आगामी मंसिर ४ मा हुने संसदीय चुनावका लागि दलहरुले धमाधम उम्मेदवार सिफारिस गरिरहेका छन्।
सत्ताधारी र प्रतिपक्षी दलहरु देशको संघीय राजधानी काठमाडौं जिल्लामा पनि उम्मेदवार सिफारिसमा व्यस्त छन्।
काठमाडौं जिल्लामा १० वटा संसदीय निर्वाचन क्षेत्र छन्। यीमध्ये ९ वटा निर्वाचन क्षेत्रलाई महानगरपालिकाले छुन्छ। कीर्तिपुर र आसपासको भूगोल समेटिने क्षेत्र नम्बर १० महानगरपालिकाभित्र पर्दैन।
महानगरसमेत समेटिएर बनेका ९ वटा निर्वाचन क्षेत्रमा महानगर प्रमुखमा विजयी बालेन्द्र शाहले पाएको मतका कारण स्वतन्त्र उम्मेदवारले पनि उम्मेदवारी घोषणा गरिसकेका छन्।
स्थानीय तह निर्वाचनको मत परिणामले काठमाडौंका ९ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमध्ये ८ वटामा महानगर प्रमुख शाह तेस्रो स्थानमा देखिएका छन्।
स्थानीय चुनावको परिणामलाई आधार मानेर विश्लेषण गर्दा उनी काठमाडौं क्षेत्र नम्बर १ मा पहिलो देखिएका छन्।
यही जनमतकै आधारमा संसदीय चुनावमा मत खस्ने हो भने काठमाडौं १ बाट स्वतन्त्रले प्रतिनिधि सभामा जित्ने सम्भावना देखिन्छ।
महानगर प्रमुख शाह प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर २, ३, ४, ५, ६, ७, ८ र ९ मा भने तेस्रो स्थानमा देखिएका छन्।
आगामी चुनावमा यी क्षेत्रबाट स्वतन्त्र जनमतले जित नै हात पार्न नसके पनि कांग्रेस वा एमालेमध्ये कसलाई जिताउने वा हराउने भन्ने निर्णायक भूमिका खेल्न सक्छ।
काठमाडौंका अन्य निर्वाचन क्षेत्रहरुको विश्लेषण गर्दा निर्वाचन क्षेत्र नम्बर ८ मा पनि स्वतन्त्रले कांग्रेस र एमालेसँगको दुरी कम बनाएकाले त्यहाँ पनि शाहको मत बलियो देखिन्छ। बाँकीमा उनले पाएको मतले स्वतन्त्रलाई तेस्रो अर्थात्, निर्णायकमा उभ्याएको छ।
गत स्थानीय चुनावको मतपरिणामअनुसार कांग्रेस र एमालेले ४–४ वटा निर्वाचन क्षेत्रमा अग्रता लिएको देखिन्छ।
स्थानीय चुनावको मतपरिणामले काठमाडौंमा एमाले र कांग्रेस बराबरी हैसियतका तीव्र प्रतिस्पर्धी हुन् भन्ने देखाएको छ।
निर्वाचन क्षेत्र नम्बर १
काठमाडौँ महानगरपालिकाका १०, ११, २९ र ३१ नम्बर वडाहरु समेटेर निर्धारण गरिएको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ मा महानगर प्रमुख शाहलाई स्थानीय तह निर्वाचनको मतपरिणामले पहिलो स्थानमा देखाएको छ।
मत परिणामअनुसार बानेश्वर (वडा नं १०), त्रिपुरेश्वर (११), डिल्ली बजार (२९) र शान्तिनगर (३१) क्षेत्रअन्तर्गत पर्ने १ नम्बरमा उनले कांग्रेस र एमालेलाई उछिनेका छन्।
