ad ad

राजनीति


सुदूरपश्चिममा बलियाे बन्दै लेखराज, पकड गुमाउँदै भीम रावल

सुदूरपश्चिममा बलियाे बन्दै लेखराज, पकड गुमाउँदै भीम रावल

गोकुल जोशी
कात्तिक २८, २०७८ आइतबार १८:५०, महेन्द्रनगर

नेकपा (एमाले) विभाजनमा माधव कुमार नेपालको साथ छोडेर एमालेमै रहेका उपाध्यक्ष डा. भीम रावल चेपुवामा परेका छन्। एमाले विभाजनले सुदूरपश्चिममा रावलको शक्ति कमजोर बन्दै गएको छ। 

एमाले विभाजनपछि उनका विश्वासपात्रले धमाधम साथ छोडेर नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)मा गएपछि रावल एक्लिँदै गएका छन्।

उता, माओवादी केन्द्रबाट आएका ‘एमाले सुदूरपश्चिम प्रदेश इन्चार्ज’ लेखराज भट्टले भने आफ्नो पकड बलियो बनाउँदै लगेका छन्।

१० बुँदे सहमति अनुसार सुदूरपश्चिमको इन्चार्ज नपाएको भन्दै रावल अहिले असन्तुष्ट छन्। त्यसैले उनले अहिले पार्टीको वडा, पालिका अधिवेशनमा सक्रियता देखाएका छैनन्। 

तत्कालीन नेकपाको ध्रुवीकरणबीच अध्यक्ष केपी शर्मा ओलीसँग निकट रहेर एमालेमा सामेल भएका माओवादी पृष्ठभूमिका भट्टको पकड बलियो बन्दै गएको एमालेका नेताहरु बताउँछन्। 

‘सुरुमा एमालेमा आउँदा माओवादीमा हुँदाको जस्तो पकड थिएन। लेखराज कमरेड एक्लै हुनुहुन्थ्यो। अहिले विस्तारै उहाँको पकड बढ्दै गएको छ,’ ती नेताले भने, ‘एमाले विभाजनले रावल कमरेडको शक्ति क्षयीकरण भएको छ। उहाँ आफ्नै मान्छेले साथ छोडेर एक्लिँदै जानुभएको छ।’

१० बुँदे कार्यान्वयन नभएपछि रावलले जेठ २ अघिको सुदूरपश्चिम प्रदेशको इन्चार्जको जिम्मेवारी पाएनन्। अहिले भट्टले एमाले सुदूरपश्चिम प्रदेशको इन्चार्जको जिम्मेवारी पाएका छन्।

सुदूरपश्चिम प्रदेश इन्चार्ज भट्ट, अध्यक्ष कर्ण थापा र सचिव राजेन्द्र रावलले गुटबन्दी गरेर रावललाई चेपुवामा पारेका छन्। 

अधिवेशनमा रावलले सक्रियता नदेखाउँदा इन्चार्ज भट्ट, प्रदेश अध्यक्ष थापा र सचिव रावलले आफू निकटलाई नेतृत्व दिइरहेका छन्। गाउँ–गाउँमा पुगेर पूर्व–माओवादी नेता भट्टले एमालेका कार्यकर्तालाई आफू निकट बनाउन भेटघाटमा सक्रियता देखाएका छन्। 

रावल निकट नेताहरुलाई पेलेर भट्ट र थापाले आफू निकटलाई नेतृत्व दिएको एमालेका एक नेताको दाबी छ। 

‘केपी ओलीविरुद्ध आन्दोलन गरेका र पार्टी विभाजनमा माधव नेपालको साथ छाडेर एमालेमै रहेका नेतालाई सिध्याउने खेल भइरहेको छ’, रावल निकट ती नेताले भने, ‘विरोध गरेको बदला लिन तत्कालीन अवस्थामा फरक विचार राखेका हामीलाई रोक्ने प्रयास भइरहेको सुनेका छौँ। पार्टी एकलौटी गर्ने प्रयास भइरहेकाले यो उचित होइन। हामीलाई मान्य छैन।’

पार्टी संरचनालाई जेठ २ अघिको अवस्थामा फर्काउने सहमति अध्यक्ष ओलीले कार्यान्वयन नगरेपछि रावलसँग एमालेमै रहेका उनका निकटस्थ नेताहरुले पछिल्लो समय एक पछि अर्को गरेर साथ छोडेका छन्। 

१० बुँदे सहमति कार्यान्वयन नभएपछि रावल निकट नेकपा एमाले (डडेल्धुरा) का अध्यक्ष डा. तारा जोशी सहित बहुमत जिल्ला कमिटी सदस्य केही दिन अगाडि एकीकृत समाजवादीमा प्रवेश गरेका थिए। यस्तै, एमाले केन्द्रीय सदस्य तथा बझाङका नेता भानुभक्त जोशीले पनि एमाले छोडे।

गत २४ चैतमा रावलले नै समानान्तर कमिटीको अध्यक्ष बनाएका कैलालीका दीर्घ सोडारी, कञ्चनपुरका तारालामा तामाङ र अछामका शेरबहादुर कुँवर पनि उनको साथमा छैनन्। 

अछाम निर्वाचन क्षेत्र नम्बर १ बाट विजयी रावल निर्वाचन क्षेत्रमै एक्लिएका छन्। रावल निकट निर्वाचन क्षेत्र नम्बर १ का  ६ नेताले एमाले छोडेका छन्।

राष्ट्रिय सभा सदस्य शेरबहादुर कुँवर, प्रदेश सांसद मिना कुमारी साउँद, साँफेबगर नगरपालिकाका इन्चार्ज सिलोज कुँवर, मेयर कुल बहादुर कुँवर, बिर्मलादेवी बुडथापा, चौरपाटी गाउँपालिकाका अध्यक्ष हर्क बहादुर साउदले भीम रावलको साथ छोडेर एकीकृत समाजवादीमा गएका छन्।

सुदूरपश्चिम प्रदेश सभाका रावल निकट १७ सांसदमध्ये १३ जनाले उनको साथ छोडेका छन्। अहिले उनको साथमा सभामुख सहित ४ जना मात्रै छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .