हामी २ वर्षे स्नाताक (ब्याचलर्स) पढेर आएका हौँ। २०५३/०५४ तिर ३ वर्षे स्नातक सुरु भयो। मानविकी संकायमा स्नातक तहलाई ०७५/७५ बाट ४ वर्षे बनाइयो।
मानविकीमा ४ वर्षे स्नताक बनाउँदा कति अध्ययन गरियो? त्यसको आवश्यकता थियो कि थिएन? यो छुट्टै पाटो होला। तर, ४ वर्षे स्नातक सुरु गर्दा हाम्रो अपेक्षा थियो– कम्तीमा अन्तर्राष्ट्रिय स्तरमा मान्यता प्राप्त गर्न सक्ने खालको पाठ्यक्रम बनाउनुपर्छ।
अमेरिकालगायत कतिपय विकसित मुलुकमा पाठ्यक्रम ४ वर्षे भएकाले हाम्रा विद्यार्थीहरूलाई पनि अन्तर्राष्ट्रिय बजारमा उनीहरूसँगै प्रतिस्पर्धी बनाउनुपर्छ भन्ने उद्देश्यले ४ वर्षे स्नातक कार्यक्रम सुरु गरिएको हो।
४ वर्षे स्नातक कार्यक्रमले विद्यार्थीको थप समय लगानी हुने कुरा स्वाभाविकै भयो। विद्यार्थीले समय लगानीसँगै अभिभावकले पनि १ वर्ष बढी आर्थिक लगानी व्यहोर्नुपर्ने बाध्यता भनौँ वा आवश्यकता रह्यो।
जतिबेला ४ वर्षे स्नातक सुरु गरियो, त्यतिबेला यो यति ठूलो विषय बनेको थिएन। पछिल्ला दिनहरूमा विद्यार्थीले ‘अर्निङ एन्ड लर्निङ’ सँगै जोड्न खोजेको अवस्था छ। विश्वका धेरै राम्रा विश्वविद्यालयमा ३ वर्षे स्नातक पठनपाठन हुँदै आएको छ। उदाहरणका लागि हाम्रो छिमेकी राष्ट्र भारतकै सन्दर्भलाई लिन सकिन्छ।
यो सबै कुरा हेर्दा हामीले ४ वर्षे स्नातकको औचित्य पुष्टि गर्न सकेनौँ कि जस्तो लाग्छ। किन चाहियो त ४ वर्षे कार्यक्रम? केका लागि? ३ वर्षे हुँदा विद्यार्थीको समय पनि बचत हुने, लागत पनि बचत हुने अनि विद्यार्थीहरू तुरुन्तै पढाइपछि उत्पादनमा जोडिन सक्ने हुनाले हामीले सबै कार्यक्रम होइन, निश्चित कार्यक्रमलाई ३ वर्षेमा लैजाँदा सार्थक हुन्छ कि भनेर विश्वविद्यालयभित्र बहस सुरु गरेका छौँ। निष्कर्षमा पुगिसकेका छैनौँ।
रोकिएलान् विदेशिने विद्यार्थी?
कोभिडपछिका दिनमा सेमेस्टरलाई छोडेर वार्षिक प्रणालीको नतिजा आउन ढिलासुस्ती भयो। त्यसले विद्यार्थीलाई लाग्न थाल्यो– ४ वर्षको ब्याचलर्स सक्न ५ वर्ष वा साढे ५ वर्ष लाग्छ। अर्कोतिर, सँगै भर्ना भएका विद्यार्थी बाहिर गएर पढ्नेले मास्टर्स सक्ने बेलासम्म पनि यहाँको विद्यार्थीको ब्याचलर्स नै बाँकी रहने अवस्था भयो। किनकि, विदेशमा ३ वर्षे ब्याचलर्स र १ वर्षे मास्टर्स गरेर ४ वर्षमै मास्टर्स तह सक्ने अवस्था पनि छ। यसरी विद्यार्थीले समयलाई पनि हेरेको छ, लागतलाई पनि हेरेको छ। तुरुन्तै उत्पादनमा जोडिने कुरालाई पनि हेरेको छ। यी सबै कुरालाई हेरेर पनि विद्यार्थी विदेशिने क्रम बढेको छ।
