राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले देशमा विदेशी हस्तक्षेप बढेको बताएका छन्।
देश लुट्न देशी र विदेशी शक्तिहरू सक्रिय रहेको दाबी उनले गरेका हुन्। तसर्थ त्यसविरुद्ध सबै एकजुट भएर लड्नुपर्ने उनले बताए।
अनेरास्ववियु छैटौं (रुपन्देही) को शनिबार बुटवलमा सम्पन्न १९औं जिल्ला सम्मेलन उद्घाटनमा अध्यक्ष केसीले राष्ट्र र जनतालाई केन्द्रमा राखेर काम गरे मात्र देश बन्ने बताए।
अध्यक्ष केसीले देश बनाउन विद्यार्थीले सही प्रकारको राजनीति बुझ्नुपर्ने बताए। अहिलेको शिक्षा प्रणाली नै बेठीक भएको बताउँदै उनले मानिस व्याक्तिवादी र स्वार्थी बन्नमा अहिलेको यो शिक्षा प्रणाली दोषी रहेको धारणा राखे।
विद्यार्थीले राजनीति सिके÷बुझेमा आजका विद्यार्थी भोलिको असल र स्वाभिमान नेपाली बन्न सक्ने अध्यक्ष केसीको तर्क छ। उनले भ्रष्टाचार, शोषण दमन, अन्यायको अन्त्यका लागि पनि विद्यार्थी राजनीतिबाट टाढा हुनै नहुने बताए।
अखिल छैटौंका केन्द्रीय उपाध्यक्ष देवेन्द्र कुँवरले नेपालको शिक्षा प्रणालीमा आमूल परिवर्तन आवश्यक रहेको बताए। अहिलेको शिक्षा प्रणालीको अन्त्य गरी वैज्ञानिक र जनवादी शिक्षा प्रणाली आवश्यक रहेको बताउँदै विद्यार्थी देशको सचेत वर्ग भएकाले विद्यार्थीलाई सही प्रकारको राजनीतिमा सामेल गराउनुपर्नेमा उनले जोड दिए।
१९औं जिल्ला सम्मेलनबाट सागर बेल्वासेको अध्यक्षतामा ११ पूर्ण र ४ वैकल्पिक गरी १५ सदस्य अखिल छैटौं रुपन्देही गठन गरिएको छ। जसको उपाध्यक्ष कुलचन्द्र शर्मा, सचिव मिलन परियार, सहसचिव टेकराज भुसाल, कोषाध्यक्ष विमल खरेल निर्वाचित भएका छन्।
Shares
प्रतिक्रिया