चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियान्चाओले बुधबार भक्तपुरस्थित दरबार स्क्वायर र टौमढी क्षेत्रको अवलोकन भ्रमण गरे।
६ सदस्यीय चिनियाँ टोलीलाई नेमकिपा नेता तथा भक्तपुर नगरपालिकाका मेयर सुनिल प्रजापतिले भादगाउँले टोली लगाइदिएर दरबार स्क्वायरको प्रवेशद्वारमा स्वागत गरे।
चिनियाँ नेताको स्वागतमा स्थानीय जनता बाजागाजा र झाँकी सहित सहभागी भएका थिए। चिनियाँ नेतालाई मजदुर किसान पार्टीका अध्यक्ष नारायण बिजुक्छे लगायत नेताले दरबार क्षेत्र घुमाएका थिए।
भादगाउँले टोपीमा सजिएर चिनियाँ नेताले दरबार स्क्वायर र टौमढी क्षेत्रको एकघण्टा पैदल हिँडेर सम्पदा अवलोकन गरे।
त्यस क्रममा चिनियाँ नेता लिउले भूकम्पले क्षतिग्रस्त दरबार स्क्वायर र टौमढी क्षेत्रको पुनर्निर्माण नेपालको आफ्नै खर्चमा भएकोमा खुशी ब्यक्त गरेको नेमकिपाका नेता सुरेन्द्रराज गोसाइले जानकारी दिए।
‘नेपालको आफ्नै खर्चमा ऐतिहासिक सम्पदाको पुनर्निर्माण भएको देख्न पाउँदा उहाँले खुशी ब्यक्त गर्नुभयो। उहाँलाई नेपालको भूकम्पपछिको पुनर्निर्माणबारे बिशेष अभिरुचि रहेछ’, गोसाइले नेपालखबरसँग भने।
भूकम्पबाट क्षति पुगेपछि भक्तपुर नगरपालिकाले आफ्नै खर्चमा ती ऐतिहासिक सम्पदा पुनर्निर्माण गरेको हो।
चिनियाँ नेता लिउले सन् २०१५ को भूकम्पलगत्तै आफू नेपालको अवस्था बुझ्न आएको पनि स्मरण गरेका थिए। त्यसबेला लिउ चीनको विदेश मन्त्रालयमा सहायक विदेशमन्त्री थिए।
दरबार क्षेत्रको अवलोकनपछि टौमडी क्षेत्रस्थित नेमकिपाका एक नेताको घरमा अध्यक्ष बिजुक्छे र चिनियाँ नेता लिउबीच आधा घण्टा कुराकानी भएको थियो।
भेटमा सहभागी नेता गोसाइका अनुसार भेटमा नेपाल—चीन सम्बन्ध, नेमकिपा र चिनियाँ कम्युनिस्ट पार्टीबीचको संबन्ध र अन्र्तराष्ट्रिय परिस्थितीबारे छलफल भएको थियो।
अध्यक्ष बिजुक्छेले नेपाल सदैव साम्राज्यवादको बिरुद्ध उभि आएको बताएका थिए। उनले नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध रहेको बताएका थिए।
‘चीनबाट निरन्तर भ्रमणहरु भइरहेका छन्। यस्ता भ्रमणले दुई देशबीचको सम्बन्धबारे गलत हल्ला फैलाउनेहरु निरुत्साहित हुन्छन्’, गोसाइका अनुसार बिजुक्छेले चिनियाँ नेतालाई भनेका थिए।
उनले चीनबाट विनासर्त नेपालको आर्थिक तथा सामाजिक विकासमा भइरहेको सहयोगका लागि लिउले धन्यवाद दिए।
बिजुक्छेले चिनियाँ कम्युनिस्ट पार्टीको अब हुन लागेको बीसौं महाधिवेशनको सफलताको पनि कामना गरे।
चिनियाँ नेता लिउले नेपालको पुरानो पार्टी नेमकिपासँग सम्बन्ध प्रगाढ हुँदै गएको बताएका थिए।
त्यस अवसरमा लिउले निकट छिमेकी मुलुक भएकाले नेपालसँगको सम्बन्धलाई महत्व दिएकाले आफूले पार्टी विदेश विभाग प्रमुख नियुक्त भएपछि पहिलो भ्रमण नै नेपालबाट थालेको बताएका थिए।
उनले नेपालले लिएको एक चीन नीति र असंलग्न परराष्ट्र नीतिको सराहना गरेका थिए।
नेपाल भ्रमणको अन्तिम दिन चिनियाँ नेता लिउले नेपालका पुराना कम्युनिस्ट नेता बिजुक्छेसँग भेटेका हुन्। बिजुक्छे चिनियाँ नेता लिउले काठमाडौं बसाइमा भेटका अन्तिम नेपाली नेता हुन्।
यसअघि आज बिहान चिनियाँ नेता लिउले राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेट गरेका थिए। भेटमा लिउले आफू नेपालका सबै दलसँग सम्बन्ध विस्तार गर्न आएको बताएका थिए।
गत आइतबार नेपाल आएका चिनियाँ नेता लिउले प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा र परराष्ट्रमन्त्री नारायण खड्कासँग आएकै दिन भेटेका थिए।
भेटमा उनले नेपालका राजनीतिक दलसँग रणनीतिक सम्पर्क स्थापित गर्न चाहेको बताएका थिए। चिनियाँ नेता लिउले नेपालबाट कुनै पनि चीनविरोधी गतिविधि नहुने अपेक्षा लिएका थिए।
त्यही दिन परराष्ट्रमन्त्री खड्काले पार्टी केन्द्रीय समितिका तर्फबाट चिनियाँ नेतालाई रात्रीभोज दिएका थिए।
आएको भोलिपल्ट नेता लिउ सुनन्दरीजलस्थित बिपी संग्रहालय पुगेका थिए। त्यही दिन दिउँसो उनी काठमाडौंको शान्ति गृह विद्यालयमा एक कार्यक्रममा पनि सहभागी भए।
सोमबार बेलुकी उनले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग खुमलटारमा भेटेका थिए। दाहालले होटल सोल्टीमा चिनियाँ नेताको सम्मानमा रात्रिभोज पनि दिए।
हिजो मंगलबार चिनियाँ नेताले प्रमुख प्रतिपक्षी एमालेका अध्यक्ष केपी ओली लगायत नेतासँग साढे ५ घण्टा लामो भेटवार्ता गरेका थिए।
चिनियाँ नेता लिउ नेतृत्वको टोलीले भ्रमणको अन्तिममा नेमकिपाका अध्यक्ष बिजुक्छेलाई भेटेर बुधबार राति १० बजे स्वदेश फर्किएको छ।
1.9k
Shares
प्रतिक्रिया