ad ad

राजनीति


‘महाधिवेशनमा भोट बढी ल्याउन केही कांग्रेस नेताले गठबन्धन हुँदैन भनेका हुन्’

‘महाधिवेशनमा भोट बढी ल्याउन केही कांग्रेस नेताले गठबन्धन हुँदैन भनेका हुन्’

बुधबार बिहान धनगढी विमानस्थलमा पत्रकारसँग कुरा गर्दै प्रचण्ड


गोकुल जोशी
मंसिर ८, २०७८ बुधबार ११:३७, काठमाडौँ

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी तीनै तहको निर्वाचनसम्मै पाँचदलीय गठबन्धन कायम रहने दाबी गरेका छन्। 

बुधबार बिहान धनगढी विमानस्थलमा पत्रकारसँग कुरा गर्दै प्रचण्डले सबैले गठबन्धन चाहेकाले चुनावसम्मै गठबन्धन कायम रहने बताएका हुन्। 

‘पाँचदलीय गठबन्धन चल्दैन, टिक्दैन कि भनेर आशंका गर्ने या भ्रम फैलाउने स्थितिको अन्त्य भइसकेको छ’, उनले भने,  ‘गठबन्धनले प्रधानमन्त्री, मन्त्री बन्न पाइएको छ, सरकार चलाउन पाइएको छ, अनि गठबन्धन टिक्दैन भन्ने  हुन्छ र! यो त मिल्ने कुरै होइन नि!’

कांग्रेसका केही नेताले महाधिवेशनमा भोट पाउन मात्रै गठबन्धन हुँदैन भन्ने गरेको उनको दाबी छ। आन्तरिक रूपमा सबैले गठबन्धन चाहेको प्रचण्डको दाबी छ। 

‘कांग्रेस महाधिवेशनमा भोट बढी आउला भनेर केही नेताले गठबन्धन हुँदैन भन्ने गरेका छन्। तर भित्री रूपमा गठबन्धन नगरी हुँदैन भन्ने ती नेताले पनि राम्ररी बुझेका छन्’, उनले भने,  ‘त्यसैले तीनै तहको निर्वाचन सम्म गठबन्धन हुन्छ, त्यसका लागि अहिले सबै दलबीच राम्रो समझदारी बनेको छ।’

पाँच दलीय गठबन्धनलाई थप बलियो बनाउन राजनीतिक संयन्त्र बनेको उनले बताए।

‘पाँचदलीय समन्वय समिति भनेर उच्चस्तरमा संयन्त्र बनाएका छौंँ। त्यो पार्टीहरू बीचको संयन्त्र हो’, उनले भने,  ‘सरकारलाई निर्देशन गर्ने, सरकारभन्दा माथि होइन।’

तत्कालै राष्ट्रिय सभामा खाली हुने १९ सिटमा गठबन्धनका दलहरू मिलेर चुनाव लड्ने नीतिगत र व्यावहारिक निर्णय नै गरिसकिएको उनले जानकारी दिए।

‘राष्ट्रिय सभाको निर्वाचनमा पाँच दलले संयुक्त उम्मेदवार बनाउने पक्का भएको छ’, अध्यक्ष प्रचण्डले भने,  ‘त्यो तालमेल आगामी अन्य चुनावका लागि बलियो आधारसमेत बन्नेछ।’
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .