माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत (समाजवादी) निकट अनेरास्ववियुले गृहमन्त्री बालकृष्ण खाँणको पुत्ला जलाएको छ।
सोमबार दिउँसो मिनभवनस्थित कमर्श क्याम्पसबाट प्रदर्शनमा उत्रिएको सत्तारुढ समाजवादीनिकट विद्यार्थीले गृहमन्त्रीको पुत्ला जलाएका हुन्।
खाँणको गृहमन्त्रीबाट राजीनामा माग्दै उनीहरुले सडकमा निस्किएर पुत्ला पनि जलाएका छन्।
त्यसक्रममा विद्यार्थीहरुले अमेरिकी परियोजना एमसीसी खारेज र भारतीय सुरक्षाकर्मीबाट हत्या गरिएका जयसिंह धामीलाई न्याय दिनुपर्नेलगायत नारा लगाएका थिए।
प्रदर्शनका क्रममा तैनाथ प्रहरीले बल प्रयोग गरेको थियो। त्यसक्रममा केहीबेर घम्साघम्सी चलेको थियो।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र अमेरिकी सहायता परियोजना (एमसीसी) विरुद्ध बोलेमा कारबाही गर्ने चेतावनी शुक्रबार र आइतवार गृह मन्त्रालयले दिएको थियो।
अनेरास्ववियुले नै शुक्रबार भारतीय प्रधानमन्त्री मोदीको पुत्ला जलाएका थिए। त्यस्तै एमसीसीविरुद्ध पनि अन्य समूहले प्रदर्शन चर्काइरहेका छन्।
Shares
प्रतिक्रिया