महानगरपालिका प्रमुख शाहले यी चार वटा वडाबाट ९ हजार ६७४ मत ल्याएका छन्। उनका निकटतम् प्रतिस्पर्धी कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले ६ हजार ५१६ मत पाएकी छन्।
एमालेका उम्मेदवार केशव स्थापित ४ हजार ७९४ मतका साथ निर्वाचन क्षेत्र नम्बर १ मा तेस्रो स्थानमा देखिएका छन्।
२०७४ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा कांग्रेस नेता प्रकाशमान सिंहले काठमाडौँ– १ मा ‘ह्याट्रिक’ गर्दै चुनाव जितेका थिए।
उनले १० हजार ९३६ मतसहित विवेकशील साझाका उम्मेदवार रवीन्द्र मिश्रलाई हराएका थिए।
मिश्रले १० हजार ११८ मत पाएका थिए। दुई उम्मेदवारबीचको मतअन्तर ८१८ मात्र थियो। नेकपा माओवादी केन्द्रले यो क्षेत्रमा अर्थमन्त्री जनार्दन शर्माका भाइ अनिल शर्मालाई टिकट दिएको थियो।
उनी ५ हजार ३३६ मत ल्याएर तेस्रो भएका थिए। एमालेले माओवादीसँग गठबन्धन गरेर अनिललाई सघाएको थियो।
यो क्षेत्रमा कांग्रेसबाट नेता प्रकाशमान सिंह नै मंसिर–४ मा हुन लागेको संसदीय निर्वाचनमा होमिँदैछन्। उनीसँग एमालेको सहयोगमा मिश्र नै प्रतिस्पर्धामा उत्रिने सम्भावना छ।
राप्रपाका एक वरिष्ठ नेताका अनुसार विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष मिश्र राप्रपासँग एकता गर्न तयार छन्।
अर्कातिर उनले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पनि वार्ता गरेका छन्। मिश्रको राप्रपासँगको एकता अन्तिम चरणमा पुगेको छ। पदका विषयमा कुरा मिलेको छैन।
राप्रपासँग एकता भएको अवस्थामा काठमाडौं–१ मा मिश्रलाई उम्मेदवार बनाउन राप्रपाभित्र सहमति जुटिसकेको छ। काठमाडौं–१ मा एमाले पनि राप्रपालाई सघाउन तयार भएको स्रोतको दाबी छ।
‘रवीन्द्रजीको पार्टीसँग एकता अन्तिम चरणमा पुगेको छ। केही प्राविधिक कुरा मिलाउन बाँकी छ,’ ती नेताले भने, ‘एकता टुंगिए उहाँलाई काठमाडौं–१ बाट उम्मेदवार बनाउँछौँ। यसबारे एमालेसँग सहमति जुटिसकेको छ।’
यद्यपि एमालेले यो क्षेत्रको सम्भावित उम्मेदवारका रुपमा केही नाम प्रस्तुत गरेको छ। एमालेका १० वटै क्षेत्रीय कमिटीको बुधबार बसेको बैठकले जिल्ला कमिटीमा उम्मेदवार सिफारिस गरेको हो।
एमालेले सम्भावित उम्मेदवारका रुपमा काठमाडौं क्षेत्र नम्बर १ बाट वरिष्ठ अधिवक्ता टीकाराम भट्टराई, काठमाडौंका पूर्वउपमेयर विदुर मैनाली र नेता रूपनारायण श्रेष्ठको नाम सिफारिस गरेको छ। यद्यपि राप्रपासँग तालमेल एमालेले यो क्षेत्र रवीन्द्र मिश्रलाई छाड्न सक्नेछ।
निर्वाचन क्षेत्र नम्बर २
काठमाडौँ महानगरपालिकाका ९ र ३२ नम्बर वडा क्षेत्र नम्बर २ मा समेटिएका छन्। यी वडाबाट महानगर प्रमुख शाहले ८ हजार ८३३ मत पाएका छन्।
