वाम तथा लोकतान्त्रिक आन्दोलनका एकजना योद्धा, प्रजातान्त्रिक समाजवादका अभियन्ता, लेखक आदरणीय प्रदीप गिरीको निधनले यतिबेला हामीलाई मर्माहत बनाएको छ। सर्वप्रथम उहाँप्रति हार्दिक श्रद्धाञ्जली!
हुन त प्रदीप गिरी नेपाली कांग्रेसको नेता तथा वर्तमान प्रतिनिधि सभाको सदस्य हुनुहुन्थ्यो। तर, त्यो भन्दा ठूलो परिचय उहाँ वाम तथा लोकतान्त्रिक आन्दोलनको एकजना चिन्तक हो। वाम भन्नाले कम्युनिष्टहरूलाई मात्रै जोडेर हेरिनु हुँदैन।
मेरो उहाँसँग पहिलो भेट कहिले भयो, अहिले यकिन छैन। लेनिन बारे, लोहिया बारे उहाँले लेखेका सामग्रीहरु पनि मैले उहाँलाई भेट्नु अघि नै पढिसकेको थिएँ। हामी प्रदिप गिरीले लेखेका किताबहरू पढ्दै, आलोचनाहरू सुन्दै अगाडि बढेका हौँ।
पहिलो भेटमा परिचय भयो। त्यतिबेला उहाँले एउटा डायरीमा मेरो नाम टिप्दै भन्नु भएको थियो, ‘बीपी कोइरालाको जस्तो भेट भएका जति सबैको नाम सम्झने मेरो खुबी छैन। त्यसैले भेट भएका साथीहरुको नाम टिपेर राख्ने गरेको छु।’
पहिलो संविधान सभामा शासकीय स्वरुप समितिमा बसेर उहाँसँग काम गर्ने अवसर मिलेको थियो। भेटघाट बाक्लो हुन्थ्यो।
त्यतिबेला संविधान सभामा शासकीय स्वरुपको विषयमा वहस हुँदा तीनवटा ट्रेन्ड देखिन्थे। हामी प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणालीको पक्षमा थियौँ। नेपाली कांग्रेस संसदीय प्रणाली र नेकपा एमाले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको पक्षमा वकालत गथ्र्यो।
संविधान बनाउने क्रममा जतिजति हामी उत्तरार्द्धमा गयौँ, त्यति त्यति ध्रुवीकरण हुन थाल्यो। त्यस क्रममा प्रदीप गिरीले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीय प्रणालीको वकालत गर्न थाल्नुभयो। यो कांग्रेसको ‘अफिसियल लाइन’ भन्दा भिन्न विचार थियो।
त्यतिबेला संविधान सभामा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र राष्ट्रपतीय प्रणालीलाई एक ठाउँमा कसरी ल्याउन सकिन्छ भनेर हामीले छुट्टै छलफल पनि गर्यौं।
‘प्रदीप गिरि अर्ध कम्युनिस्ट हुनुहुन्थ्यो, ३ कारणले कम्युनिस्ट बन्नुभएन’
तर, पहिला प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीय प्रणालीको वकालत गरेको नेकपा एमालेको मूल पक्ष पछि गएर संसदीय प्रणाली तर्फ गयो। एमालेको सानो समूह मात्रै प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीय प्रणालीको पक्षमा रह्यो। जसको कारण संविधान निर्माणको क्रममा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री वा राष्ट्रपतीय प्रणाली अपनाउन सकिएन। तर, प्रदीप गिरी अन्त्यसम्म प्रत्यक्ष निर्वाचित कार्यकारीकै पक्षमा हुनुहुन्थ्यो।
संविधान सभामा भएको त्यो बहसलाई सम्झँदा मलाई लाग्छ, प्रदीप गिरी पार्टी भन्दा माथि हुनुहुन्थ्यो। यसले पनि उहाँको छुट्टै छवि, व्यक्तित्व र प्रभाव निर्माण भएको थियो।
