नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले जनमतको अपमान गर्ने केपी ओलीलाई चुनावपछि जनताले देखाइदिने बताएका छन्।
उनले चुनावपछि एमालेलाई लाइट बलेर खोज्नुपर्ने पनि उल्लेख गरे।
अर्घाखाँचीको सन्धिखर्कमा एकीकृत समाजवादीको कार्यकर्ता भेलालाई शनिबार सम्बोधन गर्दै उनले ओलीले दुई पटक संसद विघटन गरेकाले बहुमत जनता एमालेको विपक्षमा रहेको दाबी गरे।
बागमतीमा भएको राष्ट्रिय सभा निर्वाचनबाट एमालेको पराजय र कलम चिन्हको जित सुरु भइसकेको पनि नेपालले बताए।
ओलीको दम्भ, घमण्ड र सर्वसत्तावादी प्रवृत्तिले केन्द्रदेखि सबै प्रदेश सरकार गुमाएको पनि उनले बताए।
संविधानको रक्षा गर्दै संसद जोगाउने शक्तिहरु निर्वाचनसम्म एकै ठाउँमा रहने दाबी गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका नेपालले निर्वाचनबाट ओली पार्टी पत्तासाफ हुने ठोकुवा गरे।
सरकारमा रहेको पाँच दलीय गठबन्धनलाई अबको राष्ट्रिय सभा, स्थानीय तह, प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा बचाएर लैजाने पनि उनले बताए।
सरकारमा रहेकासहित अन्य दलसँग पनि सुमधुर सम्बन्ध राख्दै सहमति गरेर अगाडि बढ्न उनले कार्यकर्ताहरूलाई निर्देशन दिएका छन्।
Shares
प्रतिक्रिया