यो क्षेत्रअन्तर्गत शंखरापुर नगरपालिकासँगै कागेश्वरी मनोहरा नगरपालिकाका ४, ५, ६, ७, ८ र ९ नम्बर वडाहरु समेटिएका छन्।
क्षेत्र नम्बर २ मा कागेश्वरीका वडाध्यक्षहरु र शंखरापुरामा उपप्रमुखले पाएको मतानुसार कांग्रेस १६ हजार ४९३ मतसहित पहिलो बनेको छ। त्यस्तै, १३ हजार ५९६ मतसहित एमाले काठमाडौं–२ मा दोस्रो स्थानमा देखिएको छ।
२०७४ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा यहाँ एमालेका तर्फबाट पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल विजयी भएका थिए। उनी २७ हजार ३६६ मतसहित विजयी हुँदा कांग्रेस उम्मेदवार दीपकप्रसाद कुइँकेल १४ हजार ९०३ मत ल्याएर दोस्रो भएका थिए।
यहाँ तेस्रो भएका विवेकशील साझाका उम्मेदवार डा. सूर्यराज आचार्यले ७ हजार ४३७ मत प्राप्त गरेका थिए। यसपालि स्थानीय चुनावमा स्वतन्त्रको मत बढेर ८ हजार ८३३ पुगेको छ। यो क्षेत्र नेकपा एकीकृत समाजवादीको भागमा पर्नसक्छ।
उता प्रमुख प्रतिपक्षी एमालेले बुधबार नै यो क्षेत्रका लागि उम्मेदवार सिफारिस गरिसकेको छ।
यो क्षेत्रका लागि एमालेले मणिराम फुयाँलको नाम सिफारिस गरेको छ।
निर्वाचन क्षेत्र नम्बर ३
काठमाडौं महानगरपालिकाको ६ नम्बर वडालाई निर्वाचन क्षेत्र नम्बर ३ मा समेटिएको छ। त्यसैगरी कागेश्वरी मनोहरा नगरपालिकाका १, २, ३ र गोकर्णेश्वर नगरपालिकालाई समेटेर यो क्षेत्र निर्धारण गरिएकोे छ।
स्थानीय तह निर्वाचनको मत परिणामअनुसार यो क्षेत्रमा कांग्रेस र एमालेबीचको मतान्तर मात्र २६४ छ। कांग्रेस ११ हजार २१८ मतसहित पहिलो बनेको छ भने १० हजार ९५४ मतसहित एमाले दोस्रो बनेको छ।
यो निर्वाचन क्षेत्रमा पर्ने काठमाडौँको वडा नम्बर ६ बाट महानगर प्रमुख शाह ३ हजार ४७६ मत ल्याएर तेस्रो भएका छन्।
गत प्रतिनिधिसभा निर्वाचनमा काठमाडौं–३ बाट एमाले नेता कृष्णबहादुर राई विजयी भएका थिए। कांग्रेस नेतृ अम्बिका बस्नेत दोस्रो र विवेकशील साझाकी सुमित्रा सिंह लामा तेस्रो भएका थिए।
यस निर्वाचन क्षेत्रबाट एमालेका राई १९ हजार १६९ मतसहित विजयी हुँदा कांग्रेसकी बस्नेतले १४ हजार ८८४ मत र विवेकशील साझाकी लामाले २ हजार २०५ मत पाएका थिए।
उता एमालेले यो क्षेत्रमा २०७४ कै विजयी सांसद कृष्ण राईलाई दोहोर्याउने गरी नाम सिफारिस गरेको छ। यस क्षेत्रमा माओवादी केन्द्रले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई राजीनामा गराएर उतार्न सक्ने चर्चा छ।
यदि कुलमान यो क्षेत्रमा उत्रिएमा एमालेका कृष्ण राईका लागि असहज हुनेछ। कुलमानको आफ्नै छवि र गठबन्धनको बलमा उनले चुनावी नतिजा आफ्नो पक्षमा पार्न सक्ने छन्।
निर्वाचन क्षेत्र नम्बर ४
