करिब दुई सय देशमा फैलिएको कोरोना महामारीबाट कोही अछुतो छैन। कोही धेरै, कोही थोरै होलान् तर सबै देश कुनै न कुनै रुपमा प्रभावित छन्। नेपाल पनि कोभिड—१९ (कोरोना भाइरस) महामारीको एक अंश भइसकेको छ। हामी शुरुवाती अवस्थामा छौं तर जोखिम र प्रकोपबाट मुक्त छैनौं। कुन तहसम्म प्रभावित हुन्छौं भन्ने पूर्वानुमान गर्न सक्ने अवस्था पनि छैन। तर सबैभन्दा खराब परिस्थिति कसरी सामना गर्नेसम्मको योजना र तयारी गर्नैपर्छ। नेपालमा कोरोना महामारी कुन अवस्थासम्म पुग्छ भनेर कुनै एउटा विषयले निर्धारण गर्दैन, त्यसका धेरै पक्षहरु छन्।
विगतभन्दा स्वास्थ्य क्षेत्र राम्रो भएको छ। हिजोभन्दा आज तयारी पनि राम्रो छ। यसको मतलव हामी पूर्ण तयार छौं भन्ने होइन। अहिलेसम्म छलफल भएको एउटा स्वास्थ्य क्षेत्रको मात्रै हो। परीक्षण किट यथेष्ठ पाएनौं, आवश्यक स्थानमा पीपीइ पर्याप्त रुपमा पुगेन भन्ने विषय स्वास्थ्य तयारीका हुन्। हाम्रा स्वास्थ्य संरचनाहरूले पहिलेदेखि नै चाप सामना गर्दै आएका हुन्। तिनले दैनिक समस्या समाधान गर्न नसकेको यथार्थ हो। पर्याप्त एम्बुलेन्स नै नभएको साँचो हो। यही अवस्थामा यत्रो ठूलो प्रकोप थपिएको छ। अब झन् पुग्ने अवस्था छैन।
कोरोना महामारीबाट छुटकरा पाउन स्वास्थ्य क्षेत्रको तयारी जरुरी छ। तर यो एउटा मात्र पाटो हो। हामीले लकडाउन गर्नुअघि र गरेपछि दुई फरक अवस्था अनुभव गरेका छौं। यी दुई फरक चरण पनि हुन्। यो फरक अवस्थामा तयारी पनि फरक हुनुपर्छ। स्वास्थ्यमा जे तयारी गरिरहेका छौं त्यसलाई निरन्तरता दिनु पर्छ नै। त्यो बाहेक अन्य विषयमा पनि तयारी उत्तिकै जरुरी छ।
सरकारले एक साता लकडाउनको घोषणा गरेको छ। तर अन्य देशहरुको अवस्था हेर्दा एक सातामै खुल्छ भन्ने होइन। भारतले तीन साताको लकडाउनको घोषणा गरेको छ। अन्य देशहरुले लकडाउनको अवधि बढाएर नियन्त्रणमा लिने प्रयास गरिरहेका छन्। लकडाउन जुन तयारी र योजनाका साथ गरियो। ब्रेक डाउनको पनि योजना हुनुपर्छ। लामो समयसम्म पनि एक वा दुई जनामा फाटफुट रुपमा देखिरह्यो भने के गर्ने? लकडाउनलाई निरन्तरता दिने वा खोल्ने? त्यसको योजना हुनुपर्छ।
अहिलेसम्म अपवाद बाहेक सबैले सरकारले गरेको घोषणा स्वीकार गरेर घरमै बसेका छन्। दुई दिन हुँदै मानिसमा छटपटी र अप्ठ्यारो शुरु भइसकेको छ। समय लम्बिदा यो झनै कष्टकर हुनेछ। त्यसका लागि सरकारले सहज बनाउन तयारी पनि गर्नुपर्ने हुन्छ। दुई साताको सट्टा तीन साता बस्नु पर्ने हुनसक्छ। त्यस्तो अवस्थामा खानेकुरा र अन्य अत्यावश्यक वस्तुको आपूर्ति घरघरमै कसरी गर्ने? मन्त्रीले घरघरमै पुर्याइदिनु भनेका छन्। तर मानिसले पत्याएका छैनन्। सरकारले आम मानिसलाई