लुम्बिनी प्रदेश सरकारले प्रदेशको स्थायी राजधानीको लागि संघीय सरकारसँग बजेट र जग्गा माग गरेको छ।
प्रदेश मन्त्रिपरिषदको बैठकले राजधानीको काम अघि बढाउन बजेट र जग्गा माग गरेको हो। बैठकका निर्णय सार्वजनिक गर्दै लुम्बिनी सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा सञ्चारमन्त्री तिलकराम शर्माले स्थायी राजधानीको राजधानीको डिपिआरको काम अन्तिम चरणमा रहेको र अब निर्माण सुरु गर्नुपर्ने भन्दै जग्गा माग गरिएको जानकारी दिए।
‘संसद भवन पनि त्यहाँ बन्दै छ। हामीलाई आवश्यक पर्ने बजेट त अलि बढी नै हुन्छ’ उनले भने, ‘तत्कालको लागि कामलाई अघि बढाउन आवश्यक पर्ने बजेट माग गर्ने निर्णय गरिएको हो।’
बजेट नहुँदा दाङमा निर्माण भइरहेको प्रदेश सभा भवनको काम अहिले रोकिएको छ।
लुम्बिनी प्रदेश सरकारको स्थायी राजधानीको लागि जग्गाको स्वामित्व प्रदान गर्न माग गरेको छ।
‘राजधानी निर्माणको लागि स्थानीय तहले प्रदेशलाई जग्गा उपलब्ध गराउने निर्णय गरेका छन्। संघीय सरकारले हामीलाई स्वामित्व हस्तान्तरण गर्नुपर्ने हुन्छ। त्यसको लागि प्रस्ताव गर्ने निर्णय गरेका छौं’ मन्त्री शर्माले भने।
दाङको राप्ती प्राविधिक शिक्षालयलाई गढवामा रहेको सरस्वती प्राथमिक विद्यालयको जग्गा हस्तान्तरण गर्न पनि लुम्बिनी सरकारले नेपाल सरकारसँग अनुरोध गरिएको छ।
लालमटियामा रहेको राप्ती प्राविधिकको जग्गा प्रदेश सरकार मातहत आइसकेको छ। त्यसको क्षतिपुर्ति बापत प्राविधिक शिक्षालयलाई गढवाको जग्गा उपलब्ध गराउन स्वीकृतिको लागि संघ सरकारमा पठाएको मन्त्री शर्माले जानकारी दिए।
नवलपरासी पश्चिम र कपिलवस्तुमा यातायात सेवा कार्यालय राख्ने निर्णय पनि प्रदेश सरकारले गरको छ।
Shares
प्रतिक्रिया