स्थानीय तह निर्वाचनको मतपरिणामले काठमाडौं निर्वाचन क्षेत्र नम्बर ४ मा एमालेलाई पहिलो स्थानमा देखाएको छ। निर्वाचन क्षेत्र नम्बर ४ मा काठमाडौं महानगरपालिकाका वडा नम्बर १, ७, ८ र ३० समेटिएका छन्। यसका साथै बुढानीलकण्ठ नगरपालिकाका १, २, ८, ९, १०, ११, १२ र १३ नम्बर वडाहरु पनि ४ नम्बर क्षेत्रमा पर्छन्।
गत स्थानीय निर्वाचनमा महानगर प्रमुखका उम्मेदवारहरु र बुढानीलकण्ठका वडाध्यक्षहरुले पाएको मतलाई आधार मान्दा कांग्रेसभन्दा एमाले २ हजार ४८ मतले अगाडि देखिएको छ।
एमालेले १४ हजार ६५० मत पाउँदा कांग्रेसको पक्षमा १२ हजार ६०२ मत खसेको देखिन्छ। यो निर्वाचन क्षेत्रअन्तर्गत पर्ने काठमाडौंका ४ वटा वडाबाट शाहले ७ हजार ९४० मत पाएको देखिएको छ।
गत प्रतिनिधि सभा निर्वाचनमा क्षेत्र नम्बर ४ बाट कांग्रेस महामन्त्री गगन थापा २१ हजार ५५८ मत ल्याई विजयी भएका थिए। उनका निकटतम् प्रतिद्वन्द्वी एमालेका डा. राजन भट्टराईले १८ हजार १४० मत पाएका थिए। तेस्रो भएको विवेकशील साझाकी सुबुना बस्नेतले ३ हजार ४० मत ल्याएकी थिइन्।
कांग्रेस महामन्त्री थापा यस पटक पनि यही निर्वाचन क्षेत्रबाट संघीय संसदका लागि चुनावी प्रतिस्पर्धामा उत्रिन लागेका छन्। एमालेले पनि थापाविरुद्ध डा. राजन भट्टराईलाई नै उठाउने तयारी गरेको छ।
क्षेत्र नम्बर ४ बाट एमालेले भट्टराई र निर्मल कुइँकेलको नाम सिफारिस गरेको छ। यद्यपि यो क्षेत्रका लागि भट्टराईले केही समय अघिदेखि नै तयारी गरिरहेका छन्।
काठमाडौं क्षेत्र नम्बर ५
काठमाडौं क्षेत्र नम्बर ५ यसअघि एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले जितेको निर्वाचन क्षेत्र हो। यो क्षेत्रमा महानगरपालिकाका २, ३, ४ र ५ नम्बर वडाहरु समेटिएका छन्।
त्यसैगरी बुढानीलकण्ठ नगरपालिकाका वडा नम्बर ३, ४, ५, ६ र ७ पनि यही क्षेत्रमा पर्छन्। टोखा नगरपालिकाका २, ३, ४, ५, ६ र ७ नम्बर वडाहरुसमेत समेटेर निर्वाचन क्षेत्र नम्बर ५ निर्धारण गरिएको छ।
स्थानीय चुनावको परिणाम हेर्दा यो क्षेत्रमा पनि एमाले नै पहिलो देखिएको छ। यहाँ पनि एमालेले कांग्रेसभन्दा २ हजार २७९ मत बढी ल्याएको स्थानीय तह निर्वाचनको परिणामले देखाएको छ।
निर्वाचन आयोगका अनुसार यो क्षेत्रमा एमालेका पक्षमा १४ हजार ७१५, कांग्रेसको पक्षमा १२ हजार ४३६ र महानगर प्रमुख शाहको पक्षमा ९ हजार ८ मत खसेको देखिन्छ।
यहाँबाट २०७४ को प्रतिनिधिसभा निर्वाचनमा एमालेका वरिष्ठ उपाध्यक्ष पोखरेल विजयी भएका थिए।
