नेकपा माओवादी केन्द्रका एकजना केन्द्रीय सदस्य रामप्रसाद सापकोटा 'दीपशिखा'ले पहिलो पार्टीको हैसियतले अब नेपाली कांग्रेस सरकार बनाउनुपर्ने बताएका छन्।
त्यसपछि दोस्रो पार्टीको हैसियतामा नेकपा एमालेले सरकारका लागि विशव्वासको मत लिएर सरकार बनाउँदा उचित हुने सापकोटाले बताएका छन्। सापकोटा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका निकटमध्ये एक नेताका रुपमा चिनिन्छन्।
'पहिलो पार्टीको हैसियतमा नेपाली कांग्रेस, दोस्रोको हैसियतमा एमालेले सरकारका लागि विश्वासको मत लियोस् र सरकार बनाओस्', उनले भनेका छन्, 'यो उनीहरुको अधिकार पनि हो। उनीहरु नबनाए हाम्रो नेतृत्वमा सरकार बनाऔँ।'
उनले यसरी सरकार बनाएपछि इच्छाशक्तिसहित दुई वर्षमा देखिने गरी काम गर्नुपर्ने बताएका छन्। 'इच्छाशक्ति हुँदा दुई वर्षभित्र प्रत्याभुति हुने गरी काम गरौँ', उनले भनेका छन्, 'नत्र कसैलाई काँधमा बोकेर प्रधानमन्त्री नबनाऔँ।'
उनले कसैका लागि काँध हुनुभन्दा बरु प्रतिपक्षमा बस्दा उचित हुने पनि सुझाएका छन्। 'बरु प्रमुख प्रतिपक्षी भएर बसौँ', उनले भनेका छन्, 'अरुलाई बोकेर पार्टी सुकेनाश नलगाऔँ।'
मंसिर ४ को निर्वाचनबाट पाँच दलीय गठबन्धनले पनि बहुमत ल्याउन नसक्दा तनावमा छ। गठबन्धनका नेताहरु अहिले जनमत पार्टीका अध्यक्ष सीके राउत र नागरिक उन्मुक्ति पार्टीका जेलमा रहेक नेता रेशम चौधरीलाई फकाउन लागिरहेका छन्।
अर्कातिर सत्ता गठबन्धनमै पनि को पहिले प्रधानमन्त्री हुने विवाद छ। कांग्रेस सभापति शेरबहादुर देउवा आफूलाई निरन्तरता दिने पक्षमा छन् भने पहिलो अढाई वर्ष आफूले हाँक्नुपर्ने पक्षमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड देखिएका छन्।
अर्कातिर राष्ट्रिय पार्टी हुन नसकेको गठबन्धन दल एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पनि ५ वर्षको केही समय आफूले सरकार हाँक्न पाउनुपर्ने पक्षमा देखिएका छन्।
कांग्रेसभित्रै पनि आधा दर्जन बढी नेताहरु प्रधानमन्त्रीका दाबेदारका रुपमा देखिएका छन्। मंसिर ४ को निर्वाचनले जनमत खस्किएपछि नेकपा एमाले र माओवादीलाई पनि मिलेर सरकारमा जान दबाब बढेको छ।
Shares
प्रतिक्रिया