सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आशन्न निर्वाचनका लागि सुरक्षित स्थानको खोजीमा चितवन छाडेर गोरखा पुग्दा पनि ‘बागी’ को सामना गर्नुपरेको छ।
गोरखा निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यका लागि मनोनयन पत्र दर्ता गरेका अध्यक्ष प्रचण्डविरुद्ध सत्ताको नेतृत्व गरिरहेको दल नेपाली कांग्रेसबाटै बागी परेको हो।
प्रचण्डविरुद्ध कांग्रेस नेतृ डा. माधवी भट्टले ‘बागी’ उम्मेदवारी दिएकी छन्।
डा. भट्टले काठमाडौं-२ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बन्ने आकांक्षा राखेकी थिइन्। सत्ता गठबन्धनबीच सिट बाँडफाँटका क्रममा काठमाडौं-२ माओवादी नेतृ ओनसरी घर्तीको भागमा परेपछि भट्ट प्रचण्डविरुद्ध बागी उठ्न गोरखा-२ पुगेकी हुन्।
प्रचण्डविरुद्ध उम्मेदवारी दिनुअघि भट्टले सामाजिक सञ्जाल फेसबुकमा लेखेकी थिइन्, ‘प्रचण्डविरुद्ध मेरो उम्मेदवारी। गोर्खाले मलाई न्याय गर्नेछ।’
भट्टले जिल्लाको विकास निर्माण र द्वन्द्वकालीन अपराधका विषय मुख्य मुद्दा बनाउने पनि उल्लेख गरेकी थिइन्।
‘गोर्खा क्षेत्र नं. २ मेरो जन्मस्थान मात्र होइन। त्यहाँको नेपाली कांग्रेस पार्टी निर्माण गर्न मेरो स्वर्गीय पिताजी रोहिणी भट्टको २००४ सालदेखिको त्याग, तपस्या र बलिदानी छ,’ भट्टले लेखेकी छिन्।
माओवादी अध्यक्ष प्रचण्डले निर्वाचन लड्ने भनिएको चितवन-३ मा पनि कांग्रेसका ‘बागी’ उम्मेदवार देखिएका छन्।
माओवादीले आफ्नो भागमा परेको यस क्षेत्रमा डा. भोजराज अधिकारीलाई अघि सारेपछि कांग्रेस केन्द्रीय सदस्य दिनेश कोइरालाले ‘बागी’ उम्मेदवारी दिएका हुन्। चितवन-३ मा एमालेबाट रामप्रसाद न्यौपाने र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट विक्रम पाण्डे उम्मेदवार छन्।
माओवादीका महासचिव देव गुरुङविरुद्ध पनि ‘बागी’ परेको छ।
लमजुङबाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएका गुरुङविरुद्ध सत्ता गठबन्धनमा रहेको दल कांग्रेसबाटै ‘बागी’ उम्मेदवारी परेको हो।
उनीविरुद्ध कांग्रेसका प्रकाश जोशीले ‘बागी’ उम्मेदवारी दिएका छन्। लमजुङमा प्रमुख प्रतिपक्षी नेकपा एमालेले उपमहासचिव पृथ्वी सुब्बा गुरुङलाई प्रतिनिधिसभा सदस्य उम्मेदवार बनाएको छ।
सहरी विकासमन्त्रीसमेत रहेका नेकपा एकीकृत समाजवादीका नेता मेटमणि चौधरी सत्ता गठबन्धनका तर्फबाट दाङ-१ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार छन्। उनीविरुद्ध एमालेले नेतृ शान्ता चौधरीलाई खडा गरेको छ। तर, शान्ताविरुद्ध एमालेकै नेतृ गंगा चौधरी सत्गौंवाले ‘बागी’ दिएकी छन्।
श्रममन्त्रीसमेत रहेका एकीकृत समाजवादीका नेता शेरबहादुर कुँवरविरुद्ध पनि अछाम-१ मा ‘बागी’ परेको छ।
सत्ता गठबन्धनले उनलाई प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाएपछि असन्तुष्ट कांग्रेसका युवा नेता राजन कुँवरले ‘बागी’ उम्मेदवारी दिएका छन्। एमालेले उक्त क्षेत्रबाट झपटबहादुर बोहरालाई प्रतिनिधिसभा सदस्य उम्मेदवार बनाएको छ।
कांग्रेस केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतविरुद्ध कांग्रेसकै बद्रीप्रसाद चौलागाईले ‘बागी’ उम्मेदवारी दिएका छन्। सत्ता गठबन्धनका तर्फबाट नेता बस्नेतले सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएपछि कांग्रेस नेता चौलागाईं ‘बागी’ बनेका हुन्। यो क्षेत्रमा प्रतिनिधिसभा सदस्यका लागि एमालेका तर्फबाट शेरबहादुर तामाङले मनोनयन दर्ता गरेका छन्।
सर्लाही-४ मा कांग्रेसका प्रभावशाली नेता अमरेशकुमार सिंह ‘बागी’ बनेका छन्। उनी आफ्नै दलले अघि सारेका उम्मेदवार नागेन्द्र कुमार रायविरुद्ध ‘बागी’ बनेका हुन्।
कांग्रेसबाट टिकट नपाएपछि उनी बागी उठेका हुन् । उक्त क्षेत्रमा जनता समाजवादी पार्टी (जसपा) नेपालले राकेश मिश्रालाई उम्मेदवार बनाएको छ।