२३ हजार २९ मतका साथ पोखरेल विजयी हुँदा कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले १३ हजार १६९ मत प्राप्त गरेका थिए। तेस्रो भएको विवेकशील साझाका उम्मेदवार स्व. उज्वलबहादुर थापाले ६ हजार ८५३ मत ल्याएका थिए।
कांग्रेसले काठमाडौँ–५ मा प्रवक्ता महतलाई नै उम्मेदवारका रुपमा दोहोर्याउने सम्भावना अत्यधिक छ। उनी प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिबाट बिहीबार मात्रै सर्वसम्मत संघीय संसदको उम्मेदवारका रुपमा सिफारिस भइसकेका छन्।
यो क्षेत्रबाट रञ्जु दर्शनाले पनि स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरिसकेकी छिन्। नेपाल प्रहरीका पूर्वडीआइजी रमेश खरेलले पनि यही क्षेत्र रोजे पनि पछि काठमाडौं–१ मा उठ्ने घोषणा गरेका छन्।
यस क्षेत्रका लागि एमालेबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल मात्रै सिफारिस भएका छन् । २०७४ मा विजयी उनी फेरि यहीँबाट उठ्ने निश्चित छ। उता २०७४ मा पराजित डा. महत पनि यहीँबाट सिफारिस भएकाले चुनावी भिडन्त रोचक हुन सक्छ।
अर्कातिर स्वतन्त्र, सामाजिक अभियन्ता र हाँस्यव्यंग्य कलाकारहरुसमेत यहीँबाट लड्ने तयारीमा लागेपछि यो क्षेत्रको चुनावी रमाइलो रोचक हुने अवस्था छ।
निर्वाचन क्षेत्र नम्बर ६
काठमाडौं निर्वाचन क्षेत्र नम्बर ६ मा भने स्थानीय तह निर्वाचन परिणामले कांग्रेसलाई पहिलो देखाएको छ। यहाँ कांग्रेसको पक्षमा १४ हजार ४०३ र एमालेको पक्षमा १२ हजार ६६५ मत खसेको छ। काठमाडौं–६ अन्तर्गत पर्ने ३ वटा वडाबाट महानगर प्रमुख शाहको पक्षमा ३ हजार ७२५ मत खसेको छ।
यो निर्वाचन क्षेत्रमा काठमाडौं महानगरपालिकाका २६, २७ र २८ नम्बर वडाहरु समेटिएका छन्। साथै, तारकेश्वर नगरपालिकाका १, २, ६, ७, ८, ९, १० र ११ नम्बर वडा यो निर्वाचन क्षेत्रमा पर्छन्। टोखाका १, ८, ९, १० र ११ नम्बर वडाहरु पनि यही निर्वाचन क्षेत्रमा पर्छन्।
गत प्रतनिधिसभा निर्वाचनमा यहाँ कांग्रेस नेता भीमसेनदास प्रधान विजयी भएका थिए। प्रधान १६ हजार ७८५ मत पाएर विजयी हुँदा माओवादी केन्द्रका झक्कुप्रसाद सुवेदीले १५ हजार ४८५ मत पाएका थिए। तेस्रो भएका विवेकशील साझाका उम्मेवार रमेश चिलुवालले ४ हजार २२५ मत ल्याएका थिए।
यसपटक पनि यो क्षेत्रमा कांग्रेसका तर्फबाट नेता प्रधान नै प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बन्ने अनुमान गरिएको छ।
एमालेबाट यो क्षेत्रका लागि योगेन्द्र सङ्ग्रौला, लेखनाथ फुयाँल, कल्पना रिजाल, प्रेमराज सिलवाल, माता प्रताप थापा, मीना थापा र हरिशरण तिमल्सिनाको नाम सिफारिस भएको छ।
मूलधारको राजनीतिमा यी सबै पात्र कमै नाम सुनिएकामा पर्छन्। यस्तोमा कांग्रेसबाट उठ्ने तर्खरमा रहेका भीमसेनदास प्रधानलाई गठबन्धनको बलले केही सजिलो हुन सक्छ।
