नेकपा एमाले रुपन्देहीको अध्यक्षमा तेजेन्द्र केसीको नाम प्रस्ताव गरिएको छ। जारी जिल्ला अधिवेशनमा अध्यक्ष मण्डलबाट पदाधिकारीसहित १ सय ५१ सदस्यीय जिल्ला कमिटी प्रस्ताव गरिएको एमाले जिल्ला प्रचार विभाग संयोजक मोहन चापागाईंले जानकारी दिए।
जसअनुसार उपाध्यक्षमा जागेश्वरी चौधरी, सचिवमा यज्ञ गैरे, उपसचिवमा चित्रबहादुर कार्की र हितराज पन्थीको नाम प्रस्ताव गरिएको छ।
बन्दसत्र बैठकमा सबै पक्षको छलफलबाट तयार पारिएको सूची हलले पारित गरेको चापागाईंले जानकारी दिए।
‘अध्यक्ष मण्डलबाट १५१ जनाको जिल्ला कमिटी नाम र १५ जनाको लेखा आयोगको नाम प्रस्ताव भयो। सामान्यतया हलले ती नाम स्वीकृत गर्यो’, उनले भने, ‘त्यो नामप्रति सहमत नभएका साथीहरूले उमेदवारी दिन पाउने र निर्वाचन प्रक्रियामा समेत जान सकिनेछ।’
चुनावका लागि अहिले साँझ साढे ६ बजेसम्म उमेदवार मनोनयन गर्न सकिने बताइएको छ।
यता एमाले वर्तमान जिल्ला उपाध्यक्ष पुरुषोत्तम घिमिरेले भने अध्यक्ष पदमा उमेदवारी दर्ता गराएका छन्। उनी अघिल्लो अधिवेशनमा पनि अध्यक्षकै दाबेदार थिए।
तर सहमतिमा नेतृत्व चयन गर्दा उपाध्यक्षमा बसेका थिए। त्यसबेला आफूलाई अध्यक्ष बनाउने वचन दिइएकाले अहिले उम्मेदवारी दिइएको घिमिरेले बताए।
‘नेताहरूले अघिल्लो अधिवेशनमा मलाई सहमति गरम् अर्को अधिवेशनमा तपाईं हुनुहोला, अहिले उपाध्यक्षमा बस्नुस् भनेर मलाई आश्वासन दिन्भएको थियो’, उनले भने, ‘नेताहरूले त्यो आश्वासन पूरा नगरेकाले अहिले उम्मेदवार बनेको हुँ।’
रुपन्देही, एमालेका केन्द्रीय उपाध्यक्ष विष्णु पौडेल, नेता घनश्याम भुसालको जिल्ला हो। तर जिल्लामा पौडेलको प्रभाव बढी छ। अध्यक्षमा प्रस्ताव गरिएका केसी ओली पक्ष अर्थात् जिल्लामा विष्णु पौडेलनिकट हुन्।
घिमिरे विगतमा माधव नेपाल पक्षमा थिए। नेपालले नयाँ पार्टी बनाएपछि एमालेमै रहेका उनी जिल्लामा घनश्याम भुसालनिकट हुन्। जिल्लामा विष्णु पौडेलको प्रभाव बढी भएकाले केसी अध्यक्ष हुने निश्चितजस्तै छ।
Shares
प्रतिक्रिया