नेकपा एमालेको सुदूरपश्चिम प्रदेश इन्चार्जका विषयमा उठेको विवाद चर्किंदै गएको छ। उपाध्यक्ष समेत रहेका भीम रावल र नेता लेखराज भट्ट दुवैले सो पदमा दाबी गरिरहेका छन्।
दुई नेताबीचको टक्करको कार्यकर्ता भने अलमलमा परेका छन्।
लेखराज भट्ट र भीम रावल केही दिनअघि सुदूरपश्चिम आएका थिए। विभिन्न कार्यक्रममा बोल्दै उनीहरुले कार्यकर्तालाई आफू नै इन्चार्ज भएको बताएका थिए।
प्रेस चौतारी कञ्चनपुरले केही दिनअगाडि महेन्द्रनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा लेखराज भट्टले अध्यक्ष ओलीले बालकोट बोलाएर भीम रावल, कर्ण थापा लगायतसमक्ष आफूलाई प्रदेशको इन्चार्ज तोकेको दाबी गरेका थिए।
‘अध्यक्ष कमरेडले मलाई इन्चार्ज र कर्ण थापालाई अध्यक्षको जिम्मेवारी दिनु भएको हो। उहाँ (भीम रावल) लाई उपाध्यक्षका हैसियतले कार्यदलको नेतृत्व गरेर समस्या समाधान गर्न भन्नु भएको थियो,’ भट्टले भने, ‘जेठ २ मा हुबहु जान सकिन्न। एकीकरणको भावलाई समेटेर लैजानु पर्छ।’
ओली आफूलाई इन्चार्जको जिम्मेवारी सम्हाल्न निर्देशन दिइसकेकाले यसबारे कुनै विवाद नरहेको उनको दाबी थियो। भीम रावलसँग आफ्नो कुनै मतभेद नरहेकाले सहकार्य गरेर अगाडि बढ्ने उनले बताए।
तर, रावलले भने प्रदेश इन्चार्जको विषयमा पार्टीमा कुनै निर्णय नभएको दाबी गरेका छन्। जेठ २ को पार्टी संरचना फर्किने क्रममा रहेकोले आफू नै सुदूरपश्चिम प्रदेशको इन्चार्ज रहेको उनको जिकिर छ।
‘पार्टीले जिम्मेवारी हेरफेर गर्ने कुनै निर्णय गरेको छैन। कार्यदल गठन भएको छ, सहजकर्ता तोकिएको छ,’ उनले अछाममा कार्यकर्ता समक्ष भनेका, ‘बालकोटमा भएको छलफलमा को इन्चार्ज के भन्ने विषयमा कुनै छलफल भएको होइन।’
भट्ट र रावलबीच व्यक्तित्वको टकरावले समस्या बढेको एमालेका एक नेताले बताए।
‘दुवै सुदूरपश्चिमका प्रभावशाली नेता हुन्। प्रदेशको राजनीतिलाई आफ्नो वरिपरि घुमाउन खोज्छन्,’ ती नेताले भने, ‘उहाँहरु एकै ठाउँमा भएकाले टक्कर परेको हो।’
रावल र भट्ट सुदूरपश्चिमबाट केन्द्रीय राजनीतिमा प्रभाव जमाएका प्रमुख कम्युनिष्ट नेता हुन। कैलालीका भट्ट माओवादी पृष्ठभूमिबाट राजनीतिमा उदाएका थिए।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) का विश्वास पात्र मानिने भट्ट वि.सं. २०६३ देखि माओवादी केन्द्रको सुदूरपश्चिम प्रदेश इन्चार्ज थिए।
सशस्त्र द्वन्द्वमा भट्टको माओवादीभित्र प्रभावकारी नेताको छाप थियो। नेता कार्यकर्ताले माओवादी केन्द्र सुदूरपश्चिमको ‘कमान्डर’ नै मान्दथे, भट्टलाई।
यस्तै एमालेको सुदूरपश्चिम प्रदेशको नेतृत्व भीम रावलले गर्दथे। एमालेका उपाध्यक्ष समेत रहेका रावल सुदूरपश्चिमको इन्चार्ज (संयोजक) थिए। अछामका रावलले राष्ट्रवादी नेताको छवि बनाएका थिए।
वि.सं. २०७५ जेठ ३ गते माओवादी केन्द्र र नेकपा एमालेबीच एकीकरण हुँदा सुदूरपश्चिमका यी दुई प्रभावशाली नेता एउटै ठाउँमा नेकपामा पुगे। नेकपा हुँदा सुदूरपश्चिमको इन्चार्ज रावललाई बनाइयो।
तर, त्यो निर्णय लेखराज भट्टलाई चित्त बुझेन। उनले प्रचण्डलाई निर्णय सच्याएर आफूलाई इन्चार्ज बनाउन पहल गर्न आग्रह गरे। लेखराजको आग्रह प्रचण्डले मानेनन् र रावललाई नै इन्चार्ज बनाउनेमा सहमति जनाए।
लेखराज आफूलाई इन्चार्ज बनाउन प्रचण्डले सहयोग नगरेपछि उनीबाट टाढिएर केपी शर्मा ओलीसंग नजिकिन थाले। तत्कालीन नेकपाको ध्रुवीकरणमा भट्ट ओली समूहमा लागे।
अदालतले एमाले र माओवादी केन्द्र ब्युँताइदिउपछि भट्ट माओवादी केन्द्रमा फर्किएनन्। उनले एमालेमै रहने निर्णय गरे।
त्यसपछि भट्ट तुरुन्तै एमाले अध्यक्ष केपी शर्मा ओलीबाट पुरस्कृत पनि भए। ओलीले २०७७ फागुन २८ मा भीम रावललाई हटाएर उनलार्ई सुदूरपश्चिम प्रदेशको इन्चार्ज बनाए।
तत्कालीन नेकपा एमालेको माधव समूह निकट रहेका रावल ओलीको विरुद्धमा थिए। तर, माधवकुमार नेपालको नयाँ पार्टी खोल्ने निर्णयमा रावलले साथ दिएनन्। भदौ ८ गते माधव कुमार नेपालको साथ छोडेर उनी निकट रावल सहित ९ जना नेताले एमालेमै बस्ने निर्णय गरे।
Shares
प्रतिक्रिया