ad ad

राजनीति


सरकारले बालबालिकाका लागि १ करोड डोज कोरोना खोप किन्ने

सरकारले बालबालिकाका लागि १ करोड डोज कोरोना खोप किन्ने

नेपालखबर
कात्तिक २३, २०७८ मंगलबार ८:०, काठमाडौँ

सरकारले बालबालिकाको लागि कोरोना भाइरसविरुद्धको एक करोड डोज खोप खरिद गर्ने निर्णय गरेको छ। 

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले १२ वर्षदेखि माथिका बालबालिकालाई लगाउन मिल्ने एक करोड खोप खरिद गर्ने निर्णय गरेको हो। 

बैठकपछि स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले बालबालिकाको लागि एक करोड डोज खोप खरिद सुनिश्चित भएको जानकारी दिए। ‘खोप खरिदका लागि मन्त्रिपरिषदबाट पास गर्नुपर्ने भएकाले सोमबार बसेको मन्त्रिपरिषद् बैठकले यस विषयमा आवश्यक निर्णय लिएको हो,’ मन्त्री खतिवडाले भने।

स्वास्थ्यमन्त्री खतिवडाले ६० लाख फाइजर खोप र ४० लाख मोर्डना खोप खरिदका लागि मन्त्रिपरिषद्ले निर्णय गरेको जानकारी दिए। 

सरकारले खोप खरिदका लागि रकमसमेत भुक्तानी गरिसकेको छ। मोर्डना र फाइजर खोप १२ वर्षदेखि माथिका मानिसलाई लगाउन सकिन्छ। कोभिडविरुद्धको खोप फाइजर तथा मोर्डना खोप भण्डारण गर्न मिल्ने फ्रिज यसअघि नै नेपाल आइसकेको मन्त्रालयले जनाएको छ। 

कोभ्याक्स सुविधाअन्तर्गत उपलब्ध फ्रिज युनिसेफमार्फत यसअघि नै नेपाल आएको हो । यो फ्रिजमा माइनस ८० डिग्री सेल्सियस तापक्रमसम्मका खोप भण्डारण गर्न सकिने स्वास्थ्य मन्त्रालयले जनाएको छ। फाइजर खोप माइनस ७० डिग्री सेल्सियस तापक्रममा भण्डारण गर्नुपर्ने हुन्छ। 

नेपालमा हालसम्म कोभिसिल्ड, भेरोसेल, एस्ट्राजनिका, जोन्सन एन्ड जोन्सनलगायतका खोप आएका छन् । ती खोपहरू दुईदेखि आठ डिग्री सेल्सियसमा भण्डारण गर्न सकिन्छ ।

सरकारले आउँदो चैतभित्र सबै नागरिकलाई कोरोनाविरुद्धको खोप लगाइसक्ने लक्ष्य लिएको छ। नेपालमा कारोनाविरुद्धको खोप अभियानले सफलता पाउँदै गएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .