सत्ता गठबन्धन दल नेकपा माओवादी केन्द्रका एकजना नेताले श्रीमतीलाई समानुपातिक सूचीमा राखेर छोरीलाई प्रत्यक्षतर्फ प्रतिनिधिसभा सदस्यमा उठाएका छन्।
माओवादीबाट श्रीमतीलाई मधेसी महिला क्लस्टरबाट समानुपातिक उम्मेदवार बनाएका नेता शिवपुजन राय यादवले सर्लाही-४ मा सत्ता गठबन्धनको सहमतिविपरित छोरी मधुमालालाई स्वतन्त्र उम्मेदवार बनाएका हुन्।
माओवादीले नेता यादवकी श्रीमती मीनालाई मधेसी महिला क्लस्टरको पहिलो नम्बरमा समानुपातिकतर्फ प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाएको छ।
तर, नेता यादवले अध्यक्ष पुष्कपमल दाहाल ‘प्रचण्ड’ ले दिएको आश्वासनअनुसार सर्लाही–४ मा बाँडफाँट नभएपछि छोरीलाई स्वतन्त्र उम्मेदवार बनाएको प्रतिक्रिया दिएका छन्।
‘अध्यक्ष कमरेडले सर्लाही–४ प्रतिनिधिसभा कांग्रेसले पाए दुवै प्रदेशसभा माओवादीले पाउँछ, प्रतिनिधिसभा हामीले पाए दुवै प्रदेश कांग्रेसले पाउँछ भन्नुभएको थियो,’ श्रीमतीलाई पार्टीले प्राथमिकतामा राखेर उम्मेदवार बनाउँदा बनाउँदै छोरीलाई किन स्वतन्त्र उम्मेदवार उठाउनुभयो भन्ने नेपालखबरको प्रश्नमा उनले भने, ‘त्यो पूरा भएन। हामीले पाएनौँ। त्यसलै छोरीलाई स्वतन्त्र उम्मेदवार बनाएँ।’
सत्ता गठबन्धनका तर्फबाट सर्लाही–४ मा नेपाली कांग्रेसका नेता नागेन्द्रकुमार राय प्रतिनिधिसभातर्फ तथा ४ ‘क’ मा कांग्रेसकै वीरेन्द्र सिंह र ४ ‘ख’ मा माओवादीका फकिरा महतोलाई प्रदेशसभा सदस्य उम्मेदवार बनाएको छ।
प्रतिनिधिसभा कांग्रेसको भागमा परेपछि दुवै प्रदेशसभा माओवादीले पाउनु पर्नेमा एकमात्र प्रदेश दिएका कारण आफूले छोरीलाई स्वतन्त्र उम्मेदवार बनाएको यादवको जिकिर छ।
‘एकमात्र प्रदेश हामीले पाएपछि जनतामा आक्रोश छ। हामी कांग्रेसलाई भोट हाल्दैनौँ भने,’ उनले नेपालखबरसँग भने, ‘उनीहरुले मलाई तनाव दिए। फेरि यहाँ गगन थापा आउने पनि कुरा थियो। त्यसैले मैले छोरीलाई स्वतन्त्र उम्मेदवारी दिन लगाएँ।’
नेता यादवले माओवादी पार्टीको झण्डा र छोरीले पाउने चुनाव चिन्ह बोकेर चुनावको प्रचारप्रसार गर्ने योजनासमेत बनाएका छन्।
‘अब गाडीका एकातिर पार्टीको झण्डा, अर्कोतिर चुनाव चिन्ह राखेर प्रचारप्रसार गर्छौं,’ उनले छोरीको चुनावी प्रचारप्रसारका लागि बनाएको योजना सुनाउँदै भने।
यादवले मंसिर ४ मा हुन गइरहेको निर्वाचनमा स्वतन्त्र उम्मेदवार मधुमालाले जित्नेसमेत ठोकुवा गरे।
‘कांग्रेसले जिते पनि गठबन्धनकै जीत हुन्छ। मेरो छोरीले जिते पनि गठबन्धनकै जीत हुन्छ,’ उनले भने, ‘स्वतन्त्र उम्मेदवार जित्छ। हामी ढुक्क छौँ।’
यादवले गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा छोरा राजाबाबु यादवलाई माओवादीबाट रामनगर गाउँपालिका अध्यक्षको उम्मेदवार बनाएका थिए।
उनी कांग्रेसका हरिनन्दन प्रसाद यादवलाई पराजित गर्दै गाउँपालिका अध्यक्षमा विजयी भएका थिए। यादवका भाइ श्रीनन्दन प्रसाद यादव रामनगर गाउँपालिका–५ का वडाध्यक्ष छन्।
२०७४ को निर्वाचनमा सार्लाही–४ बाटै उम्मेदावरी दिएका नेता यादवको उम्मेदवारी निर्वाचन आयोगले खारेज गरेको थियो।
आयोगले राहदानी दुरुपयोगमा यादवलाई विषेश अदालतले दोषी ठहर गरेको भन्दै उम्मेदवारी खारेज गरेको हो। आयोगको निर्णयलाई सर्वोच्च अदालतले पनि सदर गरेको थियो।
पहिलो संविधानसभामा तत्कालीन मधेशी जनअधिकार फोरमका तर्फबाट संविधानसभा सदस्य थिए। त्यही बेला उनलाई राहदानी दुरूपयोग गरेको आरोप लागेको थियो।
Shares
प्रतिक्रिया