म मन्त्री हुँदा कहिले काहिँ उहाँका फोनहरु आउँथे। शिक्षकका समस्या, छात्रवृत्ति, विशेष गरेर दलित विद्यार्थीहरुका समस्याका बारेमा र छात्राहरुको पढाई सम्बन्धी कुरामा उहाँ चिन्ता जाहेर गर्नुहुन्थ्यो। समाधानको उपायहरु सुझाउनु हुन्थ्यो।
हामीले त्यतिबेला शिक्षा नीति बनाउन एउटा आयोग बनाएका थियौँ। त्यो आयोगको प्रतिवेदन फाइनल गर्ने बेलामा केही विशिष्ट व्यक्तिहरुलाई आमन्त्रण गरेका थियौँ। जसमा प्रदीप गिरी पनि हुनुहुन्थ्यो। उहाँले त्यहाँ महत्वपूर्ण सुझावहरु दिनुभयो।
पश्चिमा र पूर्वीय ज्ञानलाई जोडेर शिक्षालाई अगाडि बढाउनु पर्छ भन्ने सोच उहाँमा थियो। उहाँ मूलतः सार्वजनिक शिक्षाको पक्षधर हुनुहुन्थ्यो। शिक्षालाई जीवनोपयोगी र गुणस्तरीय बनाउने विषयमा उहाँ जोड दिनुहुन्थ्यो।
मन्त्री हुँदा मैले एक दिन उहाँलाई योग दिवसको एउटा कार्यक्रममा आमन्त्रण गरेको थिएँ। तर, त्यो कार्यक्रममा उहाँ आउन सक्नु भएन।
‘माओवादी भएर पनि तपाईंले योगलाई जोड दिनु हुँदो रहेछ’ भनेर उहाँले खुसी प्रकट गर्नुभयो। रामायण र महाभारतको दृष्टान्त दिँदै उहाँले पतन्जलीको योग र ध्यानमा जोड दिनु भएको थियो।
योग हाम्रो प्राचिन विज्ञान हो। वर्तमान समयले सिर्जना गरेका चुनौतिहरुलाई सम्बोधन गर्न योगले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ भन्ने उहाँको मान्यता थियो। जुन मान्यतामा म पनि सहमत छु।
उहाँको थप कुरा के थियो भने, कालान्तरमा समाज र पार्टीहरूको ध्रुवीकरणमा पनि योगले सकारात्मक प्रभाव पार्ने छ। त्यसको लागि युवाहरूमा योग शिक्षा पुर्याउनु पर्छ भन्ने उहाँमा थियो।
केही वर्षअघि म लहान र बस्तीपुरको बीचमा प्रदीप गिरीले चलाउनु भएको आश्रममा पुगेको थिएँ। काठमाडौं फर्किएपछि आश्रमलाई कसरी आत्मनिर्भर बनाउने, कसरी टिकाउने भन्ने सन्दर्भमा उहाँ र मबीच छलफल भएको थियो। त्यतिबेला उहाँसँग सामाजिक, आर्थिक विषयमा पनि धेरै कुराहरु भए।
महोत्तरीको बर्दिबासमा हामीले सामूहिक अभ्यास गर्ने आधारशीला भन्ने एउटा सामूहिक घर चलाइरहेका छौँ।
आधारशीलामा आउने इच्छा उहाँले व्यक्त गर्नु भएको थियो। तर, त्यो अधुरै रह्यो। आधारशीलाको एउटा कार्यक्रममा हामीले उहाँलाई निम्ता पनि दिएका थियौँ। तर, पूर्वनिर्धारित कार्यक्रममा स्वास्थ्यको कारणले उहाँ आउन सक्नु भएन।
जनयुद्ध, सशस्त्र संघर्षको बेला त्यसको निरपेक्ष बिरोध गर्ने कांग्रेसको ट्रेन्ड थियो। तर, प्रदीप गिरी कांग्रेसको यो नीति विपरित जनयुद्धले निर्माण गरेका प्रभावहरुको सकारात्मक ढंगले विश्लेषण गर्नु हुन्थ्यो।
उहाँ प्रजातान्त्रिक समाजवादकै वरिपरी रहेर नेपाली समाजका समस्या समाधान गर्ने कुरामा दृढ हुनुहुन्थ्यो। त्यस क्रममा उहाँ माक्र्सवादको एउटा आलोचक हुनुहुन्थ्यो।
उहाँको प्रस्तुति, शैली रोचक थियो। कुनै पनि कुरालाई कलात्मक ढंगले भन्ने सामर्थ्य राख्नुहुन्थ्यो।
