कैलालीमा नेकपा एमालेका दुई पक्षीय कार्यकर्ताबीच विवाद भएपछि स्थगित भएको निर्वाचन सुरु भएको छ।
धनगढीमा नयाँ नेतृत्व चयनका लागि सोमबार बिहानदेखि मतदान सुरु भएको नेकपा एमाले सुदूरपश्चिम प्रदेश सचिव धर्मराज पाठकले जानकारी दिए।
नेकपा एमाले कैलालीको अध्यक्षमा वर्तमान अध्यक्ष रतन थापा र वर्तमान उपाध्याक्ष रणबहादुर चन्द प्यानलसहित चुनावी मैदानमा छन्।
निर्वाचन प्रक्रियामा ढिलाइ भएको भन्दै उत्पन्न विवादमा अध्यक्षका उम्मेदवारद्वय रतन थापा र रणबहादुर चन्द पक्षीय एमालेका कार्यकर्ताबीच आइतबार बेलुका अधिवेशनस्थलमा धकेलाधकेलको स्थिति सिर्जना भएको थियो।
अध्यक्षका आकांक्षी रतन थापा, रणबहादुर चन्द, डिजी पाण्डेबीच सहमति नजुटेपछि कैलालीको अधिवेशन निर्वाचनमा गएको थियो। शनिबार उम्मेदवारी दर्ता भएको निर्वाचन अन्तर्गत आइतबार निर्वाचन गर्ने कार्यतालिका तय भएको थियो।
चन्दलाई अध्यक्षका आकांक्षी पाण्डेले समर्थन गर्दै उनको प्यानलबाट सचिव पदमा उम्मेदवारी दिएका छन्।
आइतबार बिहान ८ बजेका लागि तय भएको निर्वाचन सञ्चालनमा ढिलाइ गरेपछि अध्यक्ष रतन थापाले निर्वाचन समिति अक्षम भन्दै अधिवेशनस्थलमा नाराबाजी गरेका थिए।
विवादका क्रममा अध्यक्षका अर्का उम्मेदवार रणबहादुर थापा पक्षले जथाभावी बोलेर प्रतिनिधिहरूलाई भड्काउन नपाइने भन्दै विरोध गरेपछि दुवै पक्षबीच विवाद भएको थियो।
विवादपछि अधिवेशनस्थलमा थापा र चन्द पक्षीय कार्यकर्ताबीच धकेलाधकेल र नाराबाजी भएको थियो। आक्रोशित कार्यकर्ताले अधिवेशनस्थलमा तोडफोड पनि गरेका थिए।
त्यसपछि अहिले नेकपा एमालेको नयाँ नेतृत्व चयनका तय गरिएको निर्वाचन स्थगित भएको थियो।
Shares
प्रतिक्रिया