निर्वाचन क्षेत्र नम्बर ७
काठमाडौं महानगरपालिकाका १६, १७, १८ र २५ नम्बर वडाहरु निर्वाचन क्षेत्र नम्बर ७ मा समेटिएका छन्। साथै, नागार्जुन नगरपालिकाका १, २ र ३ वडा तथा तारकेश्वर नगरपालिकाका ३, ४ र ५ नम्बर पनि निर्वाचन क्षेत्र नम्बर ७ मा पर्छन्।
गत स्थानीय तह निर्वाचन मतपरिणामले यो क्षेत्रमा एमाले १६८ मतले कांग्रेसभन्दा बलियो देखाएको छ। वडागत मत विश्लेषणका आधारमा हेर्दा काठमाडौं–७ मा एमालेको पक्षमा १० हजार ६९० र कांग्रेसको पक्षमा १० हजार ५२२ मत खसेको देखिन्छ।
यो निर्वाचन क्षेत्रअन्तर्गत पर्ने वडाहरुबाट महानगर प्रमुख शाहले ७ हजार १९ मत ल्याएका छन्। यो मत कांग्रेस र एमालेको हाराहारी हो।
गत प्रतिनिधि सभा निर्वाचनमा काठमाडौं–७ बाट एमाले नेता रामवीर मानन्धर १८ हजार १०२ मतसहित विजयी भएका थिए।
उनका निकटतम् प्रतिद्वन्द्वी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का विक्रमबहादुर थापाले कांग्रेसको साथ लिएर १० हजार ७९ मत पाएका थिए। तेस्रो भएकी विवेकशील साझाकी अनुपा श्रेष्ठले ५ हजार ३७६ मत ल्याएकी थिइन्।
सत्ता गठबन्धनका तर्फबाट काठमाडौं–७ मा जनता समाजवादी पार्टी (जसपा) नेपालले दाबी गरेको छ। यो क्षेत्रबाट चुनाव लड्न संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठले प्रचारप्रसार सुरु गरिसकेका छन्।
उनले बिहीबार मात्रै फेसबुक पेजबाट उम्मेदवारी घोषणा गर्दै प्रचारप्रसार थालेका हुन्। मन्त्री श्रेष्ठले काठमाडौं– ७ बाट यसअघि एमालेमा हुँदा एकपटक जितेका थिए भने दुईपटक पराजित भएका थिए।
एमालेले भने यही स्थानीय निर्वाचनमा खुलेर अन्तर्घातमा उत्रिएका रामवीर मानन्धरको नाम नै क्षेत्रीय कमिटीमै काटेको छ।
क्षेत्रीय कमिटीले उनको नाम काटेर अन्यको नाम सिफारिस गरेको छ। क्षेत्र नम्बर ७ मा एमालेबाट इन्दिरा पन्त, रघुजी पन्त, बिपी ढकाल, श्याम घिमिरे र विद्यासुन्दर शाक्यको नाम सिफारिस भएको छ।
निर्वाचन क्षेत्र नम्बर ८
स्थानीय तह निर्वाचनको मत परिणामअनुसार काठमाडौं–८ मा कांग्रेस र एमालेबीच मात्र २२ मतको फरक देखिएको छ। यो क्षेत्रमा कांग्रेसको पक्षमा ७ हजार ४६७ र एमालेको पक्षमा ७ हजार ४४५ मत खसेको छ। यो क्षेत्रमा स्वतन्त्रको पनि बलियो उपस्थिति देखिएको छ।
काठमाडौं–८ मा पहिलो देखिएको कांग्रेस र तेस्रो देखिएका महानगर प्रमुख शाहबीच १३ सय २२ मतको फरक छ। यो क्षेत्रमा पर्ने काठमाडौंका विभिन्न ६ वटा वडाबाट शाहले ६ हजार १४५ मत प्राप्त गरेका छन्।
