अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीनकुमार घिमिरेले लेखा परीक्षकहरुका कारण भ्रष्टाचार बढ्दै गएको बताएका छन्।
नेपाल चार्टड एकाउन्टेन्ट्स संस्थाले आयोजना गरेको ‘प्रोफेसनल इन्टिग्रिटी फर कम्ब्याटिङ करप्सन एन्ड फ्रड’ को राष्ट्रिय सम्मेलनलाई आइतबार काठमाडौंमा सम्बोधन गर्दै प्रमुख आयुक्त घिमिरेले लेखापरीक्षकहरुले आर्थिक अनियमिततालाई मिलाउने काम गर्दा भ्रष्टाचार र ठगी बढ्दै गएको बताए।
प्रमुख आयुक्त घिमिरेले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेको कतिपय अनुसन्धानमा सुरुदेखि नै लेखा परीक्षकका लागि भाग छुट्याउने गरेको पाइएको बताए।
कार्यक्रममा महालेखा परीक्षक टंकमणि शर्मा दंगालले निजी र सरकारी सबै क्षेत्रमा भ्रष्टाचार र ठगी बढ्दै गएको बताए। उनले निजी क्षेत्रबाट ठगी हुने र सरकारी निकायहरुबाट भ्रष्टाचार हुने गरेको बताए। उनले लेखा परीक्षकहरुले लेखापरीक्षण गरी प्रमाणित गरेका कतिपय विषयहरुमा भ्रष्टाचार र ठगी भेटिने गरेको बताए। यसबाट लेखा परीक्षकहरु व्यवसायीक धर्मबाट विचलन भएको पाइएको बताउँदै त्यस्तो अवस्था आउन दिन नहुने उनको भनाइ थियो।
महालेखा परीक्षक शर्माले पवित्र उद्देश्यले खोलिएको धार्मिक संस्था तथा कृषि उत्पादनमा समेत भ्रष्टाचार हुने बताउँदै हिसाब मिलाएर गरिने भ्रष्टाचार केलाउन चुनौति रहेको बताए। त्यस्तै भ्रष्टाचारलाई कम गर्न लेखापरीक्षणका मापदण्डहरुले वित्तीय ठगिको परिभाषाहरुलाई समेत समावेस गर्नुपर्ने उनले बताए।
प्रतिक्रिया