आश्वस्त तुल्याउन आवश्यक छ। त्यसैले अहिलेसम्म संक्रमित व्यक्ति वा तिनले जोखिम पार्न सक्ने व्यक्तिको व्यवस्थापन गर्दा मात्रै पुग्थ्यो। अब पूरै देशका नागरिकको व्यवस्थापन गर्नुपर्ने हुन्छ। अहिलेसम्म स्वास्थ्य क्षेत्रको मात्र व्यवस्थापन गरे पुग्थ्यो अब सबै क्षेत्रको व्यवस्थापन गर्नुपर्ने हुन्छ। आम मानिसले असहज महसुस हुने अवस्था आयो भने यो महामारी रोक्ने प्रयास सफल हुने छैन।
लक डाउनको घोषणा भनेको सोसल डिस्टान्सिङको व्यवस्थित रुप हो। अहिले खाद्यान्न लगायत अत्यावश्यक वस्तुहरुका लागि पसल खोल्न दिइएको छ। पसलमा पनि एक प्रकारको सोसल डिस्टान्सिङ व्यवस्था हुनुपर्छ। घरमा दिनभर बस्ने तर पसलमा जाँदा भीडभाड गरेर जाने हो भने लकडाउनको खासै अर्थ हुँदैन। त्यसैले मानिसलाई फरक—फरक समयमा सामान किन्ने व्यवस्था मिलाउनु पर्छ। एकै पटक धेरै मानिस आए भने पनि निश्चित दूरीमा लाइनमा राखेर बिक्री गर्नु उपयुक्त हुन्छ। यस विषयमा पसलेहरुलाई सरकारले स्पष्ट रुपमा बुझाउन सक्नुपर्छ। विभिन्न देशमा यो अभ्यास भइरहेको छ। पसलका सामानालाई धेरैले स्पर्श गर्न सक्नेगरी राख्नु पनि हुँदैन। पसलेले पनि उत्तिकै सतर्कता अपाउनु पर्छ।
ट्राफिकमा पनि त्यस्तै गर्नुपर्छ तर त्यस्तो गरेको देखिएन। जुन जुन कार्यालय खुला रहेका छन् त्यहाँ पनि एक अर्काबीच निश्चित दुरी कायम हुने विषय सुनिश्चित गरिनु पर्छ। तर मानिस झुरुप्प भएर एकै स्थानमा बसेको देखिन्छ। यसले समस्याको खासै समाधान गर्दैन। दुई साता क्वारेन्टिनमा बसे पनि संक्रमित हुन १५ मिनेट पनि लाग्दैन।
विगत र अहिलेको प्रकोपमा धेरै अन्तर छ। भूकम्प हुँदा निश्चित भूभाग मात्रै प्रभावित भएको थियो। भूकम्पको समयमा भारत र चीनसहित विश्वले सहयोग गरेका थिए। अहिलेको अवस्था त्यस्तो छैन। भारत आफैँ संकटसँग लडिरहेको छ। चीनले महामारीलाई नियन्त्रण राख्दै गरेर भर्खर अरुलाई सहयोग गर्न शुरु गर्दैछ। विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले गर्ने भनेको प्राविधिक सहयोग मात्रै हो। यो संस्थाले न चिकित्सक पठाउन सक्छ, न औषधि वा अन्य मेडिकल उपकरण दिन सक्छ।
अहिलको संकट नेपालमा मात्र होइन संसारभर छ। त्यसैले पहिलेका विपत्तिहरु जस्तो यस पटक बाह्य सहयोग आउँछ भन्ने ठान्नु हुँदैन। त्यसैले यो हामी आफैँले लड्नु पर्ने संघर्ष हो। अहिलेको संकटमा गैर सरकारी संस्थाहरु जुन रुपमा सक्रिय हुनुपर्ने थियो त्यो नभएको देखिन्छ। यस्तो समयमा नागरिक समाज पनि अघि आउनु पर्छ। गैर सरकारी क्षेत्रबाट केही कोष स्थापना भएको देखिन्छ तर जुन रुपमा सहयोग हुनुपर्ने हो त्यो भएको देखिँदैन।
(डा शरद वन्त जनस्वास्थ्यविद् हुन्।)
प्रतिक्रिया