२०७४ को प्रतिनिधिसभा निर्वाचनमा काठमाडौं–८ बाट एमालेका जीवनराम श्रेष्ठ १३ हजार ३९७ मतले निर्वाचित भएका थिए। श्रेष्ठ अहिले एकीकृत समाजवादीमा छन्।
जीवनरामका निकटतम् प्रतिद्वन्द्वी स्व. नवीन्द्रराज जोशीले १२ हजार ९५२ मत पाएका थिए। तेस्रो भएका विवेकशील साझाका पुकार बमले ४ हजार ४१४ मत प्राप्त गरेका थिए। पुकार बमले अहिले काठमाडौं १ बाट चुनाव लड्ने घोषणा गरिसकेका छन्।
यस निर्वाचन क्षेत्रमा काठमाडौं महानगरपालिकाका १३, १५, १९, २०, २३ र २४ नम्बर वडाहरु समेटिएका छन्। साथै, नागार्जुन नगरपालिकाका ४ र ५ नम्बर वडालाई पनि समेटेर यो निर्वाचन क्षेत्र निर्धारण गरिएको छ।
यो क्षेत्रबाट सत्ता साझेदारका तर्फबाट एकीकृत समाजवादीका नेता जीवनराम श्रेष्ठले प्रतिनिधि सभा सदस्यका लागि निर्वाचन लड्ने आकांक्षा राखेका छन्। सिट बाँडफाँटका लागि सत्ता गठबन्धनबीच भएको सहमतिअनुसार यो क्षेत्र एकीकृत समाजवादीको भागमा पर्न सक्छ।
एमालेले क्षेत्र नम्बर ८ का लागि राजेश शाक्यको नाम सिफारिस गरिसकेको छ। तर यसअघि एमालेबाट जितेका जीवनराम श्रेष्ठ नयाँ पार्टीबाट प्रतिस्पर्धामा उत्रिने भएकाले भिडन्त रोचक हुने अनुमान छ।
काठमाडौं निर्वाचन क्षेत्र नम्बर ९
काठमाडौं महानगरपालिकाका वडा नम्बर १२, १४, २१ र २२ लाई समेटेर निर्वाचन क्षेत्र नं. ९ बनाइएको छ। साथमा चन्द्रगिरि नगरपालिकाका वडा नं. १, १२, १३, १४ र १५ लाई पनि यस क्षेत्रमा समेटिएको छ। त्यसैगरी नागार्जुन नगरपालिकाका ६, ७, ८, ९ र १० नम्बर वडाहरु पनि यो निर्वाचन क्षेत्रमा समेटिएका छन्।
स्थानीय तह निर्वाचनमा महानगरका प्रमुख र नगरपालिकाका वडाध्यक्षहरुले प्राप्त गरेको मतलाई आधार मान्दा यो क्षेत्रमा कांग्रेस र एमालेबीच मात्र ७० मतको फरक छ।
१६ हजार १८८ मतसहित एमाले पहिलो हुँदा कांग्रेसको पक्षमा १६ हजार ११८ मत खसेको छ। यस निर्वाचन क्षेत्रमा महानगर प्रमुख शाहको मत ५ हजार ९४८ देखिन्छ।
२०७४ को प्रतिनिधिसभा निर्वाचनमा यो क्षेत्रबाट एमाले नेता कृष्णगोपाल श्रेष्ठ विजयी भएका थिए। २२ हजार ८५२ मतले श्रेष्ठ प्रतिनिधिसभा सदस्यमा विजयी भएका थिए।
उनका निकटतम् प्रतिद्वन्द्वी कांग्रेस नेता ध्यानगोविन्द रञ्जितले १४ हजार ८०२ मत पाएका थिए। विवेकशील साझा पार्टीका नेता मिलन पाण्डे ४ हजार ९४६ मतले तेस्रो भएका थिए।
आसन्न निर्वाचनमा कांग्रेसका तर्फबाट यो क्षेत्रमा रञ्जित फेरि उम्मेदवार बन्ने सम्भावना देखिएको छ। बिहीबार बसेको प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिको बैठकले उनको नाम प्रत्यक्षतर्फको उम्मेदवारका रुपमा सिफारिस गरेको छ।
