यो लेख्न बस्दै गर्दा म एउटा हिन्दी भजन दोहोर्याई–तेहर्याई सुनिरहेको छु–
‘कभी प्यासेको पानी पिलाया नहीँ,
वाद अमृत पिलाने से क्या फाइदा?’
भजन जबर्जस्त छ।
मौका परे तपाईंहरू पनि सुन्नुहोला।
म यसकारण यो भजन दोहोर्याई–तेहर्याई सुनिरहेको छु कि म भर्खर कसैको तेह्रौँ दिनको क्रियाकर्मबाट फर्किएको छु। एक किसिमको वैराग्य भाव छ ममा। एक हिसाबले चेतना–शून्य छु। दिमाग चक्रजस्तो तीव्र गतिमा घुमिरहेको छ। दिमाग दुई अवस्थामा शून्य हुन्छ– कि त अति तीव्र गतिमा दौडिएका बेला कि त समाधिका बेला।
फर्किएको छु, यस्तो मान्छेको मृत्यु–संस्कारबाट, जसलाई मैले सन् २०१७ का कुनै दिन उनको सामाजिक दौडधुप देखेर उनकैअगाडि भनेको थिएँ– ‘तपाईंजस्तो मान्छेको आडमा आउँदा म ढुक्क भएको छु।’
त्यो यस्तो समय थियो, जतिबेला म अमेरिकाको सुन्दर सहर सानफ्रान्सिस्को छाडेर अलिक रुखो सहर टेक्ससको डलासमा सरेको थिएँ।
उनी अर्थात् कृष्ण लामिछाने, जो ऊबेला नेपाली समाज (टेक्सस) का अध्यक्ष थिए।
म अलि बढ्तै ‘भरोसा’ खोज्ने मान्छे, उनी अलि ‘बढ्तै भरोसा’ दिने मान्छे।
हामी भेटिएका थियौँ एकै ठाउँमा। यो संयोग जुराइदिएका थिए– मित्र सुरेशचन्द्र पोखरेलले।
म टेक्सस सरेको केही समयमा मेरो जन्मक्षेत्र पोखरातिरकै एक व्यक्तिले आत्महत्या गरे टेक्ससको डलासमा। ऊबेला कृष्ण लामिछानेको दौडधुप देखेर म नतमस्तक भएको थिएँ। मन ढक्क भएको थियो। र, सायद त्यही समय उनलाई भनेको थिएँ– ‘ओ हो! कस्तो मानवीय समाजमा आइपुगिएछ। तपाईंजस्तो मान्छेको आडमा आउँदा म ढुक्क भएको छु।’
म मृत्युदेखि डराउने मान्छे, उनी मृत्युप्रति पनि भरोसा दिलाउने मान्छे।
जसलाई मैलै ‘तिमीजस्ता मान्छेका कारण म ढुक्क छु’ भनेको थिएँ, तिनै मान्छे कृष्ण लामिछानेले १३ दिनअघि पासो लगाएर आफ्नै घरमा आत्महत्या गरे।
बाहिरबाट हेर्दा सुन्दर र आध्यात्मिक चेत भएकी श्रीमती, प्रेरणादायक दुई सुन्दर छोरी र अमेरिकामा ठीकठाक व्यापार र जिन्दगी।
तैपनि आत्महत्या!
यो घटनाको म कसरी वर्णन गरूँ?
यी १३ दिन म सोचेको सोच्यै भएँ– कहाँबाट सुरु गरूँ?
दोषबाट सुरु गरौँ कि पीडाबाट?
आदर्शबाट सुरु गरौँ कि व्यवहारबाट?
समाजबाट सुरु गरौँ कि व्यक्तिबाट?
अक्सर मान्छेहरू दोषबाट कुरा सुरु गर्छन्। मेरो अन्तरमनले भन्छ– पीडा, दोषभन्दा माथि हुन्छ। दोष दिमागसँग जोडिएको हुन्छ, पीडा भावनासँग। पीडाको समयमा म दोषको कुरा गर्न चाहन्नँ।
दोष र कारण मेरा लागि प्रधान होइनन्, परिणामभन्दा।
कारणहरूलाई सच्याउन सकिन्थ्यो, सकिन्छ पनि तर परिणामलाई सच्याउन सकिन्न।
सच्याउन नसकिने परिणाम हो– कृष्ण लामिछानेको आत्महत्या।
लौ, दोषबाटै कुरा गरूँ।
दोष कसको?
व्यवहारको दोष कि भावनाको?
