चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियान्चाओले नेपालका प्रमुख वामपन्थी शक्तिहरु मिलेर अघि बढेको हेर्ने चीनको चाहना रहेको बताएका छन्। नेपाल भ्रमणमा रहेका लिउले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, प्रचण्ड, माधवकुमार नेपाल र झलनाथ खनाललाई भेटेर वाम एकताको चाहना प्रकट गरेका हुन् ।
नेकपा माओवादी केन्द्र, एमाले र एकीकृत समाजवादीका नेतासँग सोमबार र मंगलबार भएका भिन्नाभिन्नै भेटमा चिनियाँ नेता लिउले वामपन्थी शक्तिबीचको एकता भए ‘चीनलाई राम्रो लाग्ने’ बताएको ती भेटमा सहभागी नेताहरुले जानकारी दिएका छन्।
‘साइलेन्ट डिप्लोमेसी’मा माहिर मानिने चिनियाँ नेताले नेपालका वाम दलहरु मिल्ने वा नमिल्ने विषय यहाँका पार्टीको नितान्त आन्तरिक विषय भएको पनि बताउन छुटाएनन्।
ओली निवास बालकोटमा मंगलबार झण्डै ६ घण्टा भएको कुराकानीमा चिनियाँ नेता लिउले विगतमा जस्तै नेपालमा वामपन्थी शक्तिबीच एकताको सम्भावना कति छ भनेर जिज्ञासा राखेको उक्त भेटमा सहभागी नेताहरुले जानकारी दिए।
चिनियाँ नेता लिउले कांग्रेस, कम्युनिस्ट लगायत नेपालका सबै राजनीतिक दलसँग चिनियाँ कम्युनिस्ट पार्टीले समान सम्बन्ध राख्न चाहेको बताएका थिए।
‘लिउले नेपालका कम्युनिस्ट पार्टी मिलेको चीनलाई राम्रो लाग्ने बताउनुभयो। तर नेपालमा वाम पार्टी मिल्ने वा नमिल्ने आन्तरिक कुरा भएकाले त्यसका लागि चीनले कुनै हस्तक्षेप नगर्ने स्पष्ट पार्नुभयो’ भेटमा सहभागी एकजना एमाले नेताले नेपालखबरसँग भने।
प्रत्युत्तरमा एमाले अध्यक्ष ओलीले आफू वामपन्थी शक्तिबीच एकताको विपक्षमा नरहेको बताएका थिए। ‘विगतमा वामपन्थी शक्तिबीच फुट हाम्रा कारणले आएको थिएन, अहिले पनि हामीलाई मिल्न आपत्ति छैन। यद्यपि तत्काल हामी कसैसँग एकता गरिहाल्न गइरहेका छैनौं, एक्लै चुनाव लड्ने हाम्रो नीति छ’ ती नेताका अनुसार ओलीले चिनियाँ नेतासँग भने।
नेपालमा संसदीय चुनाव नजिकिँदै गर्दा चीनले नेपालका वामपन्थी दललाई मिल्न पहल गरिरहेको हुनसक्ने चर्चा भएका बेला चिनियाँ नेता लिउले ठूला वामदल मिलेको हेर्न चाहेको चिनियाँ चाहना अभिव्यक्त गर्नुलाई अर्थपूर्ण मानिएको छ।
चिनियाँ नेतासँग ओलीले भने : नेपाल-चीन सम्बन्धमा कुनै समस्या छैन
पूर्वप्रधानमन्त्रीसमेत रहेका ओली र चिनियाँ नेताबीचको कुराकानी मुख्यतः चार विषयमा केन्द्रित रहेको एमाले नेताहरुले जानकारी दिए।
उनीहरुका अनुसार पहिलो, चिनियाँ कम्युनिस्ट पार्टी र एमालेबीचको पार्टीगत सम्बन्ध, दोस्रो नेपालमा वामपन्थी दलहरुबीचको एकता सम्भावना, तेस्रो नेपाल र चीनबीचको द्वीपक्षीय सम्बन्ध र चौथो नेपालमा बढ्दो अमेरिकी सक्रियता।
नेपालका सबै दल राष्ट्रिय हित र सार्वभौमिकताको रक्षाका सवालमा एकठाउँ उभिउन् भन्ने चाहना चिनियाँ नेताले व्यक्त गरेका थिए। ‘नेपालका राजनीतिक दलले आफ्नो निर्णय आफैं लिनसकुन्। त्यसमा हामी पनि हस्तक्षेप गर्दैनौं र कुनै पनि बाह्य शक्तिले पनि त्यसो नगरुन्’ अमेरिकाको पछिल्लो समय बढेको सक्रियातर्फ इंगित गर्दै उनले भनेका थिए।
ओलीसँगको भेटमा चिनियाँ नेता लिउले नेपालले चीनसँगको सम्बन्धलाई कम प्राथमिकता दिन थालेको हो कि भन्ने आशंका व्यक्त गरेका थिए। प्रत्युत्तरमा ओलीले नेपाल चीनसँगको मित्रवत् सम्बन्धप्रति प्रष्ट रहेको र चीनका विरुद्ध कसैलाई पनि नेपाली भूमि प्रयोग गर्न नदिने प्रतिवद्धता जनाएको एमाले नेताहरुले बताए।