काठमाडौं क्षेत्र नम्बर ९ मा पनि एमालेले सम्भावित उम्मेदवारको नाम सिफारिस गरेको छ।
जसअनुसार पूर्व शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ पनि सूचीमा छन्। त्यस्तै २०७४ मा विजयी उनीसहित अजयक्रान्ति शाक्य र विद्यासुन्दर शाक्यको नाम पनि यहाँबाट सिफारिस भएको छ। विद्यासुन्दर काठमाडौं महानगरपालिकाका पूर्वप्रमुख हुन्।
काठमाडौं निर्वाचन क्षेत्र नम्बर १०
काठमाडौं–१० मा कीर्तिपुर नगरपालिका, दक्षिणकाली नगरपालिका र चन्द्रागिरि नगरपालिका १० वडा (१, १२, १३, १४ र १५ बाहेक) को भूगोल पर्दछ।
वैशाख १० मा सन्पन्न स्थानीय तह निर्वाचनमा वडाध्यक्षका उम्मेदवारले पाएको मतका आधारमा यहाँ कांग्रेसको पकड बलियो देखिएको छ। निर्वाचन आयोगका अनुसार कांग्रेस २४ हजार ६७५ मतले पहिलो र एमाले १८ हजार ८३८ मतले दोस्रो छ।
स्थानीय तह निर्वाचनमा माओवादीको पक्षमा ४ हजार ९४२, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को पक्षमा २ हजार ४९६ र नेकपा एकीकृत समाजवादीको पक्षमा १ हजार ३४२ मत खसेको छ।
२०७४ को प्रतिनिधिसभा निर्वाचनमा पनि कांग्रेस नेता राजेन्द्रकुमार केसी संघीय संसदमा विजयी भएका थिए। उनी एमालेसँगको चुनावी तालमेलमा लडेका माओवादी नेता हितमान शाक्यलाई झण्डै तीन हजार मतले पराजित गर्दै संघीय संसदमा निर्वाचित भएका थिए।
केसी २४ हजार १९० मतका साथ विजयी हुँदा शाक्यले २१ हजार ९०७ मत ल्याएका थिए। काठमाडौं–१० मा तेस्रो भएका विवेकशील साझा पार्टीका नेता प्रदीप ढकालले २ हजार ३ मत प्राप्त गरेका थिए।
आउँदो निर्वाचनमा कांग्रेसका तर्फबाट नेता केसी नै फेरि प्रतिनिधिसभा सदस्यको उम्मेदवार बन्ने पक्कापक्की छ।
उम्मेदवारको नाम सिफारिस गर्ने प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिका एक पदाधिकारीले काठमाडौं–१० मा उनी निर्विकल्प उम्मेदवार भएको प्रतिक्रिया दिएका छन्।
यद्यपि, क्षेत्रीय कार्यसमितिले जिल्ला कार्य समिति समक्ष भने आकांक्षीको नाम सिफारिस गरिसकेको छैन। ‘नाम सिफारिस गरिसकेको अवस्था होइन,’ ती पदाधिकारीले नेपालखबरसँग भने, ‘तर, राजन (राजेन्द्र) दाइ नै हाम्रो उम्मेदवार हो। उहाँको विकल्पै छैन।’
एमालेले कीर्तिपुर, दक्षिणकाली र चन्द्रागिरि नगरपालिका समेटिने क्षेत्र नम्बर १० का लागि शम्भुराम महर्जन, हिमेष केसी, विनोद श्रेष्ठ, शरब महर्जन, रमेश महर्जन र सुरेन्द्र मानन्धरको नाम सिफारिस गरेको छ।
यहाँ २०७४ मा एक्लै लडेका राजेन्द्र केसीलाई यो पटक माओवादीको साथ छ भने एमाले उम्मदेवारका लागि एक्लै नतिजा आफ्नो पक्षमा पार्नु चुनौतीको पहाड बराबर हुनेछ।
Shares
प्रतिक्रिया