चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठले नेपाली भूमिबाट चीनविरुद्ध कुनै पनि गतिविधि हुन नदिन नेपाल प्रतिबद्ध रहेको बताएका छन्।
बेइजिङस्थित नेपाली दूतावासमा आयोजित ‘नेपालमा पर्वतारोहण र पदयात्रा’ विषयक कार्यक्रममा राजदूत श्रेष्ठले नेपालबाट चीनविराेधी काम हुन नदिने बताएका हुन्।
नेपाल-चीन कूटनीतिक सम्बन्ध स्थापना भएको ६७औँ वर्षगाँठका अवसरमा उक्त कार्यक्रम आयोजना गरिएको थियो।
‘नेपाल र चीनबीच पारस्परिक विश्वास, समझदारी र असल छिमेकीको विशेषतासहित हार्दिक सम्बन्ध रहिआएको छ। हाम्रो सम्बन्ध सदियौं पुरानो र ऐतिहासिक छ। दुई देशबीचको बहुआयामिक सम्बन्ध हिमाल र नदी, प्रेम र स्नेह, सद्भाव र एकताले जोडिएका छन्,’ श्रेष्ठले भने।
दुई मुलुक बीचको उच्चस्तरीय भ्रमण तथा जनस्तरमा हुने आदानप्रदानले द्विपक्षीय सम्बन्ध थप प्रगाढ हुने विश्वास राजदूत श्रेष्ठले व्यक्त गरे।
उक्त कार्यक्रम गर्नुको प्रमुख उद्देश्य नेपालका तर्फबाट सगरमाथा आरोहण गरेका चिनियाँ नागरिकलाई सम्मान तथा नेपालमा रहेको पर्वतारोहण र ट्रेकिङ पर्यटनको प्रवर्द्धन गर्नु रहेको उनले बताए।
चिनियाँ तथा अन्य विदेशी पर्यटकका लागि नेपालमा प्रचुर मात्रामा प्राकृतिक एवम् सांस्कृतिक विविधता रहेको उल्लेख गर्दै उनले सगरमाथासहित ८ हजार मिटरभन्दा बढी उचाइका ८ वटा हिमालचुली, बुद्धको जन्मस्थल लुम्बिनी तथा नेपालमा रहेका विश्व सम्पदा सूचीकृत पर्यटकीय स्थलबारे बताए। उनले सहभागीहरुलाई नेपाल भ्रमण गर्न र नेपालमा रहेका पर्यटकीय गन्तव्यहरुको प्रचारप्रसारका लागि आह्वान पनि गरे।
सो अवसरमा नेपालका तर्फबाट सगरमाथा आरोहण गरेका ३१ चिनियाँ नागरिकहरुलाई राजदूत श्रेष्ठले खादा लगाई सम्मान गरे।
कार्यक्रममा आरोहीका तर्फबाट तीन जनाले आरोहणका क्रममा लिइएका तस्बिर एवम् भिडिओसहित सगरमाथा आरोहणबारे आफ्नो अनुभव समेटी प्रस्तुति दिएका थिए।
कार्यक्रममा पर्वतीय पर्यटन क्षेत्रमा कार्यरत् चीनको बेइजिङस्थित चाइना एडभेन्चर एसाेसियसनका अध्यक्ष हान बो तथा इन्टरनेसनल माउन्टेन टुरिजम एलायनसका बेइजिङस्थित सम्पर्क कार्यालयका प्रतिनिधि सु सिमिङले मन्तव्य राखे। त्यसैगरी, नेपाल माउन्टेनियरिङ एसाेसियसनका निमा नुरु शेर्पा र नेपाल एसाेसियसन अफ टुर एन्ट ट्राभल एजेन्ट्सका अध्यक्ष रमेश थापाले भर्चुअल माध्यमबाट प्रस्तुतीकरण दिए। उनीहरुले नेपालको पर्वतारोहण तथा ट्रेकिङको विशेषता एवं आकर्षणबारे बताएका थिए।
सगरमाथा चारपटक आरोहण गरेका चिनियाँ नागरिक सिया बोयुले आफ्नो अनुभव समेटेको मर्मस्पर्शी भिडिओ देखाएका थिए। उनले अन्य चिनियाँ नागरिकलाई सगरमाथाको आरोहण गर्न आग्रह गरे। सिया बोयु कृत्रिम खुट्टाले सगरमाथा आरोहण गर्ने पहिलो चिनियाँ नागरिक हुन्। उनले सगरमाथा आरोहणको क्रममै आफ्नो खुट्टा गुमाएका थिए।
सगरमाथा आरोहणलाई समेटेर क्याप्टेन माउन्ट एभरेस्ट चलचित्र निर्माण गरेका सगरमाथा आरोही वाङ पिङ तथा अर्का आरोही लुओ बिआओले सगरमाथा आरोहणबारे आफ्ना अनुभव समेटी प्रस्तुत गरेका थिए। कार्यक्रमका दौरान नेपालको पर्यटकीय स्थल एवम् चिनियाँ सगरमाथा आरोहीहरुको तस्बिर प्रदर्शन गरिनाका साथै नेपालको पर्यटनसम्बन्धी भिडिओसमेत देखाइएको थियो।
कार्यक्रममा चीनका पर्यटन मन्त्रालयका प्रतिनिधि, नेपालका तर्फबाट सगरमाथा आरोहण गरेका चिनियाँ नागरिक, सञ्चारकर्मी, बेइजिङस्थित नेपाली नियोगका कर्मचारी, चिनियाँ व्यवसायी एवम् नागरिक, नेपाली समुदायको उपस्थिति थियो। कार्यक्रमको अन्त्यमा दूतावासले रात्रीभोजसमेत आयोजना गरेको थियो।
Shares
प्रतिक्रिया