दक्षिण कोरियास्थित युनिफिकेशन चर्चले प्रधानमन्त्री शेरबहादुर देउवालाई सौलमा एक सातापछि हुने एक सम्मेलनमा सहभागिताका लागि निम्तो पठाएको छ।
युनिभर्सल पिस फेडेरेशनले कम्बोडिया सरकारसँग मिलेर फेब्रुअरी १२ देखि १४ सम्म आयोजना गर्न लागेको सम्मेलनमा प्रधानमन्त्री देउवालाई निम्तो आएको हो।
परराष्ट्र मन्त्रालय स्रोतका अनुसार युनिफिकेशन चर्चका तर्फबाट प्रधानमन्त्री देउवालाई निम्तो पठाइएको हो। प्रधानमन्त्री देउवा उक्त सम्मेलनमा सहभागी हुने, नहुने टुंगो लागेको छैन।
युनिभर्सल पिस फेडरेशन युनिफिकेशन चर्चकै मातृ संस्था हो, जसले २०७५ मंसिर १४ देखि १५ सम्म नेपालमा विवादास्पद एसिया प्यासिफिक समिट गरेको थियो। उक्त समिट ‘होली वाइन सम्मेलन’ को नामले विवादमा आएको थियो।
उक्त विवादास्पद कार्यक्रममा ‘सच्चा माता’ भनिने दक्षिण कोरियाकी धर्मगुरुले सयौं जोडीको रक्तशुद्धि गर्ने भन्दै ‘होली वाइन’ (पवित्र रक्सी) पिलाएकी थिइन्।
उक्त कार्यक्रममा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र उनकी पत्नी राधिका शाक्य सहभागी हुने तय भए पनि विवादमा परिने डरले अन्तिम क्षणमा सहभागी भएनन्।
त्यसबेला तत्कालीन एमाले वरिष्ठ नेता माधवकुमार नेपाल सहभागी भएर विवादमा परेका थिए। उनीमाथि उक्त सम्मेलन आयोजना गर्न भूमिका नै खेलेको आरोप लागेको थियो।
इसाई धर्म प्रचारका लागि आयोजना गरिएको भन्दै आलोचना गरिएको उक्त सम्मेलनमा ७५३ वटै स्थानीय तहका प्रमुखका जोडीलाई निमन्त्रण गरिएको थियो । तर, अधिकांश स्थानीय तहका प्रमुख कार्यक्रममा सहभागी भएनन्।
पूर्व सांसद एकनाथ ढकालले उक्त सम्मेलनमा सहभागिताका लागि प्रधानमन्त्री देउवालाई आग्रह गरिसकेका छन्।
ढकाल युनिभर्सल पिस फेडेरेशनका एसिया प्यासिफिक क्षेत्रका लागि अध्यक्ष हुन्। ढकाल नेपाल परिवार दलका अध्यक्ष पनि हुन्।
दक्षिण कोरियाको सौलमा सम्मेलनको नाम चाहिँ ‘कोरियाली प्रायद्वीपको शान्तिका लागि शिखर सम्मेलन’ दिइएको छ। सम्मेलनअन्तर्गत केही कार्यक्रम भौतिक उपस्थितिमा र केही भर्चुअल माध्यमबाट हुन लागेका छन्।
युनिभर्सल पिस फेडरेशनले कम्बोडियासँग मिलेर क्रिश्चियन धर्म प्रचारका लागि विभिन्न देशमा कार्यक्रम गर्ने गरेको छ।
यसपटक दक्षिण कोरियामा हुन लागेको सम्मेलनमा युनिभर्सल पिस फेडेरेशनका सह अध्यक्ष हक ज हान मुन र कम्बोडियाका प्रधानमन्त्री हुन सेनले संयुक्त रुपमा अध्यक्षता गर्दैछन्।
उक्त सम्मेलनमा संयुक्त राष्ट्रसंघका पूर्व महासचिव वान कि मुन पनि सहभागी हुँदैछन्। उनी युनिफिकेशन चर्चले आयोजना गर्ने कार्यक्रम र सम्मेलनका नियमित अतिथि हुन्।
Shares
प्रतिक्रिया