धनुषा-२ मा कांग्रेस उम्मेदवार रामकृष्ण यादवविरुद्ध सत्ता साझेदार दल एकीकृत समाजवादीका रामचन्द्र झा ‘बागी’ बनेका छन्। धनुषा-२ मा एमालेका तर्फबाट उमाशंकर अरगरिया प्रतिनिधिसभा सदस्य उम्मेदवार छन्।
सर्लाही-१ मा जसपा उम्मेदवार प्रमोद साहविरुद्ध एमालेका मानबहादुर खड्काको ‘बागी’ परेको छ। मंसिर ४ मा हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि एमाले र जसपाबीच चुनावी गठबन्धन बनेको भए पनि एमालेले बागी उठाएको हो।
यो क्षेत्रमा सत्ता गठबन्धनले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका रामप्रकाश चौधरीलाई प्रतिनिधिसभातर्फ उम्मेदवार उठाएको छ।
सर्लाही-३ मा सत्ता गठबन्धन दल माओवादीविरुद्ध सत्ता गठबन्धनकै अर्को दल एकीकृत समाजवादीले विद्रोह गरेको छ। उक्त क्षेत्रमा माओवादी उम्मेदवार नरेश साह कलवारविरुद्ध एकीकृत समाजवादीका उत्तमकुमार मैनालीले ‘बागी’ दिएका हुन्। सर्लाही-३ मा एमालेका तर्फबाट हरि उप्रेती उम्मेदवार छन्।
धादिङ-२ मा भने कांग्रेस नेता रामनाथ अधिकारीविरुद्ध कांग्रेसकै रमेश धमला ‘बागी’ बनेका छन्। अधिकारी कांग्रेस धादिङका सभापति हुन् भने धमला पूर्वसभापति। धादिङ-२ मा एमालेका तर्फबाट खेम लोहनीले प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका छन्।
काठमाडौं-१० मा कांग्रेस नेता राजेन्द्र केसीविरुद्ध सत्ता गठबन्धन दल माओवादी केन्द्रकी अञ्जना विशंखे ‘बागी’ बनेकी छन्। यहाँ एमालेका तर्फबाट हिमेश केसी उम्मेदवार छन्।
रौतहट-३ मा माओवादी उम्मेदवार रवीन्द्र पटेलविरुद्ध कांग्रेसका ओमप्रकाश जयसवाल ‘बागी’ का रुपमा देखिएका छन्।
सत्ता गठबन्धनबीच भएको सिट बाँडफाँटका क्रममा क्षेत्र माओवादीको भागमा परेपछि कांग्रेस नेता जयसवालले ‘बागी’ उम्मेदवारी दिएका हुन्। रौतहट-३ मा भरर्खरै एमाले परित्याग गरेका प्रभु साह स्वतन्त्र उम्मेदवार छन्। यहाँ एमालेका उम्मेदवार छैनन्।
पर्सा-१ मा सत्ता गठबन्धनमा रहेको लोसपा नेता लक्ष्मणलाल कर्णविरुद्ध सत्ता गठबन्धन दल कांग्रेस नेता अजय द्विवेदीले ‘बागी’ उम्मेदवारी दिएका छन्। यो क्षेत्रमा एमालेसँगको चुनावी तालमेलमा रहेको जसपाले प्रदीप यादवलाई प्रतिनिधिसभा सदस्यका लागि अघि सारेको छ।
चितवन-१ मा कांग्रेसले सत्ता गठबन्धनका तर्फबाट अघि सारेका अर्थविद् विश्व पौडेलविरुद्ध कांग्रेसकै राजेन्द्र बुर्लाकोटीले ‘बागी’ उम्मेदवारी दिएका छन्। यो क्षेत्रमा एमालेका तर्फबाट उपाध्यक्ष सुरेन्द्र पाण्डे चुनावी प्रतिष्पर्धामा छन्।
प्रचण्डकै सल्लाहमा बागी?
यसैवीच, काठमाडौं क्षेत्र नम्बर १० मा माओवादीको तर्फबाट उम्मेदवारी लिएकी अञ्जना बिसंखेले आफू प्रचण्डसँग सल्लाह गरेरै उठेको बताएकी छिन्।
उपत्यकामा काठमाडौं क्षेत्र नम्बर २, ७ र ९ पाएको माओवादीले क्षेत्र नम्बर १० मा पनि प्रतिनिधिसभा र प्रदेशसभामा तीनैजना ‘बागी’ उठाएको छ।
नेपालखबरसँग कुरा गर्दै माओवादी नेतृ अञ्जना बिसंखेले भनिन्, ‘हामीले विद्रोह गरेको नभई पूरा पूरा हेर्डक्वार्टरको सहमतिमा उम्मेदवारी दर्ता गराएका हौँ। त्यसैले तपाईंले निर्वाचन आयोगले दिएको मनोनयन पत्र हेर्नु भयो भने हामीलाई स्वतन्त्र या अन्य नभनी नेकपा माओवादीकै उम्मेदवार भनिएको छ। हँसिया हथौडा चिह्न दिइएको छ।’
नाम फिर्ता होला कि कारवाही?
प्रत्यक्षतर्फको निर्वाचन कार्यक्रम अनुसार उम्मेदवारहरुले बुधबार बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म आ-आफ्नो नाम फिर्ता लिइसक्नुपर्ने हुन्छ। पार्टी निर्णयविपरीत बागी उम्मेदवारी दिएका व्यक्तिहरुलाई बुधबार दिउँसो १ बजेभित्र फकाएर उम्मेदवारी फिर्ता गराउन सक्ने अवसर दलहरुलाई छ।
यही बागीहरुको समस्या समाधान गर्न गठबन्धनका नेताहरु मंगरबार दिउँसो बालुवाटारमा बैठकका लागि भेला भएका हुन्।
बुधबार दिउँसो १ बजेसम्म पनि बागीले उम्मेदवारी फिर्ता नलिए उनीहरुमाथि अनुशासनको कारवाही गर्ने ढोका सम्बन्धित दलहरुलाई खुल्नेछ।
Shares
प्रतिक्रिया