहेको हुन्छ भने वेबसाइट ब्राउज गरेर र सीडी कपी गरी विद्यार्थीले अझ आफूलाई निखार्न सक्छन्।
एडभान्स लेभल कोर्षलाई नेपालको सबै विश्वविद्यालयको साथसाथै विश्वको धेरै शैक्षिक संस्थाहरूबाट मान्यताप्राप्त छ। त्रिभुवन विश्वविद्यालयले सीआईईले दिएको ग्रेड्स ‘ए’देखि ‘ई’लाई ९५ प्रतिशतदेखि ५५ प्रतिशतसम्मको समकक्षता निर्धारण गरेको छ। विद्यार्थीले आफ्नो ग्रेड सुधार्न पुनः परीक्षामा बस्न पाउने प्रावधान पनि छ। विद्यार्थीहरूको हौसला बढाउन युनिभर्सिटी अफ क्याम्ब्रिज, ब्रिटिस काउन्सिल र क्याब्रिज एजुकेटर्स एसोसिएसन इन नेपालले हरेक वर्ष पुरस्कार वितरण समारोहको आयोजना गर्दै आएको छ।
नेपालमै बसेर अन्तर्राष्ट्रियस्तरको यो शिक्षा पढेर विश्वका विभिन्न मुलुकमा गएर अध्ययन गरी सक्षम जनशक्तिले पुनः स्वदेशमै फर्केर सेवा गर्ने हो भने योभन्दा सुनौलो मौका हाम्रोजस्तो मुलुकलाई अरु हुन सक्दैन। अन्ततः हरेक वर्ष ए–लेभलप्रति विद्यार्थी संख्या बढ्दो क्रममा छ।
विश्व उत्कृष्ट नतिजा
सन् २००८ मे–जुनमा जनरल पेपर (एएस–लेभल)तर्फ अभिमन्यु क्षेत्री विश्व उत्कृष्ट भएका थिए। त्यसैगरी सन् २०१५ अक्टुबर–नभेम्बरमा सोसियोलोजी (ए–लेभल)मा संस्कृति तिम्सिना वर्ल्ड टप भएकी थिइन्। सन् २०१७ मे–जुनमा इंग्लिस ल्यांग्वेज (एएस–लेभल) तर्फ विश्रुत भट्टराई वर्ल्ड टप भएका थिए।
जेनेरल सर्टिफिकेट अफ एजुकेसन (जीसीई) क्याम्ब्रिज इन्टरनेसनल एक्जामिनेसन (सीआईई) बोर्डद्वारा सञ्चालन गरिएको हो। यो युनिभर्सिटी अफ क्याम्ब्रिजकै एक अङ्ग हो। जीसीईले विगत ५० वर्षदेखि विश्वको करिब १७० देशहरूमा लगभग ७० विषयहरूमा एड्भान्स लेभल क्वालिफिकेसन (जसलाई ए–लेभल क्वालिफिकेसन पनि भनिन्छ) प्रदान गर्दै आएको छ।
(डा. झा काठमाडौं युनिभर्सिटीबाट टिम लिडरसिपमा विद्यावारिधिप्राप्त हुन्। उनी चेल्सी इन्टरनेसनल एकेडेमी र विद्या संस्कार स्कुल तथा क्याम्ब्रिज जीसीई ए–लेभल कलेज/स्कुलका प्रिन्सिपल तथा फाउन्डर डाइरेक्टर रहेका छन्। साथै उनी क्याम्ब्रिज एजुकेटर्स एसोसिएसन इन नेपाल (सिआन)का अध्यक्ष पनि हुन्।)
Shares
प्रतिक्रिया