पूर्वप्रधानमन्त्री तथा सत्तारूढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ५ दिने भ्रमणका लागि जापान आइपुगेका छन्।
साउन २१ देखि २५ गते अर्थात् अगस्ट ६ देखि १० तारिखसम्म जापान भ्रमणका लागि उनी भ्रमण दलका चार सदस्यीयसहित स्थानीय समयानुसार शनिबार बिहान जापानको नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका हुन्।
नेपाली जनप्रगतिशील मञ्च (जापान) को निमन्त्रणामा जापान आएका पूर्वप्रधानमन्त्री प्रचण्डसहितको भ्रमण टोलीलाई मञ्चका अध्यक्ष भवानी पन्त, जापानका लागि नेपाली राजदूत डा दुर्गाबहादुर सुवेदीसहितका नेपालीले विमानस्थलमा भव्य स्वागत गरे।
विमानस्थलमा स्वागत गर्नेहरूमा एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषदका उपाध्यक्ष रोविन्द श्रेष्ठ, भूषण घिमिरे, एनआरएनए जापानका वरिष्ठ उपाध्यक्ष नवीन निउरे, मञ्चका पदाधिकारी, मञ्चका केन्द्रीय समितिका सदस्य, विभिन्न नेपाली संघसंस्थाका प्रमुख तथा प्रतिनिधि, सर्वसाधारण नेपाली थिए।
राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाइन्सको आरए ४३३ नम्बरको जहाजबाट आइपुगेका प्रचण्ड जापानमा आयोजित विभिन्न कार्यक्रममा सहभागी हुनेछन्।
हालसम्म सार्वजनिक भएका कार्यक्रममध्ये प्रचण्डले शनिबारै जापानको फुकुओकामा आयोजना हुने नेपाल फेस्टिबल फुकुओकाको उद्घाटन गर्ने छन्।
त्यसैगरी अगस्ट ६ मा हिरोसिमामा घटना भएको ७५ वर्ष पूरा हुने ऐतिहासिक क्षेत्रमा आइतबार प्रचण्डले भ्रमण गर्नेछन्। सोही दिन नै नेपाली जनप्रगतिशील मञ्च (जापान) को आयोजनामा टोकियोमा हुने नेपालीबीच ‘समृद्ध नेपालको आधार ः आर्थिक क्रान्तिमा प्रवासी नेपालीको सरोकार’ विषयक खुला अन्तरक्रियामा प्रमुख अतिथिका रूपमा सहभागी हुनेछन्।
जापानमा रहँदा प्रचण्डले जापानको सत्तारुढ दल लिबरल डेमोक्रेटिक पार्टीका नेताहरूसँग भेटवार्ता गर्ने पनि कार्यक्रम छ। आधुनिक कृषि प्रणालीको विकासबारे समेत फिल्डमै पुगेर हेर्ने समेत कार्यक्रम रहेको बताइएको छ।
आफ्नो जापान भ्रमणले नेपाल–जापान सम्बन्धलाई थप बलियो बनाउन मद्दत गर्ने र नेपालको आर्थिक विकास र समृद्धिको बाटोमा जापान सरकार र जापानमा रहेका प्रवासी नेपालीबीच विश्वास र सहकार्य बढ्ने विश्वास प्रचण्डले लिएका छन्।
Shares
प्रतिक्रिया