दिमागको दोष कि परिस्थितिको?
काम (वासना) को दोष कि क्रोधको?
लोभको दोष कि मोहको?
यी सबका सामुन्ने मान्छे त विचरा सिर्फ एउटा कठपुतली हो।
समयको कठपुतली,
परिस्थितिको कठपुतली,
काम (वासना) को कठपुतली,
क्रोधको कठपुतली!
वाहियात हामी– कृष्ण लामिछाने र उनकी श्रीमतीका गुण–दोष खोजिरहेका छौँ। र, सोसल मिडियामा रमिता देखाइरहेका छौँ।
कसैको आत्महत्या दुनियाँको रमिताको विषय होइन।
मलाई थाहा छैन– यो किन रमिताको विषय बनिरहेको छ! बनाइएको छ!
मलाई कसैका व्यक्तिगत जीवनका दैनिक घटित घटनाहरूको त्यत्ति निधिखुदी गर्नु छैन।
मैले जीवनमा आजसम्म दुईवटा मात्रै महत्त्वपूर्ण पाठ सिकेको छु–
पहिलो– कोही पनि मान्छे दोषबाट मुक्त छैन (विचरा! कृष्ण लामिछाने वा श्रीमती मालाको के कुरा)।
दोस्रो– मान्छे, पूर्णतः आदर्शवान् हुनै सक्दैन। कसैले आफूलाई बढ्तै आदर्शवान् भनाइ वा देखाइरहेको छ भने बुझ्नुस्– ऊ कि ढाँटिरहेको छ कि त उसको चेतना त्रुटिपूर्ण छ।
कसैले मेरो किताब ‘पात्रहरू’ पढ्नुभएको छ भने त्यहाँ मैले लेखेको छु– खासमा मान्छे आफैँमा कहिल्यै त्यति अनुशासित थिएन। छैन। र, हुँदैन पनि। जति राज्य, सरकार र समाजले अपेक्षा गर्छ (पृष्ठ १४)।
आधारभूत चरित्रका हिसाबले मान्छे र पशुमा खासै अन्तर छैन। तर हामी समाज वा अरूले खडा गरिदिएको आदर्शको भारी बोकेर, अझ भनौँ बोझ बोकेर हिँडिरहेका छौँ।
त्यही बोझले हामी थिचिएका छौँ। मरेका छौँ।
कल्पना गर्नुस् त– संसारको ‘सुपर पावर’ देशका राष्ट्रपति विल क्लिन्टन, जसले आफ्नै कार्यलयमा, आफ्नै कारिन्दासँग अप्राकृतिक यौनकृत्य गर्छन्, दुनियाँले थाहा पाउँछ। श्रीमतीले माफ दिन्छिन्। जनताले क्षमा गर्छन्। र, फेरि उनै राष्ट्रपति हुन्छन्। मान्दिए त सकिँदो पनि रहेछ नि!
तर हाम्रो नेपाली चरित्र विचित्रको छ।
हामी ढोँगी छौँ। हामी घमण्डी छौँ। हामी के हौँ? किन हौँ? खासमा हामीलाई थाहै छैन।
सार्वजनिक भएका अडिओहरूका अनुसार, कृष्ण लामिछाने नेपालकी कुनै स्त्रीको सम्बन्धको जालमा परेका थिए। यौन र पैसा दुवैको कारोबार थियो।
ग्रहदशा!
हामी ग्रहदशा भगवान् र राक्षसका देन भन्ठान्छौँ। होइन, यी हाम्रै वा हाम्रा मान्छेका देन हुन्।
एकदिन एउटा अडिओ सार्वजनिक भयो, हामीले भन्यौँ– घरपरिवारकै दोष हो, अझ श्रीमतीकै दोष हो, जसका कारण लामिछानेले आत्महत्या गरे।
अर्कोदिन अर्कै अडिओ सार्वजनिक भयो, हामीले भन्यौँ– गल्ती त लामिछानेकै हो।
हो, केही गल्ती त लामिछानेले गरेकै रहेछन्– आफ्नी सुन्दर र जीवन विज्ञान पढेकी श्रीमती र प्रेरणादायक छोरीहरूलाई छलेर, अन्यत्रै लागेर।
यही गल्तीको भार थेग्न नसकेर लामिछानेले आत्महत्या गरे।
नेपालकी ती स्त्री, जसको जालमा लामिछाने परे, समाज जसको आदर्शको बोझ, तिनै स्त्रीले बोक्नै नसकिने बनाइदिइन्, यो सब देखेर स्वाभाविक आक्रोश लामिछानेकी श्रीमती मालामा पैदा भयो र एउटा परिस्थिति खडा भयो। र, लामिछानेले आत्महत्या गरे। म कसलाई दोष दिऊँ?
