नेपाली कांग्रेसका नेता प्रदीप गिरिको स्वास्थ्य अवस्था गम्भीर बनेको छ। भारतको मुम्बईस्थित हिन्दुजामा उपचाररत नेता गिरिको स्वास्थ्य अवस्था गम्भीर बनेको हो।
उनी एक साता अगाडि स्वास्थ्योपचारका लागि मुम्बई गएका थिए। नेता गिरिको स्वास्थ्य अवस्था गम्भीर बनेपछि उपसभापति विमलेन्द्र निधि पनि मुम्बई जाँदै छन्।
उपसभापति निधि बिहीबार गृहजिल्ला धनुषाको जनकपुरबाट मुम्बई जाने तयारीमा रहेको उनका प्रेस सल्लाहकार रामजी दाहालले जानकारी दिए।
उनका अनुसार मुम्बईतर्फ जान उपसभापति निधि बिहीबार बिहान काठमाडौंबाट जनकपुर गएका हुन्।
‘विमल दाइ बिहान जनकपुर जानुभएको छ। त्यहाँबाट बसमा बिहारको दरभंगा जानुहुन्छ,’ दाहालले नेपालखबरसँग भने, ‘बेलुकाको उडानबाट मुम्बई पुग्नुहुन्छ। भोलि (शुक्रबार) मात्रै उहाँको भेट प्रदीप दाइसँग हुन्छ।’
नेता गिरि उपचारका लागि मुम्बई जानुअघि पनि दुई नेताबीच भेट भएको थियो। गिरिको घाँटीमा समस्या देखिएको दाहालले बताएका छन्।
‘प्रदीप दाइको घाँटीमा समस्या देखिएको छ। विभिन्न परीक्षण गराइएको छ, भोलिमात्रै रिपोर्ट आउने खबर आएको छ,’ उनले भने, ‘रिपोर्ट आएपछि स्वास्थ्य अवस्थाका बारेमा थप जानकारी आउला।’
Shares
प्रतिक्रिया