आगामी माघ १२ गते हुने राष्ट्रिय सभाको निर्वाचनको लागि लुम्बिनी प्रदेशमा एमाले र गठबन्धन दलका तीन उम्मेदवारले मनोनयन दर्ता गरेका छन्।
एमालेसँग भिड्नको लागि गठबन्धनले कांग्रेससँगै नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चालाई पनि ठाउँ दिएको छ।
जनमोर्चाको तर्फबाट तुलप्रसाद विश्वकर्मा (राजेश विक) उम्मेदवार बनेका छन्। उनी पार्टीको भातृसंस्था जातीय समता समाजका केन्द्रीय अध्यक्ष हुन्। जनमोर्चा निकट रक्तिम सांस्कृतिक अभियानका कलाकार समेत हुन्।
विक रक्तिमका गायक जीवन शर्माको समकक्षी भएको राष्ट्रिय जनमोर्चाका रुपन्देही अध्यक्ष बद्रे आलमले बताए।
‘उहाँले जीवन शर्मा भन्दा पहिले नै सांस्कृतिक फाँटमा काम गर्नुभएको हो। एकदम मिठो गीत गाउनुहुन्थ्यो’ उनले भने।
विक दलित तर्फबाट राष्ट्रिय सभा सदस्यमा उम्मेदवार बनेका हुन्। उनका प्रतिस्पर्धाको रुपमा एमालेले गुल्मीका कृष्ण सुनारलाई उम्मेदवार बनाएको छ। उनी एमाले गुल्मीको जिल्ला सचिवालय सदस्य र पार्टी निकट दलित मुक्ति समाजका जिल्ला अध्यक्ष हुन्।
महिला तर्फ एमाले र सोही पार्टीबाट विभाजित एकीकृत समाजवादीका उम्मेदवार छन्। एमालेबाट बाँकेकी भारती खनाल उपाध्याय र एकीकृत समाजवादीबाट पाल्पाकी राजेन्द्रलक्ष्मी गैरे उम्मेदवार बनेकी छन्।
दुवै आ-आफ्नो पार्टी निकट अखिल नेपाल महिला संघका केन्द्रीय सदस्य हुन्।
अन्यतर्फ एमालेका रामदयाल गुप्तासँग कांग्रेसका उम्मेदवार युवराज शर्माको प्रतिस्पर्धा हुने छ। दाङका गुप्ता व्यवसायिक संस्थाबाट आएका हुन्। उनी तीन कार्याकाल दाङ उद्योग वाणिज्य संघका अध्यक्ष भएका थिए।
शर्मा कांग्रेस बाँकेको पूर्व सभापति हुन्। उनी २०४६ साल ताका जिल्ला अध्यक्ष थिए। शर्मा शेरबहादुर देउवा नेपाल विद्यार्थी संघको अध्यक्ष हुँदा उपसभापति थिए।
Shares
प्रतिक्रिया