नेपाली कांग्रेस रुपन्देहीको सभापतिमा रामकृष्ण खाण चयन भएका छन्। दुई कार्यकाल लगातार जिल्ला सचिव रहेका खाण आगामी ५ वर्षको लागि सर्वसम्मत रुपमा सभापति चयन भएका हुन्।
रामकृष्ण गृहमन्त्री बालकृष्ण खाणका भाइ हुन्। सभापतिसहित अरु पदाधिकारी र सदस्य पनि सर्वसम्मत गराउने जिल्लाका विभिन्न पक्षका नेताहरुबीच सहमति भएको थियो।
जसअनुसार थानेश्वर घिमिरे र अनिता शाह जिल्ला उपसभापति बनेका छन्। घिमिरे संस्थापन इतर अर्थात पौडेल पक्षबाट उमेद्वार बन्ने तयारी गरेका थिए।
सर्वसम्मत हुने भएपछि उपसभापति बस्न तयार भएका हुन्। अनिता शाह संघीय सांसद भरतकुमार शाहकी पत्नी हुन्। उनी पनि सक्रिय राजनीतिमा क्रियाशील छिन्।
क्षेत्रीय अधिवेशन सकिएपछि जिल्ला सभापति अब्दुल रज्जाकले गृहमन्त्री बालकृष्ण खाँण, संघीय सांसद भरतकुमार शाह, पूर्व जिल्ला सभापति रामचन्द्र ढकाल लगायतका नेताबीच जिल्लाको नेतृत्व सर्वसम्मत गराउने सहमति गरेका थिए।
जसअनुसार संस्थापन अर्थात देउवा पक्षले सभापति, एक सचिव र सहसचिव लिने सहमति भएको थियो।
संस्थापन इतर अर्थात पौडेल पक्षले उपसभापति, एक सचिव र एक सहसचिव लिने र भरतकुमार शाह पक्षलाई उपसभापति दिने सहमति भएको थियो।
तीन पक्षका नेताहरुबीच जिल्ला सदस्यहरुमा पनि भागवण्डा भएको छ। जिल्ला सचिव, सहसचिव लगायत कार्यसमितिहरुमा आवश्कता भन्दा बढी उमेदवारी परेकाले सर्वसम्मति प्रयास भइरहेको छ।
Shares
प्रतिक्रिया