३ वर्षे स्नातक लागू गराउन सकियो भने विद्यार्थीमा सकारात्मक मनोभावना जागृत गराउन सकिन्छ भन्ने अनुमान हो। तर, पाठ्यक्रम ३ वर्षको बनाउँदैमा विद्यार्थी स्वदेशमा अडिन्छन् भन्ने होइन। हामीले परीक्षा कति समयमा गर्न सक्छौँ, शैक्षिक पात्रो कसरी पालना गर्छौँ, समयमा नतिजा दिन सक्छौँ कि सक्दैनौँ? यति मात्र होइन, हामीले पढाउने पाठ्यक्रम समसामयिक छन् कि छैनन्, हामीले समय सान्दर्भिक पाठ्यक्रम पढायौँ कि पढाएनौँ, पढाएको पाठ्यक्रमले विद्यार्थीलाई प्रत्यक्ष उत्पादनसँग जोड्न सक्छ कि सक्दैन? अथवा उनीहरू स्वयम् रोजगारी सिर्जना गर्न सक्छन् कि सक्दैनन् भन्ने कुराले यसमा निर्णायक भूमिका खेल्छ।
४ वर्षे स्नातक कार्यक्रम सुरु हुनासाथ विद्यार्थीको संख्या घटेको होइन। ४ वर्षे भएर विद्यार्थीको उत्तीर्ण दर बढेको पनि होइन। वार्षिक प्रणालीमा हामीले हेर्यौँ भने देखिन्छ, पहिलो र दोस्रो दोस्रो वर्षमा विद्यार्थी अलि धेरै ड्रपआउट हुने देखिन्छ। तेस्रो र चौथो वर्षमा गएपछि उत्तीर्ण प्रतिशत बढेको देखिन्छ। सेमेस्टर प्रणालीमा नतिजा उत्कृष्ट छ। व्यवस्थापन संकायको कुरा गर्ने हो भने ९० प्रतिशतभन्दा धेरै विद्यार्थी उत्तीर्ण छन्।
सबैभन्दा बढी गुनासो हामीले समयमा काम गर्न नसकेकोमा छ। अर्को १ वर्ष धेरै किन पढ्ने, त्यसलाई हामीले पुष्टि गर्न नसकेको हो कि भन्ने मलाई लाग्छ।
३ वर्षे नै गर्दा पनि यही पाठ्यक्रमलाई घटाउने कि परिमार्जन गर्ने भन्ने मुख्य कुरा हो। अहिलेको अवस्थामा विश्वविद्यालयले हाम्रा विद्यार्थीलाई समुदायसँग, उद्योगसँग, उत्पादनसँग जोड्न सकेन भने ३ वर्षे, ४ वर्षे जतिसुकै वर्षको पाठ्यक्रम बनाए पनि त्यसले काम गर्नेवाला छैन। नयाँ उपकुलपति नियुक्त भएपछि उहाँले यो विषय उठाउनु पनि भएको छ। योभन्दा अगाडि पनि यो विषय उठेकै हो।
अब गर्नुपर्ने काम
सबै विषयहरूलाई एकै ठाउँमा राखेर हुँदैन। हामीसँग अध्ययन संस्थान पनि छन्, संकाय पनि छन्, अनि हाम्रा आफ्ना विषयका आफ्ना विशेषता पनि छन्। ४ वर्षे स्नातक सञ्चालन गर्नेले पनि कसरी गर्ने, सोच्नुपर्नेछ। थ्री प्लस वान गर्ने हो कि! ३ वर्ष पढाएर १ वर्ष विद्यार्थीलाई इन्टर्नमा राख्ने हो कि? अथवा, हामीले उद्योगसँग, रोजगारीसँग विद्यार्थीलाई जोडेर त्यसका आधारमा कामको अनुभव लिएर त्यहाँको प्रोजेक्ट विस्तार गरेर जाने पनि एउटा विकल्प हुन सक्छ। टु प्ल टु, टु प्ल वान नै पनि हुन सक्छ। आधा समय पढाएर आधा समय फिल्डमा लैजाने हो कि! के गर्दा हाम्रा विद्यार्थीले अनुभव पनि सँगाल्न सक्छन्, आर्थिक उपार्जनसँग पनि जोडिन सक्छन्, अलिकति अन्तर्राष्ट्रिय स्तरको पठनपाठन गर्न सक्छन् भन्ने पनि हामीले हेर्नु जरुरी छ।
अहिले हामी ग्लोबल सिटिजन उत्पादन गर्ने भन्छौँ। विश्वव्यापीकरणको यस युगमा अबको जनशक्ति यही देशका लागि भनेर मात्रै हुँदैन। हामी डब्ल्यूटीओको सदस्य भएका छौँ। बाहिरका पनि आउँछन्, यहाँका पनि बाहिर जान्छन्। तर, हामीले पठायौँ मात्रै, भित्र्याउन सकेनौँ, हाम्रो विडम्बना त्यो हो। यस्तो स्थितिमा हामीले त्यही सेलेबस दिन सके हाम्रा विद्यार्थी यहीँ बस्ने थिए कि?
कतिपय विषय हामीकहाँ पढाइ नहुने भएकाले पनि विद्यार्थी बाहिर गइरहेका छन्। केके विषय पढाइ भयो भने हाम्रो मुलुक पनि एजुकेसन हब बन्न सक्छ भन्ने अध्ययन गरेर अध्यापन सञ्चालन गर्नेतर्फ ध्यान दिनुपर्यो। राज्यसँग हामीले उत्पादित जनशक्तिलाई कहाँकहाँ प्रयोग गर्ने हो भनेर लबिङ गर्नुपर्यो। विद्यार्थीलाई पढाइपछि रोजगारी सिर्जनाको सुनिश्चितता गर्नुपर्यो।
सामूहिक चिन्तनमन्थन गरेर अगाडि गयौँ भने पाठ्यक्रम निर्माण, त्यसपछिको रोजगारी, त्यसपछिको उत्पादन भयो भने मात्रै हाम्रो उत्पादित जनशक्तिलाई विकाससँग जोड्न सक्छौँ। उत्पादित जनशक्तिलाई स्वदेशमा फर्काउन सक्छौँ। विश्वविद्यालयका पाठ्यक्रमका सान्दर्भिकता पनि पुष्टि गर्न सक्छौँ।
४ वर्षे स्नातकका फाइदा र बेफाइदा
हामीले ४ वर्षे स्नातकमा केही नयाँ कोर्सहरू पढायौँ। पहिला प्रोजेक्ट वर्क थिएन। विद्यार्थीको इन्टर्नसिपको व्यवस्था थिएन। ती अवसर विद्यार्थीले पाए। बाहिर जाँदा पनि ४ वर्षे स्नातक पढेको भनेपछि जहाँ ४ वर्षे ब्याचलर्स कार्यक्रम छन्, त्यहाँ उनीहरूले सजिलै पहुँच पाए।
कमजोरी कहाँनेर भयो भने ४ वर्षेबाट हामीले जे अपेक्षा गरेका थियौँ, त्यसको पठन, विधि, प्रक्रियामा हामी कतै चुक्यौँ। हामीले हाम्रा विद्यार्थीलाई उद्योगधन्दासँग, रोजगारीसँग, अथवा उनीहरूलाई आत्मनिर्भर हुने गरी उद्यमशीलतासँग जोड्न सकेनौँ। विद्यार्थीलाई रिसर्चसँग जोड्न सकेनौँ कि, अन्तर्राष्ट्रिय बजारमा जुन तहको प्रतिस्पर्धी हुनुपर्ने हो, त्यो बनाउन सकेनौँ कि भन्नेजस्ता प्रश्न उठेका छन्। ती प्रश्नको सेरोफेरोमा रहेर हामीले अब कता जाने भनेर हेर्यौँ भने अबको बाटो त्यहीँबाट निकाल्न सक्छौँ।
जतिबेला ३ वर्षे स्नातकलाई ४ वर्षे बनाइयो, त्यतिबेलाको उद्देश्य थियो– अन्तर्राष्ट्रिय बजारमा हाम्रा विद्यार्थीको सहज पहुँच होस्, मास्टर्स डिग्री पढ्न पनि ४ वर्षे ब्याचलर्स नभएका कारणले अप्ठ्यारो नहोस्। त्यो उद्देश्य हासिल पनि भएको छ। तर, त्यो मात्रै आवश्यक हो कि होइन? ३ वर्षे ब्याचलर्स गरेका विद्यार्थीले पनि अन्तर्राष्ट्रिय स्तरमा राम्रै ठाउँमा पहुँच प्राप्त गरेका छन्। राम्रो युनिभर्सिटी पढ्न पाएका छन् भने किन ४ वर्षे चाहियो त भनेर अहिले फेरि ३ वर्षे बनाउने कुरा उठेको हुन सक्छ।
अहिले यो विषय छलफलकै चरणमा छ। सबै ठाउँमा ३ वर्षे वा ४ वर्षे कार्यक्रम सान्दर्भिक नहुन सक्छ। कुन विधामा कति वर्षे गर्दा सान्दर्भिक हुन्छ, त्यसको अध्ययन हुनुपर्छ। यी दुवैका राम्रा र नराम्रा पक्षको अध्ययन हुँदै छ। ४ वर्षे कार्यक्रम ३ वर्षे भयो भने किन भयो भनेर चित्तबुझ्दो जवाफ दिनुपर्छ। अहिले सम्भावित प्रश्नको जवाफमाथि पनि काम भइरहेको छ।
(प्रा. डिल्लीराज शर्मा त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायका डिनसँग राधिका अधिकारीले गरेको कुराकानीमा आधारित)
Shares
प्रतिक्रिया