राजनीति, दर्शन, साहित्यबारे धारा प्रवाह प्रवचन दिन सक्ने सामर्थ्य उहाँमा थियो। उहाँमा सरलता, मिलनसारिता र उत्पीडित वर्ग र समुदायप्रतिको पक्षधरता बेजोड थियो।
आफ्नो युवा कालमा उहाँ लोहियाको समाजवादबाट प्रभावित हुनुहुन्थ्यो। एक प्रकारले भारतका लोकतान्त्रिक समाजवादीको टिमका सदस्य नै हुनुहुन्थ्यो।
त्यही क्रममा उहाँले मार्क्सवादको गहिरो अध्ययन गर्नु भयो। त्यतिबेला वैज्ञानिक समाजवाद वा कम्युनिष्टहरुले भन्ने गरेको समाजवादको विश्वमा व्यापक प्रभाव थियो। संसारका दुई तिहाइ भूभागमा वैज्ञानिक समाजवादीहरुको शासन थियो। उहाँ त्यसको विकल्पको रुपमा प्रजातान्त्रिक समाजवादको वकालत गर्नुभयो।
त्यो बेलामा प्रजातान्त्रिक धारलाई अगाडि बढाउन उहाँले माक्र्सवादको पूरै अध्ययन गर्नु भयो। त्यस क्रममा स्वाभाविक रुपमा उहाँले चिनियाँ, रुसी मोडलको समाजवाद, माक्र्सवादको गहिरो अध्ययन गर्नु भएको थियो।
प्रजातान्त्रिक समाजवादको वरिपरी मध्यमार्गी खालको नेपाल बनाउने उहाँको सोच थियो। निजी सम्पतीको व्यवस्थासहितको समाजवादी सोच उहाँमा थियो।
बीपीले जस्तै उहाँले आफूलाई माक्र्सवादको पक्षधर भन्ने गर्नुहुन्थ्यो। तर, उहाँलाई मार्क्सवादको राम्रो आलोचकका रुपमा बुझ्नुपर्छ। उहाँ मूलतः गान्धीवादी हुनुहुन्थ्यो। तर, आवश्यकताको आधारमा हिंसात्मक आन्दोलनलाई पनि अस्वीकार गर्नु हुन्नथ्यो।
अध्ययनशील, सरल, वौद्धिक, तार्किक क्षमता भएको, मान्छे हुनुहुन्थ्यो प्रदीप गिरी।
उहाँको जीवनमा पूर्वीय चिन्तन र संस्कृतिको विशेषता झल्किन्थ्यो। प्रदीप गिरी एउटा निस्कलंक, राजनीतिको एउटा आदर्श पात्र, चरित्र हो।
उहाँ वाम तथा लोकतान्त्रिक शक्तिहरुबीच एकताको पक्षपाती हुनुहुन्थ्यो। हाम्रो आधारशीला र उहाँको आश्रम मिलेर किशुनजी र निर्मल लामाको नाममा एउटा कुनै काम गरौँ भन्ने उहाँको प्रस्ताव थियो। त्यो पनि अधुरै रह्यो।
प्रदीप गिरी लामो संघर्षको क्रममा विचारले निर्माण गरेको एउटा व्यक्तित्व हो।
तर, यतिबेला प्रदीप गिरीको विचारलाई अगाडि बढाउने पात्र र प्रवृत्ति नेपाली कांग्रेसमा देखिएको छैन। प्रजातान्त्रिक समाजवादी धार कमजोर हुँदै गएको अवस्थामा प्रदीप गिरीको विचार अगाडि बढाउने कसले भन्ने प्रश्न नै यतिबेला महत्वपूर्ण छ।
यतिबेला हामी आधुनिक भनिने समाजले सिर्जना गरेका असमानता, विभेद र थुप्रै विकृति– विसंगतिको बीचमा उभिएका छौँ।
यस्तो अवस्थामा एउटा स्वस्थ, समुन्नत र समृद्ध देश बनाउनु वैज्ञानिक समाजवादी र प्रजातान्त्रिक समाजवादीहरुको साझा जिम्मेवारी हो। त्यस दिशामा दृढतापूर्वक अघि बढ्नु नै अहिले प्रदीप गिरीप्रति सच्चा श्रद्धाञ्जली हुने छ।
अलबिदा प्रदिप गिरि! शोकाकुल परिवारजनमा गहिरो समवेदना!
(पोखरेल नेकपा माओवादी केन्द्रका उपमहासचिव हुन्)
Shares
प्रतिक्रिया