तेह्रौँ दिनका दिन लामिछानेको घर जाँदा मालाजी, छोरीहरू कृतिका र इच्छाका अनुहार म हेरेको हेर्यै भएँ। म आफैँले आफूलाई सोधिरहेको थिएँ– दोष कसको?
मेरो मनले भनिरहेको थियो– हामी सबैको।
असल होस् वा खराब।
हामीलाई गुमाउनुको पीडा हुँदो रहेछ। भए पो असल–खराब! नभएपछि त के बाँकी रहयो र!
जस्तो होस्, हुनुमा महत्त्व छ, नहुनुमा केही न केही!
यस्तो हुँदा पनि किन नेपाली समाजका मै हुँ भन्नेहरूले हस्तक्षेप वा सहयोग गर्न सकेनन्? प्रश्नहरू उब्जिरहेका छन्। कृष्ण लामिछाने, जो गैरआवासीय नेपाली संघ (एनआरएनए) देखि नेपाली जनसम्पर्क समितिसम्मका नेता थिए, उनी किन आफ्नै जीवनको नेता बन्न सकेनन्? मान्छेहरूले सोधिरहेका छन्।
दाहसंस्कारको समयमा मलाई कतिपयले सोधिरहेका थिए– के हो यो?
मैले भनिरहेको थिएँ– कारण र परिणाम दुई फरक चिज हुन्। म परिणामबाट चिन्तित छु। कारणहरूमा जति पनि बहस गर्न सकिन्छ। गर्दै गरौँला। कारण दिमागका खेल हुन्, परिणाम भावनाका।
नेपाली समाजलाई हेपेरै म भन्छु– औसत नेपाली समाज यति बुझ्ने ताकत राख्दैन।
औसत नेपाली समाजको चिन्तन ढोँगी र देखावटी छ। यो कुरा भन्न मलाई कुनै संकोच छैन।
यो समाज कसका लागि? के? र, किन गरिरहेको छु भन्ने स्पष्टता नभएको समाज हो।
यो समाज कहिले कारणमा खेल्छ, कहिले भावनामा। यो समाजलाई कारण र भावनाको भेद नै थाहा छैन।
मलाई यत्तिचाहिँ भन्नु छ– कृपया! कोही कसैलाई यत्ति सारो आदर्शको बोझ नबोकाइदिऊँ– जसका कारण उसले आफ्नो सामान्य जीवनमा गर्ने काम, क्रोध, लोभ र मोहका गल्ती सामना गर्ने ताकत राख्न नसकोस्।
लामिछानेको मृत्यको तेह्रौँ दिनको क्रियाकर्मबाट फर्केकै साँझ दर्शनशास्त्रका एकजना प्राध्यापकसँग हामी त्यही आत्महत्याका विषयमा कुरा गरिरहेका थियौँ।
ती प्राध्यापकका सामुन्ने मैले आँट गरेरै भनेँ– हामी, जो मानव आफूलाई ‘स्पेसल’ (विशेष) ठान्छौँ, खासमा हामी ‘स्पेसल’ होइनौँ। हामी, जो मानव आफूलाई ‘इथिकल’ (नैतिकवान) ठान्छौँ, हामी ‘इथिकल’ होइनौँ।
प्रकृतिका दृष्टिमा मान्छे र पशुमा कुनै फरक छैन।
अहिले मलाई यसभन्दा बढी अरू केही भन्नु छैन।
तर जाँदाजाँदै मेरै सहगोत्री नेपाली मिडियालाई एउटा ‘क्लु’ दिन चाहन्छु– कतै यो ‘हनिट्र्याप’ त होइन?
मैले सुनेको छु– नेपालमा यस्ता स्त्रीहरू छन्, जसले अमेरिका बस्ने ३० जनाभन्दा बढी धनवान् नेपालीविरुद्ध ‘हनिट्र्याप’को जालो थापेका छन्। मुद्दा मामिलै छ। एउटा सञ्चारकर्मीका हिसाबले मलाई यसको ‘कन्सिक्वयन्स’ राम्ररी थाहा छ। बुझेरै भन्दै छु– सक्नुहुन्छ भने खोज्नुस् सञ्चारकर्मी साथीहरू!
आत्महत्या रमिताको विषय होइन।
Shares
प्रतिक्रिया