‘अध्यक्षले नेपाल र आफ्नो पार्टी सधैं एक चीन नीतिको पक्षमा रहेको बताउनुभयो। उहाँले नेपाली भूमि चीन विरुद्ध प्रयोग हुन नदिने र कसैले आफ्ना रणनीतिमार्फत् चीन बिरोधी गतिविधि गर्न खोज्छ भने त्यसको प्रतिरोध एमालेले गर्ने बताउनुभयो’ भेटमा सहभागी एमालेका उपमहासचिव प्रदीपकुमार ज्ञवालीले भने।
चिनियाँ नेताले लिउले एमालेले कुनै पनि सैन्य गठबन्धनमा नजाने भनी लिएको निर्णयको स्वागत गरेका थिए। ‘वहाँले एमाले पार्टी र नेपालका दलले असंलग्न परराष्ट्र नीतिमा अडिग रही कुनै पनि सैन्य गठबन्धनमा भाग नलिने भनि लिएको नीतिको प्रशंशा गर्नुभयो’ ज्ञवालीले भने।
माधव र झलनाथसँग पनि वाम एकताकै सुझाव
मंगलबारै सत्तारुढ एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललगायत सम्मानित नेता झलनाथ खनालसँग पनि चिनियाँ नेता लिउले भेटेका थिए। होटल एभरेष्टमा भएको भेटमा चिनियाँ नेता लिउले विचार मिल्ने पार्टीसँग मिलेर जान सुझाव दिएका थिए।
‘आमरुपमा विचारधारा मिल्नेहरु एक ठाउँमा आउनु राम्रो कुरा हो। चीन एकतामा विश्वास गर्छ। एकतामा बल हुन्छ भन्ने हाम्रो मान्यता हो। त्यसकै आधारमा चीन अघि बढेको छ’, एकीकृत समाजवादीका नेता जगन्नाथ खतिवडाका अनुसार लिउले भेटमा भने, ‘हाम्रै राष्ट्रपति सी चिनफिङले पनि एकतामा बल हुन्छ भनिरहनुभएको छ। चीन अहिले एकजुट र बलियो छ।’
खतिवडाका अनुसार एउटै विचारका दलहरुले एकतालाई मूल मन्त्र बनाउँदा राम्रो हुने धारणा पनि चिनियाँ नेताले भेटमा राखेका थिए। ‘तपाईंहरुले एकतालाई आफ्नो बलका रुपमा लिनु उचित हुन्छ’, लिउको भनाइ उद्धृत गर्दै खतिवडाले भने ‘विचार मिल्नेहरू एकै ठाउँमा आउँदा बल पनि बढ्छ। वाम शक्तिहरु मिलेकै राम्रो हुन्छ, तर मिल्नैपर्छ भनेर हामी हस्तक्षेप गर्दैनौँ, किनकि यो तपाईँहरुको आन्तरिक कुरा हो।’
प्रचण्डले भने : एसपीपी राेक्न लडेँ
सत्तारुढ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग चिनियाँ नेताले सोमबार अपरान्ह उनको निवास खुमलटारमा दुई घण्टा भेट गरेका थिए। त्यसलगत्तै दाहालले चिनियाँ नेतालाई होटल सोल्टीमा रात्रीभोज दिएका थिए।
ती दुवै अवसरमा भएका कुराकानीमा चिनियाँ नेता लिउले नेपालका वामपन्थी शक्तिबीच एकता भइदिए हुन्थ्यो भन्ने चीनको चाहना व्यक्त गरेको माओवादी केन्द्रका एक नेताले जानकारी दिए।
‘वामपन्थी शक्तिहरु मिल्दा राम्रो हुन्छ। तर तपाईँहरु मिल्नैपर्छ भनेर हामी दबाव वा आग्रह गर्दैनौँ। मिल्ने वा नमिल्ने तपाईहरुको आन्तरिक कुरा हो’ चिनियाँ नेता लिउले भनेका थिए।
ती माओवादी नेताका अनुसार वामपन्थी शक्तिबीचको एकताका लागि आफूले नै विगतमा पहल लिएको प्रचण्डले स्मरण गरेका थिए। दाहालको संकेत एमाले अध्यक्ष ओलीका तर्फबाट नेपाल कम्युनिष्ट पार्टी विभाजनमा गल्ती गरेको भन्नेतर्फ रहेको ती नेताले जानकारी दिए। ‘म वाम शक्तिबीचको एकताको विपक्षमा भने छैन’ उनले भनेका थिए।
भेटका अवसरमा प्रचण्डले चीनका विरुद्ध कुनै पनि बाह्य शक्तिलाई नेपालमा चलखेल गर्न नदिइने बताएका थिए। उनले अमेरिकाले हालै प्रस्ताव गरेको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) अन्र्तगतको सैन्य सम्झौता रोक्न आफूले ठूलो लडाईँ गर्नुपरेको सुनाए।
‘एसपीपी रोक्न मैले ठूलो लडाईँ लडेँ’ प्रचण्डको भनाइ उद्धृत गर्दै भेटमा सहभागी अर्का माओवादी नेताले भने।
माओवादीलाई चीनको सुझाव : नेपालका दलहरु एक भएर राष्ट्रियताको रक्षा गर्नू
अमेरिकासँगको मिलेनियम च्यालेन्ज कर्पोरशन (एमसीसी) सम्झौता अनुमोदनको प्रसंग समेत प्रचण्ड आफैंले निकालेका थिए। त्यसक्रममा उनले एमससी सम्झौतासँगै बाह्र बुँदे व्याख्यात्मक घोषणा संसदबाट अनुमोदन गरी अमेरिकाको हिन्द प्रशान्त रणनीतिलाई अस्वीकार गरिएकाले त्यसमा अब कुनै समस्या नआउने भएकाले शंका नगर्न चिनियाँ नेतालाई आग्रह गरेका थिए।
चिनियाँ नेता लिउले अमेरिकाले हिन्द प्रशान्त रणनीति अघि सारेर चीनलाई घेर्न खोजेको बताएका थिए। त्यसक्रममा लिउले नेपालले कुनै पनि सैनिक गठबन्धनमा सहभागी नहुने निर्णय गरेको स्वागत गरेका थिए।
कांग्रेससँग रणनीतिक सञ्चार बढाउन चाहन्छौँ : चीन
नेपालका ठूला वामदलसँग भेट्नुअघि चिनियाँ नेता लिउले कांग्रेस सभापति समेत रहेका शेरबहादुर देउवा र परराष्ट्रमन्त्री नारायण खड्कासँग सोमबार भेटेका थिए। त्यस क्रममा चिनियाँ नेता लिउले कांग्रेस पार्टीसँग विश्वासको सम्बन्ध कायम गर्न चाहेको बताएका थिए। उनले नेपालका सबै दलसँग चिनियाँ कम्युनिस्ट पार्टीले समान हिसाबले सम्बन्ध राख्ने नीति लिएको बताएका थिए।
‘चिनियाँ कम्युनिस्ट पार्टीले नेपालमा सम्पर्क स्थापित गरेको पहिलाे पार्टी नेपाली कांग्रेस नै हो। हामी अबका दिनमा पनि कांग्रेससंँग रणनीतिक सम्पर्क स्थापित गर्न चाहन्छौं। विश्वासिलो सम्बन्ध राख्न चाहन्छौँ’ लिउले प्रधानमन्त्री देउवासँग भनेका थिए।
- चीनविरोधी गतिविधि हुन नदिने कांग्रेसकाे प्रतिवद्धता
- प्रधानमन्त्री देउवाले चिनियाँ नेतालाई भने : ऋण होइन अनुदान चाहन्छौं
नेपालका वामदलसँग चीनले निकट सम्बन्ध राखेको तर कांग्रेससँग दुरी बढाएको आरोप केही बर्षयता चीनमाथि लागेका बेला चिनियाँ नेता लिउको यस्तो भनाइ आउनुलाई अर्थपूर्णरुपमा हेरिएको नेताहरु बताउँछन् । चीनले वाम दलसँगै कांग्रेसलाई पनि विश्वासमा लिन चाहेको सन्देश दिएको कांग्रेस नेताहरुको बुझाइ छ।
‘हामीलाई अमेरिका र भारतसँग लहसिएको भन्ने चीनको बुझाइ हुन सक्छ। तर, त्यो सत्य होइन। हामी चीनसँग विचारका आधारमा नभएर छिमेकी मुलुकका हिसाबले व्यवहार गर्न चाहन्छौँ’ नेपाली कांग्रेसका एक नेताले भने।
कांग्रेससँग सम्बन्ध बढाउन चाहेको सन्देश दिनकै लागि हुनुपर्छ, चिनियाँ नेता लिउ सोमबार बीपी संग्रहालय सुन्दरीजलको भ्रमण पनि गरे। उनले चिनियाँ कम्युनिष्ट पार्टी र कांग्रेसबीचको सम्बन्धको आधार विपीका पालामा स्थापित भएको स्मरण गरेका थिए।
बीपी–चीन कनेक्सन : जब सुन्दरीजल पुग्यो चिनियाँ टोली
सत्ताको नेतृत्वको गरेको कांग्रेस र वाम घटकसँग समान सम्बन्ध राख्ने चाहना चिनियाँ कम्युनिष्ट पार्टीका तर्फबाट अभिव्यक्त हुनुमा भूराजनीतिक कारणसमेत रहेको बताइन्छ। खासगरी अमेरिकाले नेपालमा बढाउन खोजेको आफ्नो प्रभावलाई काउन्टर गर्न वामशक्तिसँग मात्र नभई कांग्रेससँग पनि चिनियाँ कम्युनिस्ट पार्टीले सम्बन्ध बढाउन खोजेको जानकारहरुको बुझाइ छ।
चिनियाँ नेता लिउको टोलीले बुधबार स्वदेश फर्कनुअघि राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट्ने कार्यक्रम छ ।
Shares
प्रतिक्रिया